विदेशमा सबै छ, नेपालमा केही छैन भन्ने सोच त्याग्ने कसरी ?

कुरा यता बाट शुरू गरौँ, एकजना भाइले मलाई भन्यो- ‘दाइ एउटा जागिर मिलाइदिनुस् न… ।’ मैले उसैलाई सोधेँ, ‘के गर्न सक्छौ ? के के सिकेको छौ ?’ ‘बीबीएसको परीक्षा दिएँ र अस्ट्रेलिया जाने चक्करमा ३ वर्ष बित्यो, पढाई नि छोडेँ । अब ४-५ महिना जति नेपालमै केही काम गर्न पर्‍यो । दुबईबाट युरोप छिर्न पाइन्छ रे त्यसकै तयारी गर्ने सोचिराको छु ।’

मैले भने , ‘अस्ट्रेलिया जान लाग्ने पैसाले नेपालमै केही गर्दा भइहाल्यो नि, जागिर नै गर्नुपर्छ भन्ने छ र ?’ ‘चस्मा पसल खोल्नेचाहिँ भैराको छ तर राम्रो ठाउँ नपाएर यत्तिकै भैरा’छ । दिदीले पनि पसलको आसमा नबस, बरु २/४ वर्ष विदेश बसेर नेपालमै केही गर भन्नुहुन्छ । म नि त्यही सोचिरा’छु ।’

ताप्लेजुङ घुम्ने क्रममा साथी राजीवले मलाई फुलिङ बजारमा स्पेसल कफी पाइने जानकारी गराएको थियो । हामी कफी खान जाँदा एकजना मित्रसँग भेट भयो । उनीसँग हामी निकैबेर गफियौँ । उनी फुटबलका राम्रा खेलाडी रहेछन् । कुराकानीकै बिचमा उनले आफू पनि बिदेसिने तयारी गरिरहेको बताए । फुटबलमा त नेपालमा निकै राम्रो अवसरहरू भएको बारे चासो राख्दा भने उनले पनि निराशावादी कुरा गरे । फुटबलमा लागेर खासै उपलब्धि नभएको कारण आफू बिदेसिन लागेको उनको भनाइ थियो ।

यस्तै, एकपटक पूर्वमन्त्री एवम् नेकपा मालेका महासचिव सीपी मैनालीसँगको अनौपचारिक कुराकानीमा अहिले नपाली युवाको अवस्था कस्तो देख्नुहुन्छ भनेर सोधेको थिएँ । जवाफमा उनले भनेका थिए, ‘नेपालमा भएका अधिकांश युवा बिकाऊ छन्, नेपालमा मिहिनेत गरेर केही गर्न पक्कै सकिन्छ भन्ने युवाको जमात देख्दिनँ । चाहे राजनीति होस् या उद्यमी वा रोजगार ।’

बिदेसिने युवा जमात त भई नै हाल्यो अहिले हामी जुन अवस्थामा गुज्रिरहेका छौँ । यो अवस्थामा युवाबाट अपेक्षा गर्न नसकिने निराशावादी कुरा जताबाट पनि आउँछ । मतलब नेपालमा केही गर्न सकिँदैन त ? वा हामीले नै युवालाई नेपालमै रोजगार बनाउने, उद्यमी बन्न प्रेरणा दिने काम गर्न किन सकेका छैनौँ ? यस्ता प्रश्नहरू उठ्छन् पनि तर निष्कर्षमा नपुग्दै त्यत्तिकै बिलाई पनि हाल्छन् ।

