पीएनजीले दिएको झट्का र नेपालको एकदिवसीय अभियान
काठमाडौँ । नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी (पीएनजी)सँग दुई खेलको एकदिवसीय सिरिज २-० ले गुमायाे । जसले नेपाली क्रिकेटको एकदिवसीय यात्रा बारेको बहस सतहमा ल्याइदिएको छ । त्यसअघि महत्त्वपूर्ण प्रतियोगिताका खेलका रूपमा रहेको विश्वकप छनोट लिग टू’ मा नेपालको प्रदर्शनको बहस सेलाउन नपाउँदै घरेलु मैदानमा ब्यहोरेको क्लिनस्विप हारले स्वभाविक रूपमा प्रश्नहरू उठाएको छ नै ।
भइदियो कस्तो भने, लिग टूका दुबै खेलमा हार ब्यहोरेपछि नेपाली क्रिकेट यूएईभन्दा पछि परेको विश्लेषण भइरहेका बेला नेपाल आफूभन्दा पछि रहेको ठानिएको टिम पीएनजीसँग दुबै खेलमा हार्न पुग्यो, त्यो पनि घरेलु भूमिमा । जसले गर्दा प्रश्न उठेको छ ‘के नेपाल पीएनजीभन्दा पनि पछि पर्दै त छैन ?’
लिग टू मा पीएनजीमाथि दुई जित निकाल्दै अंक तालिका सुधार गरेपनि नेपालले युएईसँग चार अंक गुमाएको थियो । एकदिवसीय विश्वकपको लक्ष्यमा रहेको नेपालको प्रदर्शनले खुशी कम निराश बढी बनाउँछ ।
स्वाभाविक रूपमा युएईका चार खेल र नेपालमा भएका दुई खेलले छोटो समयमानै नेपाली टीमले धेरै एकदिवसीय खेलको अवसर त पायो, तर प्रश्न ‘एक्सपोज’ भन्दापनि एकदिवसीय खेलप्रति नेपालको प्रदर्शन मुख्य हो किनकि हाम्रा सामू एकदिवसीय मान्यतालाई टिकाइराख्ने चुनाैती पनि छ । नेपाल क्रिकेट संघ क्यानले यो पटक टी-ट्वेन्टी विश्वकपलाई ध्यानमा राख्दै वर्षको एउटा भएपनि हुने एकदिवसीय प्रतियोगिता पनि टी-ट्वेन्टीमा नै बदलेको हो । घरेलु प्रतियोगिता शून्य भएको देशमा अन्तर्राष्ट्रिय उपलब्धिको आशा आफैमा कति जायज होला ?
एकदिवसीय मान्यतापछिको अपेक्षा
सन् २०१८ मा जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकप छनोटपछि पपुवा न्युगिनिलाई हराउँदै १८ मार्चमा नेपाल एकदिवसीय मान्यता प्राप्त देश बनेको हो । त्यसपछि हाम्रा अपेक्षाहरू एक्कासि माथि उक्लिए । एक हिसाबले यो ठूलो उपलब्धि थियो पनि । तर, यो उपलब्धि पछि हामीले एकदिवसीयमा कति गुणात्मक सुधार गर्न सकियो त ? भन्ने कुरा महत्वपूर्ण हो र हुनुपर्छ पनि ।
एकदिवसीय मान्यता पाइसक्दा हामीले टेस्ट राष्ट्रको सपना देख्न थालेका थियौँ तर, हामीले एकदिवसीय मान्यतालाई जोगाउन कति प्रयास गर्यौँ । त्यो महत्वपूर्ण प्रश्न हो । कोरोनाको कारण देखाउँदै नेपालले अब २०२३ सम्म एकदिवसीयको मान्यता नेपालले पाएको छ । अब हामीलाई एकदिवसीय मान्यताका लागि धेरै भन्दा धेरै खेल र जित आवश्यक छ । यस्तो बेलामा पीएनजीसँग भर्खरै काठमाडाैँमा गरेको जस्तो प्रदर्शनले खुशी बनाउने ठाउँ छैन ।
एकदिवसीय खेलमा २०१८ को अगस्ट १ मा नेदरल्यान्डसँग खेलेयता नेपालले शनिबारको पीएनजीसँगको खेलसम्म आइपुग्दा नेपालले कुल २२ एकदिवसीय खेल खेलेको छ । जसमा नेपालले ११ खेलमा जित र ११ वटैमा पराजय ब्यहोरेको छ । पछिल्लो पाँच वर्षलाई आधार मान्दा नेपालले छोटो अवधिमानै २०२२ मा सर्वाधिक खेल खेलेको छ र धेरै हार पनि २०२२ मानै भोगेको छ । सुरुवाती तीन महिना भित्रै नेपालले ६ खेल खेल्दा यो वर्ष नेपालको एकदिवसीय इतिहासको सर्वाधिक स्वर्णिम वर्षका रूपमा रहने पक्का छ।
एकदिवसीय खेलमा नेपाल
२०१८ : १ जित २ हार
२०१९ : २ जित १ हार
२०२० : २ जित २ हार
२०२१ : ४ जित २ हार
२०२२ : २ जित ४ हार (जारी)
यो बिचमा नेपालले धेरै कीर्तीमानहरु बनाएको छ। त्यसो त स्वाभाविक रूपमा एकदिवसीय राष्ट्रको मान्यता पाएयता जति धेरै खेल खेल्यो त्यति राम्रा र धेरै कीर्तिमान बन्ने हुन्छन् । यो बीचमा नेपालका तीन खेलाडीले शतक प्रहार गर्दा कप्तान सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीका रूपमा रहेका छन् ।
अबको यात्रा
नेपालले आफूभन्दा कमजोर प्रतिद्वन्द्वी मान्दै आएका टीमहरु नै अहिले नेपाललाई टक्कर दिन सक्ने हैसियत बनाइसकेकाले स्वाभाविक रूपमा नेपालको एकदिवसीय यात्रा सहज छैन । घरेलु मैदानमानै पीएनजीले छोडेको छाप भनेकै त्यही हो । यसले नेपाली क्रिकेटलाई पक्कै झट्का दिएको छ । भलै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च स्कोर बनाएको वा लक्ष्य पछ्याएको छ । तर, अपेक्षित रन नबन्नु, टिममा गरिएका केही प्रयोगमात्र सन्तोषजनक रहनु, कमजोर ओपनिङ र सुस्त मध्यक्रमको समस्या देखिनु लगायत मूख्य चुनौतीका रूपमा रहेको छ ।
समग्रमा अबका दिनमा नेपालले धेरै खेलहरू खेल्नुपर्ने छ । यस्तोमा नेपाली ब्याटिङ लाइनअप सुधार्दै बढी भन्दा बढी एकदिवसीय खेलमा अभ्यासलाई निरन्तरता दिँदै अघि बढ्ने चुनौती नेपाल सामु रहेको छ । यसका लागि नेपालले कति यस्ता अवसरहरु सिर्जना गर्न सक्छ र घरेलु क्रिकेटमा पनि एकदिवसीय फर्म्याटलाई कति प्राथमिकता दिन्छ भन्ने कुराले टिमको भावी प्रदर्शन तय गर्नेछ ।
यो पनि : पीएनजीसँग नेपाल फेरि पराजित