नेपालमा वार्षिक ६९ हजारमा क्षयराेग, १६ हजारकाे मृत्यु
काठमाडाैँ । नेपालमा वार्षिक रूपमा ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।
विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. सञ्जय कुमार ठाकुरले नयाँ क्षयरोगका बिरामीहरू वार्षिक रूपमा ६९ हजार थपिने गरेको र १६ हजार जनाको मृत्यु हुने गरेको जानकारी दिए ।
उनले राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४/७५ ले नेपालमा वार्षिक नयाँ तथा पुराना गरी १ लाख १७ हजार क्षयरोगका बिरामी रहेको बताए । गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार नेपालमा २८ हजार ६७७ जना बिरामीहरू मात्र उपचारको क्रममा रहेको र उपचार सफलता दर ७३ प्रतिशत रहेको उनकाे भनाई छ ।
उनले औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक रूपमा २२ सय रहेको जानकारी दिए ।
केन्द्रले ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित सरकारले मार्च २४ अर्थात् बिहीबार विश्व क्षयरोग दिवस मनाउने जानकारी दिएको छ ।