नवजीवन सहकारीको अध्यक्षमा एमाले निकट बम निर्वाचित

धनगढी । देशकै ठूलो मानिने नवजीवन सहकारी संस्थाको अध्यक्षमा देवबहादुर बम विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार रतनबहादुर कठायतलाई पराजित गर्दै बम अध्यक्षमा विजयी भएका हुन् । बम एमाले निकट हुन् भने कठायत काङ्ग्रेस निकट हुन् ।

निर्वाचनमा १७ हजार ८० मत खसेकोमा बमले ८ हजार ३९१ मत पाए भने कठायतले ७ हजार ८३ मत पाए । यस्तै उपाध्यक्षमा कठायत प्यानलका चेतराज ओझा निर्वाचित भएका छन् ।

ओझासँग बम प्यानलका भरतराज जोशी पराजित भए । ११ सदस्यहरूका लागि भएको चुनावमा मिश्रित परिणाम आएको छ । बम प्यानलका इन्दिरा जैसी, गोपालराज पाठक, महेशराज विष्ट, घनबहादुर शाह, शिवकुमार जोशी र विश्वनाथ ओझा विजयी भएका छन् ।

यस्तै कठायत प्यानलबाट उत्तम जोशी, केशवराज मिश्र, उपेन्द्र विष्ट, गणेश बम र जयराज जोशी सदस्यमा विजयी भएका छन् । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा कठायत प्यानलका चेतराज जोशी, सदस्यमा लक्ष्मीराज पन्त निर्वाचित भएका छन् ।

लेखा सदस्यमा बम प्यानलका गणेशप्रसाद उपाध्याय पनि निर्वाचित भए । २०५० सालमा स्थापना भएको नवजीवनको २८औँ साधारण सभामा २९ हजार ५७७ शेयर सदस्य रहेका छन् ।

निर्वाचनमा एमाले र गठबन्धन निकट भएर प्यानल बनेका थिए । गठबन्धन निकट कठायत प्यानलबाट निर्वाचित हुनेमा अधिकांश काङ्ग्रेस निकट व्यक्ति छन् । नेकपा माओवादी र नेकपा एसका दुवै उम्मेदवार पराजित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *