लिभरपुल र म्यानचेस्टर सिटी विजयी
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल र म्यानचेस्टर सिटीले जित हात पार्दै सुरुवाती अग्रता लिएका छन् । मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेनिफिकालाई ३-१ ले पराजित गर्दा अर्को खेलमा सिटीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गर्यो ।
एनफिल्डमा खेल नियन्त्रणमा राखेको लिभरपुलले बेनिफिकाको पोस्टमा आधादर्जन बढी प्रहार गरेपनि सीमित प्रहार मात्रै सफल भएको थियो । लिभरपुललाई सुरुवाती अग्रता दिलाउने क्रममा इब्रहिमा कोनाटेले पहिलो गोल गरेका थिए । उनले १७ औँ मिनेटमानै टोलीलाई अग्रता दिलाए । टीमका लागि दोस्रो गोल साडियो मानेले ३४ औँ मिनेटमा सम्भव बनाउँदै पहिलो हाफमा लिभरपुललाई २-० को अवस्थामा पुर्याए ।
पहिलो हाफमा सहज अग्रता बनाएको लिभरपुल विरुद्ध बेनिफिकाले दोस्रो हाफको ४९ औँ मिनेटमा गोल फर्काउँदै खेलमा फर्किएको थियो । डार्विन नुनेझले लिभरपुलविरुद्ध गोल गरेका थिए । तर अग्रता साँघुर्याउने प्रयास गरेपनि डियाजले ८७ औँ मिनेटमा लिभरपुलको अग्रता ३-१ मा पुर्याएसँगै लिभरपुलले पहिलो लेगमानै सेमिफाइनल सम्भावना बलियो बनायो ।
त्यस्तै मंगलबार रातिनै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिड विरुद्ध सामान्य अग्रता लिन सफल भयो। केविन डि ब्रुयनेले गरेको एकमात्र गोल पहिलो लेगमा सिटीलाई १-० ले अघि रहन पर्याप्त बनेको थियो ।
घरेलु मैदान सिटीले खेलमा एट्लेटिको विरुद्ध दबाब बढाएपनि पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । डियोगो सिमोनको एट्लेटिकोले आफ्नो बलियो डिफेन्स देखाएको थियो । उक्त डिफेन्स तोड्न सिटीले अन्तिम २० मिनेट बाँकी रहँदा सफलता हात पारेको थियो । अब यी दुईबिचको दोस्रो लेग १४ अप्रिलमा हुने छ ।