मुअब्जा वितरण गरेर विराटनगर बिमानस्थल बिस्तार गर्न सकिन्न : मन्त्री आले
विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयेन मन्त्री प्रेमबहादुर आलेले विराटनगर बिमानस्थललाई बिस्तार गर्न अनिच्छा देखाएका छन् । बिराट ट्रेड एक्स्पोलाई सम्बोधन गर्ने क्रममा उनले बिमानस्थल विस्तार गर्न अनिच्छा देखाएका हुन् ।
उनले बिराटनगर बिस्तारको क्रममा लाग्ने मुआब्जा वितरण गरेर बिमानस्थल बिस्तार गर्न नसकिने बताएका हुन् । उनले बिमानस्थल बिस्तारको क्रममा लाग्ने मुअब्जा दिन नसक्ने बताए । कार्यक्रम स्तलमै बिराटनगर बिमानस्थलको टर्मिनल भवनको लागि भएको टेण्डरनै रोक्का गरेको बारेमा बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले प्रश्न गर्दा उनी आक्रोशित भएका थिए ।
पराजुलीले बिमानस्थल बिस्तार र मुअब्जाको बारेमा जवाफ दिन मन्त्रीलाई सुझाएका थिए । मन्त्री आलेले १८ अर्ब खर्चेर जग्गाको मुअब्जा दिन नसकिने बताए । उनले विमानस्थललाई जग्गा खोजेर स्थान्तरण गर्न सकिने संकेत गरे । मन्त्री आलेको निर्देशनमा बिमानस्थल बिस्तारको लागि पहिलो चरणमा आएको टर्मिनल भवनको टेण्डरको बोलपत्र नै रोकेको आरोप लाग्दै आएको छ।
कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीहरुले विराटनगर विमानस्थलको अवस्था सुधारको माग गरेका थिए । मन्त्री आलेले आगामी बजेटबाट माग सम्बोधन हुने वचन दिए । मोरङ व्यापार संघले आयोजना गरेको रमपम ट्रेड एक्स्पोको उद्घाटन मन्त्री आले बिराटनगर आएका हुन् ।
आजबाट सुरु भएको एक्स्पो चैत २६ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा ४५ करोडको कारोबार हुने आयोजकको अनुमान छ। एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल रहेको आयोजकले जनाएको छ।