रिजवान र मुस्तफा आउट भएसँगै फेरि दबाबमा यूएई
काठमाडौँ । आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपाल र यूएई खेलिरहेका छन् । टस जितेर यूएईले ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरिरहेको छ । नेपालले उत्कृष्ट शुरुवात गर्दै ३५ रन जोड्दा यूएईका चार विकेट लिएको थियो ।
तर, मध्यक्रममा यूएईका ब्याटरहरु रोहन मुस्तफा र रिजवानले टिकेर खेल्दै नेपाली बलरहरुलाई केही तनाव सिर्जना गरेका थिए ।
उनीहरुले पाँचौ विकेटका लागि ७७ रनको साझेदारी गरे । ३४ औँ ओभरमा रिजवानलाई सन्दीप लामिछानेले आउट गर्दै यो साझेदारी तोडाएका थिए । रिजवानले ८५ बलमा ४० रन बनाए । यस्तै मुस्तफाले ८१ बलमा २ चौका र १ छक्कासहित ४० रन बनाए । उनलाई छैटौँ विकेटका रुपमा दिपेन्द्रसिंह ऐरीले बोल्ड गरेका थिए ।
साताैँ विकेटका रुपमा सागर ढकालले बसिल हमिदलाई १४ रनमा पेबिलियन फर्काइदिएका छन् । ४१ ओभरको खेल सकिँदा यूएईले ७ विकेट गुमाएर १३८ रन बनाएको छ ।
नेपालका लागि शुरुवाती ३ विकेट लिंदै सोमपाल कामीले उत्कृष्ट शुरुवात गराएका थिए । लगत्तै करण केशीले टिमका लागि चौथो विकेट लिएपछि यूएईको ब्याटिङ लाइन अप धर्मराएको थियो । तर मुस्तफा र रिजवानले केही सम्हालेका थिए ।