यूएईद्वारा नेपाल ४८ रनले पराजित
काठमाडाैँ । आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपाल यूएईसँग ४८रनले पराजित भएकाे छ ।
यूएईले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३६ औँ ओभरमा मात्र १२० रनमा अलआउट भएको हो ।
नेपालका रोहितकुमार पौडेलले ४६, ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आशिफ शेख र सन्दीप लामिछाने ७/७, सोमपाल कामी र करण केशी ६/६ रनमा आउट भए । दिपेन्द्रसिंह एेरी ४ रनमा रनआउट भए भने आरिफ शेखले रनको खातै खोल्न सकेनन् ।
टस जितेर ब्याटिङ रोजेको यूएई ४७ औँ ओभरमा १६८ रनमा अलआउट भएको थियो ।
नेपालका सोमपाल कामीले ४ र करण केशीले ३ विकेट लिए भने थप विकेट सागर ढकाल, सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीको नाममा रह्यो ।
३५ रन जोड्दा नेपालले यूएईका चार विकेट लिँदै शुरुवातदेखि नै दबाब बनाएको थियो । तर, मध्यक्रममा यूएईका ब्याटरहरु रोहन मुस्तफा र रिजवानले टिकेर खेल्दै यूएईलाई मध्यम योगफलतर्फ अग्रसर गराए । उनीहरुले पाँचौ विकेटका लागि ७७ रनको साझेदारी गरे ।
३४ औँ ओभरमा रिजवानलाई सन्दीपले आउट गर्दै यो साझेदारी तोडे । रिजवानले ८५ बलमा ४० रन बनाएका थिए । यस्तै मुस्तफाले ८१ बलमा २ चौका र १ छक्कासहित ४० रन बनाए । उनलाई दिपेन्द्रले बोल्ड गरे ।
नेपालका लागि शुरुवाती ३ विकेट लिंदै सोमपाल कामीले उत्कृष्ट शुरुवात गरे । लगत्तै करण केशीले टिमका लागि चौथो विकेट लिएपछि यूएईको ब्याटिङ लाइनअप धर्मराएको थियो ।
सन्दीपले १० ओभरमा ३० र दिपेन्द्रले ४२ रन खर्चिए ।