‘गुरू’ उपन्यास सार्वजनिक, कविता भन्छिन्- ‘लेख्दालेख्दै हाँस्नै बिर्सेछु’
काठमाडाैँ । कवि तथा साहित्यकार कविता राईकाे पहिलाे उपन्यास ‘गुरू’ सार्वजनिक भएकाे छ । काठमाडाैँकाे प्रज्ञा प्रतिष्ठान भवनमा बुधबार आयाेजित एक औपचारिक कार्यक्रममार्फत गुरू उपन्यास सार्वजनिक गरिएकाे हाे । गुरू साहित्यकार हरिप्रसाद सिलवाल, समालाेचक ज्ञानु अधिकारी, साहित्यकार नारद हाताम्छाली राई, राष्ट्रिय सभा सदस्य जयन्ती राई, प्राज्ञ शशी लुमुम्बुलगायतले लाेकार्पण गरेका हुन् ।
शिक्षण पेशामा रहेकी राईकाे ‘आमा र जून‘ कविता संग्रह (२०७५) प्रकाशित छ । प्रज्ञा प्रतिष्ठानद्वारा आयाेजित राष्ट्रिय कविता महाेत्सव- २०७८ मा समेत ‘देशकाे नक्सा‘ शीर्षकमा कविता लेखेर प्रथम स्थान हासिल गरेकी राईकाे आख्यानतर्फकाे भने याे पहिलाे कृति हाे । उनले दैवज्ञराज न्याैपाने स्मृति पुरस्कार- २०७६, नेपाल प्रज्ञा प्रतिष्ठान राष्ट्रिय कविता महाेत्सव पुरस्कार- २०७८, हतुवागढी शब्दघर सम्मान- २०७८, भाेजपुर प्रतिभा पुरस्कार- २०७८, नव प्रतिभा पुरस्कार- २०७८ लगायतका पुरस्कार तथा सम्मान पाइसकेकी छिन् ।
उपन्यास सार्वजनिकपछि राईले आफूले गुरू लेख्ने क्रममा हाँस्नै बिर्सेकाे सुनाइन् । ‘याे उपन्यास लेख्दा साथीहरूसँग बसेर चिया पिउन भुलेँ,’ राईले भनिन्, ