कांग्रेसले विराटनगरमा चुनावी तालमेल नगर्ने

विराटनगर । केन्द्रमा पाँच दलीय गठबन्धन गरेर जाने निर्णय भएपनि कतिपय स्थानीय तहहरूले गठबन्धन र तालमेल नमान्ने प्रतिक्रिया जनाउन थालेका छन् ।

नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको दवावका बिच चुनावी तालमेलमा जाने निर्णय गरेको केन्द्रीय गठबन्धनलाई पालिका स्तरबाट चुनौती बढ्न थालेको हो । नेपाली कांग्रेस विराटनगर महानगर समितिले निर्णय नै गरेर चुनावमा जान गठबन्धन आवश्यक नभएको निर्णय गरेको छ ।

बुधबार बसेको विराटनगर महानगर कमिटिको बैठकले विराटनगर महानगरपालिकाभित्र कुनै पनि दलसँग चुनावी गठबन्धन गर्नुपर्ने आवश्यकता कांग्रेसलाई नभएको निष्कर्ष निकालेको नगर सभापति दिपक चापागाईंले बताए ।

नगर सभापति चापागाईंको सभापतित्वमा बसेको बैठकले गठबन्धन अस्वीकार गरेर जाने निर्णय गरेको हो । बैठकमा विराटनगर महानगर समिति सहित महानगरपालिकाभित्रका १९ वटै वडा सभापतिसहितको बैठकले गठबन्धनलाई स्वीकार गरेर जान सक्ने अवस्था विराटनगरमा नभएको सभापति चापागाईंले बताए ।

‘हामीलाई अहिलेसम्म कुनै पनि आधिकारिक निर्णय पनि पार्टीबाट नआएको छैन’, उनले भने, ‘विराटनगरमा हामी आफैँ सक्षम रहेको अवस्थामा चुनावी तालमेलल गरेर जानु पर्छ भन्ने नभएकोले हामीले चुनावी गठबन्धन नमान्ने निर्णय गरेका हौँ ।’

विराटनगरमा चुनावी गठबन्धन नै नचाहिएको अबस्थामा कुनैपनि कार्यकर्तालाई र मतदातालाई कांग्रेस बाहेकको चुनाव चिन्हमा हाल्न आग्रह गर्न नसकिने निर्णय पनि गरेको चापागाईंले जानकारी दिए । नेपाली कांग्रेसले अहिले वडा तहबाट उम्मेदवारको नाम छनौटको लागि छलफलमा रहेको छ । कांग्रेसले आगामी वैशाख १ गतेसम्म सबै उम्मेदवारको नाम टुङ्गो लगाउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *