२३ अर्ब चुक्ता पुँजीसहित नेपालकै अग्रणी बैंक बन्दै नबिल
नबिलमा नेपाल बंगलदेश बैंक गाब्न सैद्धान्तिक सहमति प्राप्त
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न आइतबार सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।
एनबी बैंक गाभेपछि नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकमा अग्रणी बैंकको रुपमा स्थापित हुने छ । हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्विजिसन(प्राप्ती)पछि हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ ।
पुस मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्ब भन्दा बढी र एनबी बैंकसँग १४ अर्ब भन्दा बढी प्राथमिक पुँजी रहेकोमा गाभिएपछि नबिल बैंकको प्राथमिक पुँजी ४४ अर्ब भन्दा बढी हुनेछ । यसले राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरुमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने बैंकले जनाएकाे छ ।
यसैगरी छ महिनामा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोड भन्दा बढी भएकाे छ भने एनबी बैंकको ८१ करोड भन्दा बढी रहेकोमा गाभिएपछि नबिल बैंकको खुद मुनाफा २ अर्ब ९९ करोड भन्दा बढी कायम हुनेछ ।
एनबी बैंककाे प्राप्तीपछि नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ ।
यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ ।