यातायातको व्यवस्थापनकाे योजना नै बनेन : हाछेथु (भिडिओसहित)

हाम्रोमा दुर्घटनाको जिम्मेवारी लिने निकाय खोई ?

मैले २०४७ सालमा भक्तपुरमा जिल्ला ट्राफिक प्रहरी प्रमुखका रूपमा जिम्मेवारी शुरू गरेको हुँ । भक्तपुरमा जिम्मेवारी सम्हालेपछि म सल्लाघारीमा ड्युटिमा निस्किएँ । मेरो हतियार भनेको ट्राफिक प्रहरीको बर्दी र एउटा सिटि थियो । पहिलो दिन रोक्न इशारा गर्दै मैले सिटि बजाएपछि एउटा ट्रक मभन्दा करिब ५० मिटर परै रोकिएको थियो । त्यो दिन मैले पहिलोपटक सिटिको शक्ति अनुभव गरेको हुँ । ‘प्रहरी’को मेरो पेशामा अगाडि ‘ट्राफिक’ थपिएपछि म सडकमै रमाउन थालेँ । सडक, सवारीसाधन, बटुवा, जाम, धुवाँ धुलो, सवारीसाधनको ट्याँट्याँ टुँ टुँ मेरा लागि सबैथोक बन्यो । विस्तारै म यसैमा रत्तिँदै गएँ ।

मेरो काम, दायित्व कर्तव्य जे भनेपनि यही क्षेत्र रहन गयो । घरबाट हाँस्दै परिवारसँग भरे फर्किन्छु है भन्दै विदा भएको व्यक्ति सकुसल घर फर्किन पाओस्, पैदलयात्रीले सुविस्तासँग बाटो पार गर्न पाओस्, ठाउँबाट गाडी चढ्न र ठाउँमा झर्न पाओस्, लामो समय जाममा बसेर समय र इन्धनको नाश अनि तनाव र हैरानी खेप्नु नपरोस् भन्नेमै केन्द्रित रहेँ । यो कुरालाई मानिसले सामान्य रूपमा लिएपनि धेरै ठूलो कुरा हो भन्ने मलाई लाग्छ । सवारी व्यवस्थापन धेरै ठूलो र महत्वपूर्ण कुरा हो तर खोइ किन हो कुन्नी, हाम्रोमा भने यसले प्राथमिकता पाउनै सकेन ।

त्यसबेलाको काठमाडौँ उपत्यका
२०४९ सालसम्ममा काठमाडौँ उपत्यकामा ४८ हजार मात्रै सवारीसाधन थिए । सडकमा हामी चेकिङमा खटिँदा ३ घण्टामा ५०–६० वटा सवारीसाधन चेकिङ गर्नुपर्थ्याे । त्यसबेला सवारीचालकहरू अति अनुशासित थिए । उनीहरूलाई एकातिर डर र अर्कातिर ट्राफिकलाई सहयोग गर्ने भावना थियो । यात्रुलाई गर्ने व्यवहार पनि अति राम्रो थियो । सडकमा सीसीटिभी थिएन तर कुनै दुर्घटना गरेमा चालक आफैँ पनि प्रहरी कार्यालयमा पुग्थे । ‘मैले फलानो ठाउँमा आउँदा कुनै अर्को सवारीसाधनलाई छुस्स छोएको जस्तो लाग्छ कसैको उजुरी परेको छ कि सर’ भन्दै आउने चालकहरू थिए । सीसीटिभी भन्दा बलियो इमानदारी थियो ।

अहिले त्यस्तो इमान्दारी म चालकमा पाउँदिन । सबैलाई भन्न खोजेको होइन तर रातीको समयमा दुर्घटना भयो भने चालक बत्ती निभाएर भाग्छन् । यस्ता धेरै घटना हामीले ब्यहोरका छौँ । रातको समयमा आफूले चलाएको सवारीसाधनको ठक्करबाट अर्को व्यक्ति घाइते भयो भने ऊ छटपटाइरहेको अवस्थामा पनि त्यत्तिकै छोडेर हिँड्नेहरू धेरै हुन्छन् ।

म सातदोबाटोको ट्राफिक प्रहरी इन्चार्ज हुँदाको एक राती पूल्चोकमा साझा पेट्रोल पम्प अगाडि दुर्घटना भयो भन्ने खबर आयो । म सवा १२ वजे त्यहाँ पुगेँ । मोटरसाइकल चालक घाइते भएकाले बीएण्डबी अस्पताल लगियो । लोडसेडिङका कारण सीसीटिभीमा कुनै रेकर्ड थिएन । मैले वरपर नियालेँ, नजिकैको गल्लीनेर कारको नम्बर प्लेट भेट्टाएँ । अर्कोदिन यातायात कार्यालयमा गएर कारधनी पत्ता लगाएँ । मंगलबजारका एकजना डाक्टर’साबको कार रहेछ । मैले उहाँलाई भेट्टाएँ र सोधेँ, ‘तपाईंं अरूको ज्यान बचाउने मान्छे, कसरी आफ्नो कारले ठक्कर दिएको व्यक्तिलाई सडकमै छोडेर हिँड्नसक्नुभयो ? रातभरि नसुतेर उपचार गर्ने तपाईंलाई त्यो घटनापछि घरमा आएर सुत्दा निद्रा लाग्यो ?’ उहाँले कुनै जवाफ दिन सक्नुभएन ।

काठमाडौँ उपत्यकामा ट्राफिक जाम र व्यवस्थापन
मेरो घर ललितपुर महानगरपालिकाको कार्यालयबाट १४ किलोमिटर टाढा भक्तपुरमा छ । अस्ति भर्खरै एकदिन मलाई घर पुग्न साढे २ घण्टा लाग्यो । नियमानुसार ६० को स्पीडमा चलाउँदा पनि १४ मिनेटमा पुग्नुपर्ने ठाउँ हो । काठमाडौँमा जाम भन्ने कुरा त सामान्य नै भइसक्यो । कुनै सडकमा कुनै गाडी बिग्रियो वा दुर्घटना भयो भने काठमाडौँभरिको यातायात प्रभावित हुने अवस्था छ । माइतीघर, थापाथली वा त्रिपुरेश्वरमा गाडी बिग्रियो भने १० मिनेटमा काठमाडौँभरिको यातायात अस्तव्यस्त हुने अवस्था छ ।

यसको एकमात्र कारण भनेको सम्बन्धित निकाय वा पदका व्यक्तिले ध्यान नदिनु हो । उच्च ओहोदाको मान्छे कहिल्यै जाममा बस्नुपर्दैन त्यसैले उसले यसको व्यवस्थापनबारे कामै गरेन । मलाई त राष्ट्रपति उपराष्ट्रपति र प्रधान मन्त्रीबाहेक सबैलाई ट्राफिक नियममा राख्ने र अरू सरह जाममा पार्ने हो भने यो समस्याको अलि समाधान हुनेतिर जान्थ्यो कि जस्तो पनि लाग्छ ।

अर्कोतिर हाम्रा नियम कानुन पनि अचम्मका छन् । सडकमा एउटा खाल्डो पर्यो भने त्यसलाई पुर्न कति समय लाग्छ भन्ने नै थाहा हुँदैन । मैले कतिपटक यस्तो खाल्डो पुर्नपर्यो भनेर यातायात कार्यालय वा सडक विभागमा जाँदा एउटा खाल्डोका लागि मात्र टेन्डर आह्वान गर्न मिल्दैन ५,६ वटा खाल्डो परेपछि मात्र टेण्डर आह्वान गर्न पाइन्छ भनेर फर्काइदिएको अनुभव छ । यो भन्दा दुःखद कुरा के होला ? पैदल यात्रीले बाटो काट्ने जेब्रा क्रसिङको रङ्ग ४०–५० वटामा खुइलिए पछि मात्रै पेन्टिङ गर्ने चलन छ । पाटन अस्पताल अगाडि धेरै मानिसले बाटो काट्ने ठाउँ र कम मात्र मानिसले प्रयोग गर्ने ठाउँमा एकैपटक रङ्ग उप्किन्छ भन्ने त हुँदैन नि । त्यहाँ रङ लगाएर पैदल यात्रीलाई सहयोग गरौँ भनेको अरू धेरै ठाउँको पनि मेटिएपछि रङ्ग लगाउने भनियो । म अवाक भएर फर्किएँ । हामीकहाँ यस्ता समस्या कति छन् कति । सडक पार गर्ने ठाउँ जेब्रा क्रसिङमा रङ्ग लगाउन पनि किन टेण्डर पर्खिनु पर्यो ? प्रत्येक ३ महिनामा जेब्रा क्रसिङमा रङ्ग लगाउन सकिँदैन र ? ट्राफिक लाइटको अवस्था पनि त्यस्तै छ । यस्ता कुरालाई सिस्टममा लैजादा कती नै बजेट खर्च हुन्छ र ? बजेट ठूलो की दुर्घटना ठूलो ? मलाई लाग्छ यो हामीले गरेको हेलचेक्र्याइँ हो । तर यो हेल्चेक्य्राइँ ले कसैको ज्यान जानसक्छ भन्ने कुरा हामीले कहिले बुझ्ने ?

सडक दुर्घटनाको जिम्मेवारी लिने निकाय कुन हाे ?
हाम्रो देशमा सम्बन्धित निकायहरूबीचको समन्वयको अभाव भएको उदाहरण हेर्नुपर्यो भने ट्राफिक व्यवस्थापनको क्षेत्रलाई हेर्न सकिन्छ ।

काठमाडौँ उपत्यकाको कुरा गर्दा उहाँका पालिकाहरू, ट्राफिक प्रहरी,  सडक विभाग, यातायात कार्यालयहरू, चालक सबैको आफ्नै तरिका छ । यहाँ हुने दुर्घटनाको जिम्मा लिने कसले ? जाम भयो भने जिम्मा लिने कसले ? न महानगरले लिन्छ, न यातायात व्यवस्था विभागले लिन्छ, न सडक विभागले, न पालिकाले, न त ट्राफिक प्रहरीले नै । यहाँ जिम्मेवारी लिने निकाय नै कोही छैन । जे भए पनि ‘ट्राफिकले हेरेन’ वा जानेन वा सकेन मात्र भन्ने गरिन्छ । ट्राफिक प्रहरीलाई अधिकारचाहिँँ छैन । चालकले गर्ने कुनै गल्तीमा चिट मात्रै काटेर समस्या समाधान हुन्छ त, यो प्रश्न छ । महानगरको सडकमा आकाशे पुल खोई ? जेब्रा क्रसिङ खोई, ट्राफिक लाइट खोई ? अनि ट्राफिक सचेतना खोई ? यो काम कसले गर्ने ? सबै अधिकार चाहिँ यातायात व्यवस्था विभागलाई छ । सडक विभागलाई छ । ट्राफिक प्रहरीलाई चिट काट्ने बाहेकको कुनै अधिकार नै छैन । अधिकार विहिन बनाएर ट्राफिकलाई सडकमा राखेर नै ट्राफिक व्यवस्थापन हुन नसकेको हो । जाँडरक्सी खाएर सवारीसधान चलाउनेलाई ५ पटकमा लाइसेन्स नै सस्पेन्स गर्नुपर्ने नियम छ तर १६ पटकसम्म प्वाल पार्दा समेत ससपेन्स नगरेको मैले पाएको छु । ट्राफिक प्रहरीले प्वाल पार्ने मात्र हो सस्पेन्स गर्ने अधिकार हामीलाई छैन । हामी दोष चाहिँ ट्राफिक प्रहरीलाई दिइरहेका छाैँ ।

यो पनि : ‘गरिब चढ्ने’ सार्वजनिक यातायातलाई सबै चढ्ने कसरी बनाउने (भिडिओसहित)

त्यसैले सबै सरोकारवाला रहेको अधिकारसम्पन्न यातायात प्राधिकरण बनाउन जरुरी छ । अनि सबै सम्बन्धित क्षेत्र त्यसमुनी रहेर काम गर्यो भने बल्ल समस्याको दिगो समाधान हुन्छ । समस्या किन भयो भनेर कारण खोज्नुपर्नेमा हाम्रोमा एकदमै सतही मात्र भयो । गाडी बढेकाले जाम भयो भन्ने खालको ओठे जवाफ भयो ।

ट्राफिक व्यवस्थापन र दायित्वबोध
ट्राफिक प्रहरीलाई सबैभन्दा गाह्रो भनेकै काठमाडौँ उपत्यकामा हो । धुँवा, धुलो, जाम, पार्किङ, जस्ता सबै कुराको प्रेसर हुन्छ । यहाँ ट्राफिक प्रहरीलाई काम गर्न असाध्यै गाह्रो छ । त्यसैले उपत्यकामा काम गर्न अनुभवी ट्राफिक प्रहरी आवश्यक छ । अर्कोतिर ट्राफिकमा पनि नेपाल प्रहरीबाट केही समयको लागि मात्र ल्याउने चलन छ । ट्राफिक व्यवस्थापन त प्राविधिक र बेग्लै विषय हो । जुन कुरा सिक्न ट्राफिक प्रहरीलाई नै धेरै समय लाग्ने भयो भने नागरिकले धेरै दुःख पाउँछन् । ट्राफिक प्रहरीको इन्चार्ज पनि अनुभवी हुनुपर्छ । व्यवस्थापन गर्नसक्ने क्षमता हुनुपर्छ । ट्राफिक प्रहरीमा क्षणिक काम गरेर नाम कमाउँ भन्ने प्रवृत्ति छ । दिगो रूपमा कसैले सोच्दैन । एउटा हाकिमले एउटा कुरा थाल्छ अर्को आएपछि त्यसलाई निरन्तरता दिँदैन । दीर्घकालीन सोच नै देखिएन । क्षणिक पपुलिस्ट हुने खालको कुरामा हाकिम सावहरू प्नि रमाउनुभयो ।

राम्रो कुराको नक्कल गर्न लाज मान्नु हुँदैन । यो उदाहरण दिँदा मलाई दुःख लाग्छ तर भन्नैपर्छ कि म इन्चार्ज हुँदा कोटेश्वर, कालिमाटी, दरबारमार्ग र सातदोबाटोमा ट्राफिक प्रहरीका लागि भवन बनायौँ । मैले अग्रसरता र योजना ल्याएँ आम नागरिक र प्रबुद्ध व्यक्तिकै सहयोगमा बनाएको हो तर अहिले कतिपय कार्यालयमा रङ समेत लगाउन नसकेको देख्दा मलाई एकदमै दुःख लाग्छ । त्यहीँ इन्चार्ज भएर आफ्नो घरमा रङ्ग लगाउन सक्ने तर कार्यालयमा नलगाउने ?

नागरिक ट्राफिक व्यवस्थापनका लागि जे पनि सहयोग गर्न तयार छन् । किनभने यसबाट फाइदा हुने नै नागरिकलाई हो । तर यहाँ नियन्त्रण र अनुगमन नै भएन । सडकमा गाडी धेरै भए, सडक साँघुरो भयो, मानिसको नियम पालना गरेनन अनि यातायात व्यवस्थापन भद्रगोल भयो भन्नु बहानाबाजी मात्र हो । यसरी कोही पनि जिम्मेवारी र जवाफदेहीताबाट उम्कन पाउनुहुँदैन । गाडी बढी भयो अब व्यवस्थापन गर्न के गर्ने भन्ने कार्ययोजना पो बनाउनुपर्यो । धेरै मानिसले नीजि सवारीसाधन लिने गरेका छन् भने यस्तो अवस्था किन आयो ? सार्वजनिक सवारीसधानलाई प्रभावकारी र गुणस्तरीय बनाउने हो भने त नीजि सवारीसधान चलाउनेहरू पक्कै कम हुन्छन् नि तर यसबारेको सोचाई खोई ?

