‘पिर’ ले उठाएको प्रश्नहरू सधैँ अनुत्तरित ?

काठमाडौँ । प्रकाश सपूतको ‘पिर’ गीत अब पुरानो भयो । तर, यसले उठाएको बहस/छलफल भने पुरानो भएको छैन र हुँदैन पनि सायद । गीतले जसरी जनयुद्ध गरेर आएको माओवादी र त्यसका नेतृत्वलाई प्रश्न गर्‍याे, यसलाई निरुत्साहित गर्ने अस्त्र न माओवादीसँग छ, न त्यसका नेतृत्वसँगै । फलतः पिर गीतले उठाएका प्रश्नहरू अनुत्तरित नै रहने पक्कापक्कीप्राय: छ ।

गीतले गरेको प्रश्नले माओवादी केन्द्रले टेकेको धरातल हल्लियो । एक हिसाबले भन्ने हो भने गीतले सिर्जना गरेको बहसका कारण नेपाली समाज नै दुई ध्रुवमा बाँडियो । खासगरी माओवादीका नेता/कार्यकर्ताहरू र शुभेच्छुकहरू एकपट्टि देखिँदा सिङ्गो समाज अर्को ध्रुवमा देखियो ।

०००
आफ्नो रुची अनि पढाइको विषयले गर्दा पनि हुनसक्छ, आफूलाई यही विषयको सन्निकट पाएँ । पत्रकारिता र साहित्य दुवै समाजका अभिन्न अंगहरू हुन् । जुन अंगको मियो नै समाज अनि राजनीतिक नेतृत्व भन्दा फरक नपर्ला । एक पत्रकारिताको विद्यार्थीको हैसियतले मलाई लाग्दछ— आफ्नै सिद्धान्तभन्दा बाहिर रहेर किन कलम चलाउन लगाइरहेको छ यो समाज मलाई (?) कहीँकतै समाज वा नेतृत्वले गलत मार्ग निर्देशन त गरिरहेका छैनन् ? प्रश्नहरू यत्रतत्र सर्वत्र छन् ।

पिरले उठाएकाे प्रश्नहरूकाे सामना कसले गर्छ ?

यदि त्यसो होइन भने त पत्रकारिताको विद्यार्थीको कलम आज किन एउटाको पक्ष लिन बाध्य छ (?) अथवा किन एउटा पक्षलाई विपक्ष करार गर्नुपर्ने अवस्था छ (?) यी कलमहरू चलाइरहँदा मेरो गुरुको शिक्षाको दुरुपयोग त भइरहेको छैन (?) यावत् अनुत्तरित प्रश्नहरू मानसपटलमा कुदिकुदाउ छन् । यदि यसै भइरहेको हो भने आफूलाई पत्रकारिताको शिक्षा दिने गुरुहरूप्रति क्षमा–याचना माग्छु र स्वतन्त्र रूपमा छोड्न दुस्अनुरोध गर्दछु ।

०००
एक पत्रकारिताको विद्यार्थी भएको नाताले समाजको विभिन्न अंगहरू नियाल्नैपर्छ । जसअन्तर्गत एक हो— राजनीति । एक देशको सामान्य नागरिक जसले देशको परिवर्तनको ठूलै हिस्सा हेरिआएको छ अनि त्यसैको नतिजासमेत चाखेकाे छ, अनुभूत गरेकाे छ । पङ्तिकारले आफूलाई यस परिवर्तनको नेतृत्वले आदिममा गरेको प्रतिज्ञा र त्यसपछि भए/गरेका कामहरू पनि नियाल्दै आएको छ । त्यस मानेमा भन्ने हो भने पङ्तिकार सोझै प्रश्न गर्न सक्छ । के यत्रो परिवर्तन ‘मै हुँ’ भन्नकै खारित गरिएको थियाे (?) टिप्पणीकार [गीतमाथि फरक धारणा राख्नेहरू; माओवादीसमर्थित नेता/कार्यकर्ताहरू] ले कसैको सिर्जनामाथि धावा बोल्दा सामन्ती युगमा भन्दा गणत्रान्त्रिक युगमा खुल्लमखुल्ला स्वतन्त्रता पाएकै हो (?) अझ भनौँ— नेतृत्व वर्गमा बसेका बुद्धिजीवी वर्गले साहित्यको मूलभाव नबुझेकै हुन त (?) यदि यस्तो हो त तल्लो अनुच्छेदका प्रत्येक अरफहरू नछुटाइ, नबिराइ पढ्नुहुन अनुरोध गर्दछु । पङ्तिकारले आफ्नो बलबुताले भ्याएजत्ति प्रष्ट्याउने कोसिस गरेको छ ।

प्रथम त, साहित्य समाजको दपर्ण हो । साहित्य नै समाज होइन, तर अपवादबाहेक सम्पूर्ण चिजका बारेमा साहित्यले प्रतिकात्मक र विम्बात्मक रूपमा बाेल्छ । यसले समाजमा रहिआएको समस्यालाई मात्र बोल्दैन, समाजमा थुप्रै विषयवस्तुहरू छन् जुन साहित्यसँग नजाेडिरहन सक्दैनन् । सम्बन्धित देशको इतिहास, इतिहासको नतिजासमेतसँग सम्बन्ध राख्दछ साहित्य ।

उदाहरणस्वरूप यही पिर गीतको सिर्जना हुन्छ । पिर गीतमा देखाइएका सम्पूर्ण घटनाहरू प्रतिकात्मक हुन् भनेर दाबी एकातिर हुँदा अर्काेतिर यसले ठ्याक्कै समस्यालाई जनतासामू प्रस्तुत भयाे भनेर विराेध हुन्छ । यद्यपि यसले त्यससँग सम्बन्ध राख्नेहरूलाई दुखाउँछ । जुन सत्य हो तर, त्यसको विरोध गर्नैपर्ने ठाउँमा उनीहरू पुग्दछन् ।

यदि गीतले परिवर्तनमा होमिएकाहरूको इज्जतमा दाग लागेकै हाे त ? आफैँ आफ्नो कक्षा ३ को पढाइलाई चट्टै छोडी जनवादी कलाकार बनेका स्वयम् सो गीतकै पात्र किन बन्न पुग्थे । के यो कुरा सोचनीय छैन ? साहित्य सिर्जनाले कुनै पनि समाजमा रहिआएको एक पाटोचाहिँ अझै पनि परिवर्तन खोजिरहेको छ ।

जुन टिप्पणीकारले आफूलाई पानीमाथिको ओभानो बनाएझैँ आफ्नो संघर्षको नतिजा प्रकाशन गरे, के त्यतिकै लागि मात्रै थियो परिवर्तन ? यति धेरैको ज्यान गएको, अशिक्षित भएकाे अनि यस्ता थुप्रै समस्याहरूकाे हिसाब कता पुग्याे ? के महिलाहरूकाे ३३% अधिकारका लागि मात्रै थियाे परिवर्तन ? अहिलेको परिवेशमा के ३३% अधिकारको लागि लगभग ६७% महिलाहरूको सिउँदो अनि काख रित्याएको होइन भने किन एउटा सर्जकको सिर्जना दबाउन खोजिँदै छ । नयाँ युगको नयाँ संचारमाध्यमका स्रोतहरूलाई मेटाउन धम्की वा आदेश दिनु, सो सामाग्री नहटाए यस्तो हुन्छ भनेरसमेत टिप्पणी गर्नु के दश वर्षे जनयुद्धले दिएको उपलब्धि मान्दा उचित होला ?

एक अन्तर्वार्तामा स्वयम् कलाकार एवम पूर्वलडाकू गीतकै कथाको पात्रझैँ आफूले आफ्नो जीवन बिताइरहेकी छिन्, उनी थप्छिन्— के हामीले हाम्रो विद्यार्थी जीवनमै परिवर्तनमा हाेमिँदा त यस्ताे स्थिति छ भने अझ संगठन बाहिरको मानिसहरूको स्थिति के होला ?

त्यसैले एक जिमेवार नेतृत्वको ओहोदामा रहेर जिम्मेवार तरिकाले आफ्नो गल्ती वा भूलहरूलाई सच्याउन बहस चलाउनु अनि शिष्ट तरिकाले विरोध गर्नु ठिक कि एक असभ्य मानिस जस्तै व्यवहार देखाउनु ठिक ? यी तमाम प्रश्नहरू टिप्पणीकारलाई छोड्दै पङ्तिकार कमलको स्वतन्त्रतामाथि पूर्णविराम लगाउँछ ।

♦ सम्बन्धित सामाग्रीहरू
   धन्यवाद दिनुपर्ने सर्जकलाई धम्की किन कमरेडहरू ?
   पूर्वछापामार श्रेष्ठ भन्छन्- पिर गीतले साँच्चै ‘पिर’ ओकलेको छ [भिडिओसहित]
   प्रकाश सपूतको गीत ‘पिर’ले छेडेको बहस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *