विप्लवकाे प्रस्ताव- ‘निर्वाचनमा जाऔँ’

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चुनावमा जान प्रस्ताव गरेका छन् । कपिलवस्तुमा जारी केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले यस्ताे प्रस्ताव गरेका छन् । ‘आगामी निर्वाचनहरूलाई उपयाेग गरेर जानुपर्छ,’ महासचिव विप्लवलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले मकालुखबरसँग भनेका छन्— ‘यसका लागि यहीँबाटै एउटा सहमति गरेर जाऔँ ।’

महासचिव विप्लवले चुनावकाे उपयाेग गरेर जानुपर्नेसहितकाे राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए । उक्त दस्तावेज सबै केन्द्रीय समिति सदस्यहरूलाई बाँडिएकाे छ । उक्त दस्तावेजका बारेमा शनिवारकाे बैठकमा छलफल हुने ती सदस्यले बताएका छन् । ‘यसमा विस्तृत रूपमा भाेलिकाे बैठकमा छलफल हुनेछ,’ ती सदस्यले भनेका छन् ।

गत फागुन २६ मा सम्पन्न भएको सचिवालय बैठकमै पनि महासचिव विप्लवले निर्वाचनमा हाेमिनुपर्ने बताएका थिए । उनकाे उक्त प्रस्तावलाई पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भने साथ दिएका थिए ।

अन्य दुई स्थायीहरू धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ ले भने उक्त प्रस्तावकाे विपक्षमा मत राखेका थिए । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *