चुनावकाे मुखमा दल बदल्नेकाे मनाेविज्ञान

काठमाडौँ । पछिल्ला दिनहरूमा ‘दल परिवर्तन’ गर्ने नेता/कार्यकर्ताहरूकाे लर्काे देखिन्छ । स्थानीय निर्वाचन नजिकिएसँगै ‘राजनीतिक अवसर’ खोज्दै एउटा दलबाट अर्को दलमा प्रवेश गर्नेहरूकाे सङ्ख्या ह्वात्तै बढेको छ । दलहरूले पनि ‘पार्टी प्रवेश’ को अभियान नै सञ्चालन गरेका छन् भने शीर्ष नेताहरू जिल्लाकेन्द्रित भएका छन् । अर्को दललाई सक्दो राजनीतिक क्षति पुर्‍याउने लक्ष्यसहित पार्टी प्रवेशको कार्यक्रमलाई तीव्रता दिएका दलहरू यसलाई ठूला सफलताका रूपमा पनि अर्थ्याइरहेका छन् ।

बहुदल आएसँगै शुरू भएको चुनावका मुखमा दल परिवर्तन गर्ने क्रम झन्‌झन्‌ फस्टाउँदाे छ । दलहरूबीच राजनीतिक सिद्धान्त वा विचारभन्दा चुनाव जित्ने एकमात्र ध्याउन्न रहने गरेको छ दल परिवर्तनको । राजनीतिक सिद्धान्तको ‘लिक’भन्दा बाहिर रहेका दलहरू आफूलाई जोसँग मिल्दा फाइदा हुन्छ, त्यसैसँग मिल्ने गरिको गठबन्धनको फेरो समाउन तयार भएको हामीले देखिआएकै हो । कांग्रेस र माओवादी केन्द्र वा जनमोर्चा होस् वा एमाले र राप्रपाबीचकै तालमेल किन नहोस् ?

दल परिवर्तन गर्नेहरूको मनोविज्ञान

लामो समय संलग्न रहेको दल परित्याग गरेर अन्य पार्टीमा प्रवेश गर्नेहरूकाे मनोविज्ञान हेर्दा चुनाव जित्ने, शक्तिमा पुग्ने, वा लाभ लिने भन्ने ध्याउन्न नै मुख्य देखिन्छ । आफ्नो दल परित्याग गरी अर्को दलमा प्रवेश गर्नेहरूले ‘व्यक्तिगत स्वार्थ’ मात्रै हेर्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् । ‘झनै चुनावको पूर्वसन्ध्यामा दल परिवर्तन गर्नेहरू त चरम् अवसरवादी हुन्,’ आचार्यको विश्लेषण छ, ‘उनीहरूलाई कहिले पद प्राप्त गरुँ भन्ने मात्रै हुन्छ ।’

पहिचान र आस्थाको राजनीतिको युग सकिसकेको उनको भनाइ छ । ‘आस्था र पहिचानको राजनीति त इतिहासमा थियो,’ उनले भने, ‘अहिले त कहीँ पनि छैन । यसको युग सकिएको जस्तो लाग्छ ।’

नेताहरू अवसरवादी बन्नूमा ‘बजारवादी अर्थव्यवस्था’ कारक रहेको आचार्यको भनाइ छ । ‘अहिलेको समाजमा नेता मात्रै नभएर जोकोहीले पनि आफूलाई बजारमुखी बनाइरहेका छन्, फेरि समय नै पनि उस्तै छ । यसो हुँदा मान्छे बढी लोभी, स्वार्थी, अवसरवादी र पदलोलुप बनिरहेका छन्,’ विश्लेषक आचार्यले भनेका छन्, ‘अब यसबाट नेताहरूले पनि आफूलाई अलग ल्याउन सकेनन् । छुट्टै बनाउन सकेनन् । फलतः उनीहरू यस्तो मौकामुखी बनिरहेका छन् ।’

अर्का राजनीतिक विश्लेषक हरि रोका चुनावको मुखमा पार्टी परित्याग गर्नु र अर्को पार्टीमा समाहित हुनु ‘विचारहीनता’ भएको बताउँछन् । नेपालका सबै दल र सबै नेताहरू अवसरमुखी भएको विश्लेषक रोकाको भनाइ छ । ‘नेपालमा कुनै दल र कुनै पनि पनि नेताहरूमा म जनभावना देख्दिनँ,’ उनले भने, ‘सबै सबैमा विचारहीनता, सिद्धान्तहीनता मात्रै देखिन्छ । उनीहरूका लागि कार्यक्रम के हो ? राजनीति के हो ? जनसेवा के हो भएजस्तो भएको छ अहिले ।’

चुनावको पूर्वसन्ध्यामा आफ्नो दल त्यागेर फरक दलमा समाहित हुनुलाई ‘चरम अवसरवाद’ भएको रोका बताउँछन् । ‘झनै चुनावकै मुखमा आफ्नो दल त्याग्ने र अन्य ठूला वा आशलाग्दा दलमा जानु भनेको त कलङ्कै हो । त्यस्ता नेताहरू सत्ताका भोका हुन् । उनीहरू खासमा नेतै होइन’ उनले भने ।

नेताहरू के कारणले अवसरवादी र मौकामुखी भए ? भन्ने मकालुखबरको जिज्ञासामा विश्लेषक रोकाले भने— ‘नेताहरूमा पहिले त यो पार्टीमा लागेपछि के हुन्छ अथवा कहाँ पुगिन्छ भन्ने नै थाहा छैन । उनीहरूलाई हचुवाको भरमा पार्टीमा प्रवेश गर्ने, छाड्ने गर्छन् । हुन त हाम्रो राजनीतिक स्कूलीङ् पनि उस्तै छ । समग्रमा प्रणाली नै बढी अवसरवादी भयो । यही राजनीतिक स्कूलीङ्बाट उत्पादित नेताहरू त फरक खाले हुने कुरै भएन । यसले उनीहरूलाई यस्तो बनाउँछ । उनीहरूले फरक तरिकाले सोच्नै सक्दैनन् ।’

नेताहरूमा ‘सिद्धान्तनिष्ठता’ कति पनि नभएको विश्लेषक रोकाको भनाइ छ । ‘अहिले नेताहरूलाई, सिद्धान्त भनेको त के हो के हो जस्तो भएको छ’ उनले भने, ‘उनीहरू संविधानलाई समेत आफ्नोअनुकूल संशोधन गर्न सक्छन् । समस्या यहीँनेर छ । सिद्धान्तनिष्ठ बन्न सक्दैनन् ।’ सिद्धान्तको राजनीति अब देख्न पनि पाइँदैन होला भन्ने चिन्ता बढेको उनले बताए ।

राजनीतिशास्त्र भन्दा पनि नीजि ‘लाभशास्त्र’ हावी

चुनावको मुखमा पार्टी परित्याग गरेर अन्य पार्टीमा समाहित हुने प्रवृत्तिबारे राजनीतिशास्त्रले केही नबताउने राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल भन्छन्, ‘यसमा शास्त्रले केही भन्दैन । यसलाई विशुद्ध व्यक्तिगत स्वार्थका लागि गरिने काम हुन् भनेर लेखिदिनुस्’ उनले भने ।

अहिलेका पार्टी प्रवेश ‘आयाराम, गयाराम’ जस्तै भएको उनको टिप्पणी छ । ‘यसको कुनै पनि अर्थ छैन । न यसले पार्टीलाई फाइदा पुग्छ, न देशलाई नै । यो नेताहरूले फुर्सदमा खेल्ने खेल हो,’ बरालले तीतो पोखे ।

नेपालमा ९९ प्रतिशत नेताहरूमा व्यक्तिगत स्वार्थ हाबी भएको बरालको आरोप छ । ‘यो भनेको चरम् राजनीतिक सिद्धान्तको विचलन हो,’ उनले भने, ‘नेपालका ९९ प्रतिशत नेताहरूमा व्यक्तिगत स्वार्थ भेटिन्छ । यो घटनाक्रमहरूले पुष्टि गर्दै ल्याएका पनि छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *