धनगढीमा काँग्रेस वडा सभापतिको सुझाव- ‘गठबन्धन नगरौँ’

धनगढी । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले आफ्नो आन्तरिक तयारी तीव्र पारेका छन् । यसबीच सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि दलहरू आन्तरिक छलफलमा छन् । पार्टी केन्द्रले स्थानीय आवश्यकताका आधारमा गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति गरेपछि तल्लो तहदेखि दलहरू छलफलमा जुटेका हुन् ।

यसैक्रममा आइतबार धनगढी उपमहानगरपालिकामा पालिकास्तरीय छलफल भएको छ । नगरकमिटीको आयोजनामा भएको छलफलमा वडा सभापतिहरूले अन्य दलसँग चुनावी तालमेल नगर्ने सल्लाह दिएका छन् ।

काँग्रेसका धनगढी नगरकमिटी सचिव डण्डिराज सुवेदीले नगरपालिकाका सबै वडा सभापतिबाट चुनावी तालमेल नगर्न सुझाव आएको बताए । वडा सभापतिको गठबन्धन नगर्न सुझाव आएपनि नगरकमिटीले यस विषयका निर्णय भने नगरेको बताए । यसका लागि वडामा छलफल गरी त्यहाँको राय प्रस्तुत गर्न भनिएको उनले बताए ।

‘वडा सभापतिले गठबन्धन नगर्ने सुझाव दिएका छन्,’ सचिव सुवेदीले भने, ‘तर नगर कमिटीले वडाको अवस्था बुझेर राय प्रस्तुत गर्न निर्देशन गरेका छौँ । सोही रायलाई क्षेत्रीय समितिमा पटाउँछौँ ।’

गठबन्धनबारे वडा कमिटीको रायसहित काँग्रेसको विधान अनुसार वडाध्यक्षका लागि पाँच जनाको नाम पनि सिफारिस गर्न वडा सभापतिलाई निर्देशन दिइएको सचिव सुवेदीले बताए । उनका अनुसार वडालाई वडाका राय र वडाध्यक्षका लागि सिफारिस गरिएका पाँच जनाको नाम यही चैत्र २३ गते (बुधबार)सम्म नगरकमिटीमा पेश गर्न पत्राचार गरिएको छ ।

काँग्रेसको चुनावी प्रक्रिया अनुसार धनगढीका १९ वटै वडाबाट वडाध्यक्षको उम्मेदवारका लागि प्रदेश वडाबाट पाँच÷पाँच जनाको नाम सिफारिस गर्न भनिएको नगर कमिटी सुवेदीले बताए ।

वडाबाट सिफारिस गरिएकामध्येबाट क्षेत्रीय कमिटीले एक जनालाई वडाध्यक्षको उम्मेदवारका लागि टिकट दिनेछ । अहिले प्रदेश/वडाबाट नाम सिफारिस गर्न भनिएपनि गठबन्धन गरिने वडाबाट आएका नाम स्थगित हुनेछन् भने त्यहाँ गठबन्धन दलका व्यक्ति उम्मेदवार बन्ने काँग्रेस धनगढी नगरकमिटीले जनाएको छ ।

कैलालीमा काँग्रेसको तल्लो तहमा गठबन्धन गर्न नहुने आवाज उठिरहेको भएपनि पार्टी जिल्ला कार्यसमिति भने केन्द्रको निर्णय अनुसार गठबन्धन गर्ने तयारीमा छन् । काँग्रेस कैलालीका सभापति पनि धनगढीमा गठबन्धन दलबीच चुनावी तालमेल गर्ने पक्षमा छन् ।

यद्यपि काँग्रेस कैलालीले यस विषयमा आधिकारिक निर्णय गरिसकेको छैन । यस विषयमा आन्तरिक छलफल गर्न काँग्रेस कैलालीको बैठक मंगलबार बोलाइएको छ । गठबन्धनका विषयमा गठबन्धन दलबीच २३ गते बैठक बस्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *