बिरामीको मृत्युपछि विराट अस्पतालमा तनाव

विराटनगर । विराटनगरको विराटनगर अस्पताल प्रा.लिमा बिरामीको उपचारको क्रममा मृत्यु भएपछि तनाव भएको छ । पाठेघरको उपचारका लागि भर्ना गरिएकी मोरङको धनपालथान गाउँपालिका-४ की कौशल्या साहको मृत्यु भएपछि अस्पतालमा तनाव भएको हो ।

मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण कौशिल्यको मृत्यु भएको आरोप लगाएका छन् । मध्यरातसम्म अस्पताल अगाडी प्रदर्शन गरेका मृतकका आफन्तले नर्सिङ होममा तोडफोड समेत गरेका छन् । आफन्तले अस्पताल परिसरमा ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले उपचारमा लापरबाही गर्ने व्यक्तिलाई कारबाही सहितको विभिन्न माग राख्दै आन्दोलन गरेका हुन् । मृतकका आफन्तले पाठेघरको ३ पटकसम्म अप्रेसन गरेर लापरबाही गरेको आरोप लगाएका छन् । अस्पतालमा तोडफोड हुन थालेपछि प्रहरी परिचालन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेपछि क्षति हुन नदिन प्रहरी परिचालन गरिएको बताए । अस्पताल प्रशासनले भने कुनै लापरबाही नभएको बताएको छ ।

अस्पताल प्रशासन र प्रहरीबीच रातीसम्म छलफल भए पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन । आज फेरी छलफल गरिने एसपी जिसीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *