कर्णालीमा पाँच दलीय गठबन्धनको पहिलो बैठक, चुनाव केन्द्रीत छलफल

सुर्खेत । कर्णाली प्रदेशका पाँच दलीय गठबन्धन संयन्त्रको पहिलो बैठकले स्थानीय चुनाव कन्द्रीत रहेर छलफल गरेको छ । शुक्रबार नेपाली कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीको अध्यक्षतामा कांग्रेस पार्टी कार्यालयमा बसेको बैठकले स्थानीय निर्वाचन सम्बन्धि छलफल गरेको हो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटीकी अध्यक्ष विमला केसी, नेकपा (एकीकृत समाजवादी) का प्रदेश अध्यक्ष अमरबहादुर थापा, राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर शाही, जनता समाजवादीका देवीकृष्ण न्यौपाने सहभागी भएका थिए ।

पहिलो बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत भएर अगाडी बढ्ने लगायतका विषयमा छलफल गरेको छ । यस्तै, पाँच दलीय बैठकले प्रदेश भित्रका १० वटै जिल्लाको ०७४ सालको स्थानीय तहको निर्वाचनमा आएको मत परिणामको र हाल गठबन्धनमा रहेका दलको यथार्थ वस्तुस्थितिका बारेमा रिपोर्टिङ समेत भएको जनाएको छ । साथै अर्को पटक बस्ने बैठकले गठबन्धनभित्र रहेका दलहरूको अवस्था के-कस्तो छ, निर्वाचनमा कसरी जाने लगायतका विषयमा रहेर छलफल गर्ने निर्णय भएको छ ।

यस्तै, नेपाली कांग्रेसले औपचारिक रुपमा गठबन्धनको विषयमा टुङ्गो लगाएपछि कर्णालीमा पाँच दलीय गठबन्धन संयन्त्रको पहिलो बैठक बसेको हो । अब दोस्रो बैठक चैत २० गते अपरान्ह ३ बजे नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा बस्ने समेत निर्णय भएको कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *