पूर्वछापामार श्रेष्ठ भन्छन्- पिर गीतले साँच्चै ‘पिर’ ओकलेको छ (भिडिओसहित)

माओवादी एजेन्डाबाट विमुख भयाे

काठमाडौँ । मोहित श्रेष्ठ जनवादी गायक हुन्, जो माओवादी सशस्त्र युद्धमा पनि सामेल थिए । शुरूमा छापामार र पछि सामना सांस्कृतिक परिवारमार्फत माओवादीका जनवादी गीत सिर्जना गर्न लागिपरेका उनी अहिले यी सबै भूमिका त्यागेर आम नागरिकको जीवन बिताइरहेका छन् । उनका केही समकालीन सहयोद्धाहरू राज्यका माथिल्ला निकायसम्मै पनि पुगेका छन् । कोही त सशस्त्र विद्रोहकै बेला मृत्युवरण गर्न बाध्य पनि भए ।

०६६ सालसम्म माओवादीमै रहेका उनी त्यसपछि झन्डै एक दशकसम्म पूर्ण निस्क्रिय रहे । एक दशकसम्म पार्टीका कुनै पनि सभा/सम्मेलनमा पनि नपुगेको सुनाउँदै उनले भने, ‘शुरूमा ‘माओवादीप्रति जुन खालको आशा र अपेक्षा थियो, त्यो पछि भएन । यसपछि हराउन मन लाग्यो, हराएँ पनि झन्डै एक दशकसम्म ।’

पुन: माओवादी सदस्यता नवीकरण गरेको सुनाउँछन् श्रेष्ठ । तर, माओवादीप्रति पछिल्लो समय वितृष्णा पैदा हुँदै आएको उनको ठम्याइँ छ । ‘माओवादीले बढी सपना बाँड्यो जनयुद्धको बेला,’ श्रेष्ठ स्मरण गर्छन्, ‘अहिले सकेन । चुक्यो । यही पनि माओवादीको लागि अभिशापसरह भयो । माओवादीप्रति पछिल्लो समय जनतामा वितृष्णा देखिन्छ, पैदा भएको छ । कारण त यही हो ।’

२०५४ देखि ०५८ सालसम्म छापामारका रूपमा माओवादीमा सक्रिय रहेका श्रेष्ठले युद्धलाई नजिकबाट नियालेका छन् । ६/७ वटा मोर्चामा सहभागी भएको अनुभव सँगालेका उनी भन्छन्— ‘हामीलाई एउटा विचारले नेतृत्व गरेको थियो । विचारबाट निर्देशितहरू निडर हुन्छन् र हामी थियौँ नै पनि यस्तै । हामी ज्यानकै बाजी थापेर लड्यौँ ।’

युद्धको मनोविज्ञान फरक भएपनि त्यसको नियम एउटै हुने कठोर अनुभव छ श्रेष्ठसँग । भन्छन्— ‘डर पनि एउटा तहसम्म लाग्थ्यो । पहिलो फायर खोलेपछि त आँट आउँथ्यो, शत्रुलाई नास गर्नुपर्छ भन्ने लाग्थ्यो । यसैगरी लड्यौँ ।’

‘पिर गीतले मजस्ताको पिर ओकल्यो’

श्रेष्ठ प्रकाश सपूतको गीत ‘पिर’ लाई आलोचना वा विरोध गर्नुपर्ने अवस्था नभएको बताउँछन् । यद्यपि निर्माणको क्रममा केही प्राविधिक गल्ती भएको उनी औंल्याउँछन् । ‘गीत राम्रो छ । प्रकाशजी एउटा राष्ट्रिय स्तरको कलाकार हुनुहुन्छ । सिर्जनामा सत्य पनि छ, तर बनाउँदाखेरि केही प्राविधिक त्रुटि भएको लाग्छ मलाई । अरु ठिकै छ ।’

यद्यपि उक्त गीति भिडिओले आफूहरूजस्ताको समस्याबारे बालेको श्रेष्ठको बुझाइ छ । ‘त्यहाँ सत्यहरू पनि औंल्याइएका छन्,’ उनी भन्छन्, ‘यो सिर्फ एउटा सिर्जना मात्रै होइन । उपल्लो मगजबाट बनाइएको हो सिर्जना हाे ।’

‘त्यही माओवादीले हिजो गीतमार्फत शक्ति आर्जन गर्थ्यो, आज त्यही गीतसँग किन झस्किन्छ ?’ भन्ने मकालुखबरको जिज्ञासामा श्रेष्ठले भनेका छन्— ‘हामी पनि उसैगरी साहित्य सिर्जना गर्थ्यौँ, तर हामीले चाहिँ पार्टीको नीतिभित्र अटाएर वा त्यहीभन्दा बाहिर नजानेगरी सिर्जना गर्थ्यौँ । त्यसैले गर्दा पार्टीलाई एउटा शक्ति आर्जन गर्थ्याे ।  जनताहरू झुम्मिन्थे र पार्टीसँग नजिक हुन्थे । तर, प्रकाशजीको साहित्य भनेको चाहिँ पार्टीलाई चुनौती दिने, अवस्थालाई नै चुनौती दिने वा विगतलाई नै चुनौती दिनेखालका भए । यसैले यस्तो भएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *