सुर्खेतमा पार्टी प्रवेश गराउन नेता–कार्यकर्ताकाे तानातान
सुर्खेत । सुर्खेतमा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता तानातानको रहर चलेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रमुख राजनीति दल नेकपा एमाले, माओवादी, समाजवादी र नेपाली कांग्रेसका नेता–कार्यकर्ता तानातानको लहर नै चलेको हो ।
बिहीबार मात्रै सुर्खेतको वीरेन्द्रनगरमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी केही नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । पूर्व एमाले समेत रहेका तर, एमाले फुटेर बनेको समाजवादी पार्टीमा प्रवेश गरेका नेता कार्यकर्ताहरू धमाधम एमालेमा फर्कन थालेका छन् ।
समाजवादी पार्टीमा कर्णाली प्रदेशस्तरीय नेता शिवप्रसाद उपाध्याय, वीरेन्द्रनगर पालिका–१० का अध्यक्ष एवम् समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य रत्न बुढा, जागुराम थारू, कृष्णबहादुर थापा र विमला थापालगायतका व्यक्तिहरू एमाले फर्किएका छन् । साथै समाजवादी वीरेन्द्रनगर नगरपालिका–१० का वडा सदस्य सुनिता चौधरी पनि एमालेमै फर्किएकी छन् ।
यस्तै, उनीहरूलाई एमाले पार्टीमा स्वागत गर्दै एमाले स्थायी कमिटी सदस्य तथा एमाले प्रदेश इन्चार्ज यमलाल कँडेलले आगामी स्थानीय तहको निर्वाचन पार्टी जीवनका लागि जीवनमरणको सवाल भएको बताए ।
कँडेलले आउने चुनावमा एकताबद्ध भइ लड्नु पर्ने अवस्था आएकाले जो–जस्ले टिकट पाएपनि विवाद नगरी निर्वाचनमा होमिनुपर्ने अवस्था आएको बताए । आउने निर्वाचनमा सबै दल एकातिर हुने र एमाले एक्लै भिड्नुपर्ने अवस्था रहेको बताउँदै कँडेलले पार्टीप्रति अभूतपूर्व आकर्षण बढेकोले एमाले एकताबद्ध हुँदा सजिलै चुनाव जित्न सकिने बताए ।