स्थानीय निर्वाचनमा ६० प्रतिशत स्थानमा जित्छौँ : योगेश भट्टराई
धनगढी । नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी स्थानीय तहको चुनावमा एमालेले ६० प्रतिशत भन्दा बढी स्थानमा जित हात पार्ने दाबी गरेका छन् । प्रेस चौतारी कैलालीको आयोजनामा शुक्रबार धनगढीमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले यस्तो दाबी गरेका हुन् ।
यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा ४५ प्रतिशत सिट जितेको भन्दै उनले आगामी निर्वाचनमा थप बढी सिट जित्ने बताए । एमालेको प्रतिस्पर्धा काँग्रेससंग मात्रै भएको भएको बताउँदै उनले भने, ‘काँग्रेससंग टाँसिए थोरै सिट पाइन्छ कि भनेर केही दल तालमेलको रटान मात्रै गरिरहेका छन् । बहुमत आउने दुई दलको मात्रै हो । एमाले पहिलो दल बन्छ ।’
गठबन्धनको बलियो वैकल्पिक शक्ति एमाले मात्रै भएको उनको भनाइ छ । उनले एमालेलाई ६० प्रतिशत भन्दा बढी सिट पाउन कुनै दलसंग तालमेल पनि गर्न आवश्यक नभएको र त्यसका लागि पार्टीले कुनै निर्णय पनि नगर्ने बताए । यद्यपि उनले जिल्लामा तालमेल गर्न सकिने कुरामा खुला छाडिएको बताए ।
गठबन्धनले कुनै असर नगर्ने र यसप्रति एमालेलाई कुनै चिन्ता पनि नभएको उनले बताए । फरक विचारधारा बिचको गठबन्धन स्वार्थको आधारमा बनेको आरोप लगाउँदै उनले यो कुनैपनि बेला भत्किने बताए ।
साथै उनले वर्तमान सरकार पूर्ण रूपमा असफल भएको बताए । ‘यो आठ महिनाको अवधिमा सरकार पूर्णरुपमा असफल भैसकेको छ,’ उनले भने, ‘अर्थतन्त्र इतिहासकै कमजोर अवस्थामा आइपुगेको छ ।’