गएको दसैँमा एक युवती त्रिभुवन विमानस्थलमा रुँदै ‘रहरले कोही पनि विदेश जाँदैनन् मलाई पनि रहर छैन…. तर नेपालमा आफूले योग्यता अनुसारको रोजगारी पाइँदैन, त्यसैले बाध्यतावश बिदेसिनु परेको छ’ भन्दै जहाजमा सात समुन्द्र पारी उडेको दृश्य देखियो । यी यावत् पक्षका बिच म सोच्छु- के हामीलाई स्वदेशमै केही गर्न साँच्चै हाम्रो हातमा हतकडी लगाइएको छ ? विदेशमा ५० लाख नेपाली काम गरिरहेकामा सबैभन्दा धेरै २० लाखभन्दा बढी भारतमा छन्, तर त्यसमध्ये सवा २ लाख मासिक ५ हजारभन्दा कममा र करिब ४ लाख नेपाली ५ हजारदेखि १० हजारसम्ममा पसिना बेच्न बाध्य छन् ।
नेपाल रहेका करिब १७ लाख युवाले पनि रोजगार नपाएको अनौपचारिक तथ्याङ्क छ । नेपालमा सरकारले युवालाई स्वरोजगार बनाउन प्रभावकारी भूमिका नखेलेको, उद्योग कलकारखाना पनि पर्याप्त नभएको र पछिल्लो समय युवामा देखिएको महत्त्वाकाङ्क्षाले पनि युवालाई बिदेसिन बाध्य पारेको देखिन्छ ।

नेपाली राजनीतिमा युवा पुस्ता आउनुपर्छ भन्ने जमात निकै ठूलो छ । राजनीतिमा युवा पनि नहोमिएका पनि हैनन् पुरानै र केही नयाँ दलमा पनि त्यस्ता आशलाग्दा अनुहार नदेखिएका होइनन् तर युवालाई नेपालमै रोजगारी दिन र उद्यमी बन्न खोजेका युवालाई लगानी सुरक्षित हुने वातावरण सिर्जना गर्न नसक्दा युवामा उदासीनता आउनु स्वाभाविक नै हो । हामीले सरकारलाई मात्रै दोष दिनु शाेभनीय हुँदैन । किनकि लाखौँ लगानी गरेर विदेश पठाउन सक्ने युवालाई नेपालमा केही गर्छु भन्दा उसलाई पागलको संज्ञा किन दिइन्छ ? अभिभावकले पनि यसलाई किन सीधै अस्वीकार गर्छन् ? ३४ लाखबाट शुरू गरिएको ‘चिकेन स्टेसन’ अहिले करोडौँको कारोबार गरिरहेको उदाहरण किन दिइँदैन ? आफ्नो ऊर्जाशील उमेर, योग्यता र दक्षतालाई किन विदेशी भूमिमा लगानी गरिरहेका छन् । तर अधिकांश युवा नेपालमा श्रम गर्न तयार छैनन् । उद्यमी बन्न तयार छैनन् । शारीरिक रूपमा फरक क्षमताकी झमककुमारी घिमिरे मदन पुरस्कार विजेता बन्न सक्छिन्, अस्ट्रेलियाको भिसा रद्द भएका पारस खड्का क्रिकेटमा त्यति प्रसिद्ध बन्न सक्छन् । अयोग्य घोषणा गरिएकी पूर्व माओवादी लडाकु मीरा राई अल्ट्रा म्याराथनमा विश्वविख्यात बन्न सक्छिन् । यस्ता अनेकौँ उदाहरण हाम्रो सामु छन् । हामीले केवल आफ्नो मानसिकता परिवर्तन गर्न आवश्यक छ ।

आफ्नो छोराछोरी विदेश जाँदा घरजग्गा बेच्न तयार हुने अभिभावक नेपालमै छोराछोरीले केही गरून् र आफूजस्तै बेरोजगारमध्ये केहीलाई रोजगारी दिओस् भन्ने अभिभावकलाई किन नलागेको होला ? अधिकांश युवालाई देशको बारेमा केही बुझेको पाइँदैन । काम पनि छैन फुर्सद पनि छैन भनेजस्तो अवस्थामा छन् उनीहरू । सामाजिक सञ्जालमा मस्त र व्यस्त उनीहरू राज्यलाई दोषारोपण गरिरहेका वा निराशा व्यक्त गरिरहेका हुन्छन् । रोजगारी पाइएन भन्दै गर्दा स्वरोजगार बन्ने कुरामा किन हाम्रो युवा पुस्ताले आँट र अग्रसरता लिन सकिरहेको छैन ?

