सशस्त्र द्वन्द्वमा विस्थापित बिच्छ्याँको प्रहरी चौकी २२ वर्षपछि पुनर्स्थापना
बाजुरा । सशस्त्र द्वन्द्वमा विस्थापित बाजुराको दुर्गम हिमाली गाउँपालिका–१ बिच्छयाँस्थित प्रहरी चौकी २२ वर्षपछि पुनर्स्थापित भएको छ । साबिक बिच्छयाँ गाविस-४ मा रहेको चौकी माओवादी द्वन्द्वका बेला ०५५ साल वैशाख २७ गते विस्थापित भएको थियो । आइतबार त्यहाँ प्रहरी चौकी पुनर्स्थापित गरिएको हो ।
बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चतुर्भुज ओझालगायतले चौकी पुनर्स्थापित गरेका हुन् । सो अवसरमा स्थानीय जनप्रतिनिधि र नागरिक समाजलगायतको उपस्थिति रहेको थियो । नेविसंघ बाजुरा-काठमाडौँ सम्पर्क समितिका सचिव थुमराज उपाध्यायकाअनुसार बाजुराको निकै विकटमा पर्ने बिच्छयाँमा प्रहरी चौकी नहुँदा स्थानीय समस्यामा पर्दै आएका थिए ।
सो क्षेत्रमा कस्तुरी मृग, डाँफे र ओतको अवैध सिकार हुने गरेको गुनासो थियो । ‘प्रहरी सेवा लिनका लागि पनि वडा नं। १,२ र ३ का बासिन्दाले ४ दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो,’ डिएसपी ओझाले भने, ‘अब स्थानीयलाई सेवा लिन र हामीलाई उक्त क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न सजिलो भएको छ ।’
यसअघि पनि प्रहरीको जिल्ला नेतृत्वले बिच्छयाँमा चौकी स्थापनाको पहल गरेको थियो । तर, जडीबुटी तस्करीमा संलग्नहरूले प्रहरी आएमा छोरी, चेलीहरू असुरक्षित हुन्छन् भनेर स्थानीयलाई उचालेपछि पुनर्स्थापना सम्भव भएको थिइन । ‘दुर्गम ठाउँ पनि भयो, त्यहाँ सिजन हेरेर जानुपर्छ,’ डिएसपी ओझाले भने, ‘सायद त्यसैले सक्रियता कम भयो होला । ढिलै भएपनि चौकी पुनर्स्थापना भएको छ, यसले हामीलाई शान्तिसुरक्षा कायम गर्न मद्दत पुग्छ ।’