सरकारले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई ५ लाख रुपैयाँँ क्षतिपूर्ति दिन्छ । ५ लाख एउटा मानिसको जीवनको मूल्य हुन सक्छ र ? अर्कोतिर घरको कमाइ गर्ने व्यक्तिको दुर्घटनामा मृत्यु भएमा उसको परिवारको हालत के हुन्छ भन्नेबारे खोइ सोचेको ? त्यसैले हामीले किन यस्तो अवस्था भयो यसो हुनुपछिको कारण के छ भनेर खोज्नु जरुरी छ ।

मैले जापानमा तालिमका लागि जाँदा त्यहाँका नियमहरू देखेर छक्कै परेँ । एउटा सडक दुर्घटना भएको थियो । भोलिपल्ट त्यहाँ सडक इन्जिनियर, ट्राफिक प्रहरी, यातायात कार्यालय, महानगर लगायत सबै निकायमा व्यक्तिहरू किन दुर्घटना भयो भनेर अध्ययनका लागि त्यहाँ पुगे, सडक नै परिवर्तन गर्नुपर्ने हो कि ? वा कुनै नियमका कारण त्यस्तो भएको हो कि, वा सवारी साधनको खराबी वा चालकको कमजोरी के कारण हो खोजि गरि प्रतिवेदन दिने गरि समिति गठन गरिएको रहेछ । यस्तो हुन्छ र पो त्यहाँको सवारी व्यवस्थापन विश्वमै नमूना छ ।

हाम्रोमा यातायात व्यवस्थापनका लागि दीर्घकालीन रूपमा गर्नुपर्ने अरू धेरै काम छन् । आकाशेपुल र फ्लाई ओभर, ट्राफिक बत्ति र वन वेको अवधारणा कडाइका साथ लागू गर्नुपर्छ । यसका लागि पूर्वाधारको विकास गर्न सकेमा अहिलेको यातायात व्यवस्थापनका लागि सहयोग पुग्छ । अनि यातायातका नियमहरूबारे सचेतना जगाउने र कडाइका साथ लागू गर्ने पनि हुनुपर्छ ।

ट्राफिक नियम पालना नगर्दा पुगिने तीन ठाउँ हो कि अस्पताल, कि आर्यघाट कि त जेल । यी तीनै ठाउँमा पुग्नु भनेको राम्रो होइन । मृत्यु भएपनि, घाइते भएपनि वा जेल जानुपरेपनि राम्रो भएन । मान्छे सडकमा आएपछि सबैलाई हतार हुन्छ नै । तर हतार छ भनेर स्पीडमा सवारीसाधन हाँक्ने, नियम पालना नगर्ने गर्दा आफू र आफ्नो परिवारमाथि यत्रो ठूलो तनाव थपिरहेको छ । हाम्रोमा ट्राफिक नियम पालना गरेन भने कारवाहीमा परिन्छ है भनेर मात्रै सिकाइन्छ । ट्राफिक नियम हाम्रो लागि हो यो हामीले आफ्नो लागि पालना गर्नुपर्छ भनेर सिकाउनु आवश्यक छ ।

ट्राफिक प्रहरीमा २९ वर्ष बिताएको मेरो अनुभवले भन्छ हाम्रोमा पैसा वा बजेट नभएर होइन योजना नै नभएर यातायातको व्यवस्थापन हुन नसकेको हो । एउटा अधिकारसम्पन्न यातायात प्राधिकरण बनाउन अति जरुरी छ । त्यसपछि सबै काम यो प्राधिकरणको मातहतमा हुनुपर्छ ।

पूर्व ट्राफिक प्रहरी निरीक्षक हाछेथु अहिले ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *