पूर्वसूचनाविनै विद्युत् बन्द गर्दा थप क्षति भएको पूर्वका उद्योगीको गुनासो
विराटनगर । नेपाल विद्युत प्राधिकरणको गतिविधिप्रति प्रदेश १ का उद्योगी व्यवसायीले आशंका व्यक्त गरेका छन् । गत मंगलबारदेखि ३ दिनसम्म भारतबाट आयातित विद्युत आपूर्ति अप्रत्यासित रुपमा बन्द भएको जनाई प्राधिकरणले उद्योगहरुमा विद्युत आपूर्ति ठप्प पारिदिनाले उद्योग कलकारखाना बन्द गर्नु परेको उनीहरुले गुनासाे गरेका छन् । र, यसले प्राधिकरणकाे कामकारवाहीप्रति शंका जन्माएकाे उनीहरूकाे भनाइ छ ।
शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै उद्योग परिसंघ, उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले विगत लामो समय देखि तरलताको चरम अभाव, परिवर्तित बैंकिङ नीति, बढ्दो ब्याजदरले प्रभावित भइरहेको उद्योग व्यवसाय क्षेत्र, पूर्वसूचना विनानै अचानक विद्युत अवरुद्धहुदा थप प्रताडित भएको उल्लेख गरेका छन् ।
‘पछिल्लो समयमा प्रायः दैनिक जसो सरकार तथा सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीहरुबाट नेपालमा प्रसस्त विद्युत उत्पादन भइरहेको र उद्योग व्यवसायको माग बमोजिम विद्युत आपूर्ति हुन्छ भन्ने आश्वासन दिई लगानी बढाउन प्रेरित गरिएको थियो,विज्ञप्तीमा भनिएको छ, सोहि आश्वासन बमोजिम नीजि क्षेत्रले पछिल्लो दिनमा औद्योगिक गतिविधि एवं लगानी बढाउदै लगेको अबस्थामा प्राधिकरणबाट भएको तिबिधिले केही सशंकित बनाएको छ।’
‘हिजोसम्म मागे जति विद्युत दिन्छौँ, हामी विद्युत निर्यात गर्ने अवस्था पुग्यौँ भन्ने तर आज भारतबाट एकदिन विद्युत आपूर्ति अवरुद्धहुदा सबै औद्योगिक क्षेत्र ठप्प पार्नुपर्ने अवस्थाले हाम्रो उर्जाको वास्तविक क्षमता उजागर गरेको छ,’ उद्योगी व्यसायीको गुनासो छ ।
सबै सम्बद्ध पक्ष जिम्मेवार भई तत्कालको उर्जा संकट समाधान गर्दैै उर्जामा आत्मनिर्भर हुने गरी उत्पादन, पूर्वाधार तथा वितरण प्रणालीको चुस्त व्यवस्थापन गर्न सरकार तथा जिम्मेवार निकायलाई उनीहरुले अपिल गरेका छन् ।
उद्योग परिसंघका प्रदेश १ अध्यक्ष भिम घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष सुयेशराज प्याकुरेल र मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजाले संयुक्त जारी गरेको बिज्ञप्तिमा औद्योगिक क्षेत्रमा उर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिवद्धता प्राधिकरणबाट व्यक्त हुनुले भने केही आशा गर्ने ठाउँ रहेको बताइएको छ । निजी क्षेत्रको मनोवल उच्च बनाएको उल्लेख गरिएको छ । संकटपूर्ण अवस्थामा प्राधिकरणबाट निजी क्षेत्रलाई ढाडस दिने काम भएको उनीहरुको भनाइ छ।
साथै वर्तमान चूनौतीपूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धित निकायले जिम्मेवारी एवं जवाफदेहिता बहन गर्दै विद्युत आपूर्ति अवरुद्ध भई उद्योग व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रले व्यहोर्नुपर्ने क्षतिलाई मध्यनजर गर्दै हाल देखिएको उर्जा संकट समाधान गरी उद्योगमा निरन्तर विद्युत आपूर्तिको व्यवस्था गर्न संगठनले माग गरेको छ ।