कर्णालीमै मिर्गौला प्रत्यारोपणका लागि समझदारी
सुर्खेत । कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा शुरू गर्नको लागि समझदारी भएको छ । बिहीबार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुर र कर्णाली प्रदेश अन्तर्गत प्रदेश अस्पतालबीच समझदारी भएको हो ।
समझदारी पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक प्राडा. डम्बर खड्काबीच हस्ताक्षर समेत भएको छ । प्रदेश असपताल कालागाउँका निर्देशक प्राडा. खड्काले यसै आर्थिक वर्षभित्र प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण कार्य शुरु गर्ने र यस प्रदेशअन्तर्गत विभिन्न अस्पतालहरूमा डाइलाइसिस सेवा विस्तार गर्ने जस्ता समझदारी भएको जानकारी दिए ।
पछिल्लो समय स्वास्थ्य सेवामा अब्बल बन्दै गएको कर्णालीको स्वास्थ्य धरोहर प्रदेश अस्पतालले थप सफलता प्राप्त गरेको छ । उक्त सम्झौतपछि कर्णालीमा पहिलो पटक प्रदेश अस्पतालले अङ्ग प्रत्यारोपण सेवा सुर्खेतबाटै दिने भएको हो । यो सँगै मिर्गौला रोगीले उपचार गर्न जिल्ला बाहिर धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको हो । २०७४ सालबाट डाइलाइसिस सेवा विस्तार गरेको प्रदेश अस्पतालले १२० जनालाई सेवा दिइसकेको जनाएको छ ।
उक्त समझदारी अन्तरगत प्रदेश अस्पतालमा कार्यक्रमहरूको लागि चाहिँने जनशक्ति र उनिहरूलाई तालिम, अध्यापन जस्ता कुराहरू शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले व्यवस्थापन गर्ने, मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन कार्य योजना प्रस्तुत गर्ने सहमति समेत भएको छ ।
यस्तै, प्रदेश अस्पताल, सुर्खेत अन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मिर्गौला प्रत्यारोपण फेलोशिप, एमसिएच युरोलोजी, डिएम नेफ्रोलोजी, नर्सिंङ्ग विषयको स्नातक तथा स्नात्तोकोत्तर तह लगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक गृहकार्य गर्ने समेत सहझदारी भएको प्रदेश असपताल निर्देशक प्राडा. खड्काले बताए ।
हालै विश्वलाई आक्रान्त पारेको कोरोना भाईरसको प्रकोपलाई नियन्त्रणमा ल्याउन ठूलो चुनौति हुनुका साथै नसर्ने रोगहरू पनि देशको स्वास्थ्य क्षेत्रमा गम्भीर समस्याको रुपमा स्थापित भैसकेकोले यो समझदारी गरेको प्रदेश अस्पतालले जनाएको छ । नेपालको करीव ७० प्रतिशत मृत्युको कारण नसर्ने रोग हो, जस्मा मधुमेह र उच्च रक्तचापको कारणले हुने मृत्यु र मिर्गौला रोगको साथै क्यान्सर र विभिन्न दुर्घटनाबाट हुने चोटपटक पर्ने जनाइएको छ । देशमा वर्षेनी करिब तीन हजार जनाको मिर्र्गौला फेल र एक हजार जनाको कलेजो फेल हुने गर्दछ ।
कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमा शुरू भए पनि आवश्यक्ता भन्दा कम संख्यामा प्रत्यारोपण सेवा उपलब्ध भएको र मिर्गौला फेलको प्रत्यारोपण नहुँदासम्म डायलाइसिस सेवाबाट बञ्चित भएको भन्दै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुरले प्रत्यारोपण सेवाको थप विस्तार गरेको छ ।
साथै धर्मभक्त प्रत्यारोपन केन्द्रले देशका सातवटै प्रदेशमा अङ्ग प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने उदेश्यका साथ बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कर्णाली प्रदेश अन्तर्गत प्रदेश अस्पताल, वीरेन्द्रनगर सुर्खेतबीच निरन्तर सहकार्य गर्न प्रतिवद्धसहित समझदारी गरेको जनाएको छ ।