जमाना कहाँबाट कहाँ पुगिसक्यो ! चिट चोरेर पास गरेको केही थान सर्टिफिकेट र सरकारको मुख ताक्ने युवालाई कसैले त पक्कै पनि सम्झाउन आवश्यक छ नेपालमै सुन फलाउन सकिन्छ तर आफूमा सीप हुनुपर्छ भनेर । सबै क्रमशः बढेकाहरू बैङ्कको म्यानेजर बन्न सक्दैनन् । गत जनवरीदेखि अक्टोबरसम्मको तथ्याङ्क हेर्ने हो भने अस्ट्रेलियाजस्तो विकसित राष्ट्रमा मात्रै २१ नेपालीले ज्यान गुमाएका छन् । अन्य विभिन्न देशबाट दैनिक रूपमा नेपालीको शव त्रिभुवन विमानस्थलमा आइपुग्छ । यो निकै डरलाग्दो तथ्याङ्क हो । यसको नियन्त्रणका लागी सरकारी भूमिका सन्तोषजनक छैन ।

विदेशमा त्यस्तो के चीज छ जुन नेपालमा छैन ? धेरै स्वदेशमै उदाहरणीय बन्ने मौका गुमाएका छन् । यसबारे गम्भीर रूपमा समीक्षा गर्न आवश्यक छ । सरकारले ७ लाख रुपैयाँसम्म शैक्षिक कर्जा पाउने व्यवस्था गरेको छ तर बैङ्किङ प्रक्रिया निकै नै झन्झटिलो भएकोले धेरैले यो कर्जा लिएका छैनन् । लिन चाहेका शिक्षित युवाले पाएका पनि छैनन् । अधिकांशको सोचाई भने ७ लाखले खासै उपलब्धि नहुने र यो कर्जा प्रभावकारी नभएको आरोप छ ।

नेपालकै पहाडमा सुन छ हामीले खोज्न सक्नुपर्छ । अहिले त देश संघीयतामा गएको पनि ५ वर्ष भइसक्यो । स्थानीय सरकारले त झन् आफ्नो ५ वर्षे कार्यकाल सकाएर घर फर्किने समय भइसक्यो । हामीले स्थानीय सरकारलाई के कसरी बुझ्यौँ ? के कसरी खबरदारी गयौँ त्यो फरक प्रसङ्ग हो तर स्थानीय युवा वा बेरोजगारलाई आफ्नो स्थानीय तहले धेरै हदसम्म नियन्त्रण गर्न सक्थ्यो त्यो भएन ।

अहिले पहाडतिर उक्लिनुभयो भने केही वर्ष अगाडि देखिने खेतीयोग्य जग्गामा अहिले रूखहरू उम्रिएका छन् । त्यस्ता जग्गालाई उपयोग गरेर धेरै युवालाई नेपालमै रोक्न स्थानीय सरकारको भूमिका उदासीन देखिन्छ । गाँउगाँउमा डोजर आँतक र चरम भ्रष्टाचार भइरहेका खबरहरू आउँछन् । यदि यो साँचो हो भने निकै नै डरलाग्दो कुरा हो । युवालाई नेपालमै रोजगारी दिनुपर्छ भन्नेको पनि कमी छैन तर त्यो भनाई केबल भनाइमा मात्र सीमित देखियो ।

यसरी आफ्नो सुन फल्ने भूमिलाई मरुभूमि बनाएर धान फल्ने तराईका सम्म फाँटलाई घरघरको थुप्रो बनाइनुलाई देश विकास भन्नु गलत हो । हामी युवालाई आशा छ, चाँडै बाध्यतावश बिदेसिएका युवा नेपाल फर्कने छन् । आफ्नै देशमा पौरख गर्ने छन् समृद्ध देश बनाउनेछन् । र यो पनि आशा छ नेपालमै उदाहरणीय बन्ने मौका अब कुनै पनि युवाले गुमाउने छैनन् । सरकारहरूले मात्र त्यो वातावरण बनाइदिनुपर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *