सङ्घीयतापछि विकासमा फड्को मार्दै वीरेन्द्रनगर
चार वर्षमा ३६८३ मिटर सडक कालोपत्रे
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरले पछिल्लो समय मुहार फेरिकाे छ । सङ्घीयता कार्यान्वयनपछि कर्णालीमा बनेको सरकारले बनाएका सडक फराकिला देखिन थालेका छन् भने विभिन्न संरचना निर्माण हुँदा वीरेन्द्रनगरले बितेकाे चार वर्षमा विकासका हिसाबले फड्को मारेको छ ।
विगतमा थोरै बजेट पाउने वीरेन्द्रनगरलाई सडकका खाल्डा पुर्नुसमेत पुग्दैन थियो । तर, अहिले फराकिला बाटाहरू भएपछि बाटो निर्माणमा हुने खर्च नगरपालिकाले अन्यत्र लगाउन पाएको हो । सडकहरूमा आँखा अस्पताल–टेलिकम–खारखोली रोड, गुरुङ चोक–मुख्यमन्त्री निवास सडक, टेलिकम–प्रदेश सभा हलउत्तरतर्फ, शिवालय–प्रदेश प्रहरी–गुरुङचोक सडक कालोपत्रे भइसकेको छ । यसका लागि श्याम एण्ड शंकर कन्स्ट्रक्सन प्रालि सुर्खेतले ७ करोड २५ लाखमा २०७६ पुस १६ गते ठेक्का सम्झौता गरेको थियो ।
कम्पनीले प्याकेज–३ अन्तर्गत सुर्खेत बसपार्क–हटियाचोक–घण्टाघर–अख्तियारचोक, शिवालयचोक–इत्राम स्कूल–टेलिकम सडक कालोपत्रे गर्न ९ करोड ९२ लाखमा ठेक्का लिएको थियो । यी सडक पनि कालोपत्रे भइसकेका छन् । राधेश्याम मन्दिर सडक ४०० मिटर, बस्तीपुर ढकालचोक ५०० मिटर, पिपिरा गाग्रेताल बस्तीपुर २०० मिटर, वडा नं. ८ कार्यालय अगाडि ८१० मिटर, प्रदेश अस्पताल जाने सडक १ हजार २७३ मिटर, धुलियाविट चिंगाड जाने सडक ५०० मिटर पनि कालोपत्रे भइसकेको छ । यति मात्रै होइन, सङ्घीयता कार्यान्वयन भइसकेपछि सिटी हल निर्माण पूरा भइसकेको छ भने सीटी बसपार्क सञ्चालनमा आइसकेको छ ।
प्रदेश तथा नगरपालिकाको सहकार्यमा बुलबुले उद्यानको विस्तार भइसकेको छ भने काँक्रेविहारको घेरवार समेत करिब सम्पन्न भइसकेको छ । पर्यटकीय क्षेत्रमा रहेका संरचना निर्माणका कामहरु तीव्र रूपमा भइरहेका नगरपालिकाले जनाएको छ ।
यस्तै, कर्णाली प्रदेश सरकारले कोरोना जाँचको व्यवस्था कर्णालीमा नभएको समयमा पनि प्रदेश अस्पताल, दैलेख अस्पताल, रुकुम चौरजहारी अस्पताललगायतका अस्पतालमा पर्याप्त लगानी गरेको थियो । पीसीआर मेसिन ल्याउने र पीसीआर जाँच गर्न सरकार सफल भएको हो ।
प्रदेश सरकारले केहि गर्न सकेन भन्नेहरूलाई सुर्खेतका बाटा र संरचनाले जवाफ दिन शुरू गरिसकेका छन् । ‘विकास नभएको होइन तर अपेक्षित विकास गर्न प्रदेश सरकार सफल नभएको हो,’ पूर्वमन्त्री एवम सांसद दीनबन्धु श्रेष्ठ भन्छन्, ‘सरकारले गरेका राम्रा कामहरुको प्रचार–प्रसारमा कमी हुँदा पनि यस्तो भएको हो ।’ उनले वीरेन्द्रनगरका सडक फराकिला हुनु, अस्पताल, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पर्याप्त परिवर्तन हुनु पनि सरकारको सफलता भएको दाबी गरे ।
यता, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुरूमा काम गर्न चुनौती भएको बताए । ‘हामीसँग कार्यालय थिएनन् । जनशक्ति थिएन । म मुख्यमन्त्री भएर निवासमा जाँदा स्वागत गर्ने एक जना कार्यालय सहयोगी मात्रै थिए । अहिले त्यस्तो समस्या नै छैन ।’ उनी भन्छन्, ‘समस्याका बावजुद पनि हामीले साढे चार वर्षमा उल्लेख्यनीय काम गरेका छौं । हामीले गरेको कामलाई काम नदेख्नेलाई त हामी के नै भन्न सक्छौं र ?’