कविता – भ्यु टावर
१.
बूढो एम्बुलेन्स
रोगी गाउँ बोकेर अस्पतालको गेट पुगेको छ ।
भित्र जाम छ भिआइपी साइरनहरूको ।
अस्पतालको अग्लो भवनको छतमा छन् प्रधानमन्त्री । जुवा खेलिरहेका ।
च्याँखे थापिरहेछन् ठेकेदारहरू । हरेकपल्ट प्रधानमन्त्रीतिरै खाल सारिरहेछन् ।
भर्खरै यहाँ
अस्पताल भत्काएर भ्यु टावर बनाउने निर्णयमा हस्ताक्षर भएको छ ।
हस्ताक्षरमाथि म्याग्निफायर ग्लास राखेर जाँच्दै छन् चिकित्सक । नाफा–नोक्सानको हिसाब बुझाउनु छ ठकेदारलाई ।
२.
फुरुङ् फुरुङ् उड्यो चरी । बस्यो सहरको दुर्लभ बाँसझ्याङको एउटा बाँसमा । खेल्यो सइसइला ।
हल्लायो जीवनलाई । बेस्सरी हल्लायो ।
बाँस जति नुह्यो, उति उचालिन्छ आकाशतिर । चरीलाई आकाशतिर उचालिन मन पर्छ ।
तर, मन परेको छैन यो भ्यु टावर । यसले छेलिदिएको छ ठीकअगाडिका दृश्य ।
देखिँदैन टुँडिखेल ।
देखिँदैन मान्छेहरूको बस्ती ।
देखिँदैन अलि पर आकाशमा उडेका अरु चराहरू ।
देखिँदैन जमिन । माटो । घाम । र पानी ।
टा…ढा देखिने हरियाली पनि देखिँदैन ।
देखिँदैन हुँइकिएर आउने दुस्मन ।
आकाशबाट देखिने कुरा त सबै सबै छेलेको छ भ्युु टावरले । जमिनबाट के देख्दा हुन् मान्छेहरू ?
आँखामा पर्खाल लागेको छ ।
भ्यु टावर बनीकन
चरीलाई आफ्नो पखेंटा भाँचिएझैं भएको छ ।
भ्यु टावर त स्वतन्त्रताको दुस्मन रहेछ ।
३.
काठमाडौंबाट उड्दै आउँछ समृद्धि । खोसेर लैजान्छ लिम्बुवानी किपट ।
रातु नदीमा बग्दैबग्दै आउँछ विषालु सर्प । टोक्छ जनकपुरको पैताला ।
भारतबाट रेल चढी आउँछ भोक खाने सपना । किनेर लान्छ आफ्नै छोरी ।
बलात्कार हुन्छ मुक्तिनाथकै ढोकामा । आकाशमा घुम्छ पर्यटक चढेको हेलिकोप्टर ।
माघी मनाउँदा मनाउँदै गोली लाग्छ ।
देउडा नाच्दा–नाच्दै छाउपडी जानुपर्छ ।
कालिकोटको भिर । हुम्लाको भोकमरी ।
तामाङको ढाड । शेर्पाको पैताला ।
मधेसको इनार । पहाडको तमसुक ।
फेहरिस्त ला…मो छ । दुई सय ५० वर्षभन्दा लामो ।
के हेर्छौ महोदय तिम्रो भ्यु टावरबाट ?
वृद्धाश्रममा दुखिरहेको आफ्नै आमाको मन हेर्छौ ? त्यो देखिँदैन ।
इनारमा खसालेर बेपत्ता बनाइएकी बलात्कृत लालमतीको लास हेर्छौ ? त्यो पनि देखिँदैन ।
रून नसकेर घोसे मुन्टो लगाइरहेको उसको बाबुको अनुहार हेर्छौ ? त्यो पनि देखिँदैन ।
तुइन तान्दातान्दै चुँडिएका हात बोकेर
खोलाबीचमा भारीसँगै अड्किरहेको जीवनको रङ हेर्छौ ? त्यो पनि देखिँदैन ।
सडक खन्दाखन्दै सडकमै ओछ्याएको म्हेम्हेको करङ हेर्छौ ? त्यो पनि देखिँदैन ।
के हेर्छौ महोदय तिम्रो भ्यु टावरबाट ?
सुत । छतमै ओछ्यान लगाएर सुत ।
भ्यु टावरबाट देखिएला एक थान समृद्धिको सपना ।
सुत ।
४.
मन्दिर : एक भ्यु टावर–
पुराण, मनुस्मृति र रामायणका सिँढी टेकेर चढिरहेछ एक टुप्पीवाल । नजिकै पुगेर चढाउनु छ सूर्यलाई अर्घ ।
चर्च : एक भ्यु टावर–
पादरी पुग्छ टुप्पोमा र हेर्छ सबैभन्दा सुन्दर युवती । उसको कासोकबाट आइरहेछ कुनै युवतीको योनिबाट निस्किएको रगतको गन्ध ।
मस्जिद : एक भ्यु टावर–
मुल्लाह चढिरहेको छ सिँढी । पत्तो छैन आफैँलाई कि ऊ कहाँ पुग्दै छ ?
गुम्बा : एक भ्यु टावर–
मूर्तिको मोलमोलाइमा छ भिक्षु । बुद्धको व्यापार गर्दै छ ।
यो भ्यु टावरहरूको देशमा
बिक्री हुन्छ मस्तिष्क । मुटु । कलेजो । रगत । मिर्गाैला । हात । खुट्टा । सबै ।
ढुक्क नपर्नु ‘म बिक्री भएको छैन’ भनेर । तपाईं भ्यु टावरको ठीक मुनि हुनुहुन्छ ।
तपाईंको आसपास कुनै मन्दिर, चर्च, मस्जिद वा गुम्बा हुन सक्छ ।
त्यहाँ वेला–वेला आइरहन्छन् राष्ट्रपति । प्रधानमन्त्री । मन्त्री । सांसद । अर्थात् शासक ।
बल्ल चार वर्ष भएको छ ।
पाँचौं वर्ष आएर नमस्ते गर्नेछ । भोट माग्नेछ ।
तपाईं भोट हाल्नुहुन्छ ।
ऊ अस्पताल भत्काउँछ । भ्यु टावर बनाउँछ ।
५.
देश त…ल छ ।
मधेस त…ल छ ।
पहाड त…ल छ ।
हिमाल पनि त…ल छ । गरिबीको रेखाभन्दा त…ल ।
ऊ माथिमाथि उक्लिरहेछ । सबै दु:ख तलै छाडेर भ्यु टावर चढिरहेछ ।
ऊ
अर्थात् शासक
भ्यु टावर बनाइरहेछ ।
(कविता संग्रह ‘खुट्टामा श्रीपेच’बाट)