लेटाङ घटना : २० जना पक्राउ, १६ जनाको अदालतमा म्याद थप
विराटनगर । मोरङको लेटाङमा महिला प्रहरीको ज्यान जानेगरी भएको घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्न थालेको छ । लेटाङ नगरपालिका वडा नम्बर ५ मा रहेको शिक्षा विकास माविमा पढाउने शिक्षक मनोज पौडेलले सोही विद्यालयमा कक्षा ७ मा पढ्ने बालिकालाई यौन दुर्व्यवहार गरेको घटनामा स्थानीयको सुरक्षामा पुगेका प्रहरी जवानको छुरा प्रहार गरी हत्या भएको थियो । महिला प्रहरीको हत्या आरोपमा प्रहरीले २० जनामाथि अनुसन्धान थालेको जनाएको छ ।
१६ जनालाई जिल्ला अदालत मोरङबाट दुई दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ। विभिन्न समयमा पक्राउ परेका १६ जनालाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिइएकाे जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘आइतबार नै १६ जनाको २ दिनको लागि म्याद थप भएको र ४ जनाको नाममा जरुरी पक्राउ पुर्जिको लागि अनुमति दिइएकाे छ,’ अधिकारी बुढाथोकीले भने, ‘पीडित पक्षले २० जनामाथि नै जाहेरी दिएका छन् ।’
पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएकाे जिल्ला अदालत मोरङले जनाएको छ । गत चैत ६ गते मोरङको लेटाङ स्थानीयको आक्रमणमा रानी गणमा कार्यरत प्रहरी जवान २६ वर्षिय उर्मिला श्रेष्ठको ज्यान गएको थियो । घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबी, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी मोरङको टोली घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।
प्रहरीले अनुसन्धानको क्रममा धेरैजनालाई सोध्दै छाड्दै गरेको छ भने संलग्न रहेकाहरूलाई थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । प्रदेश १ प्रहरी कार्यालयले घटनाको बारेमा छानबिन गर्न एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेर छानबिन गरिरहेको छ ।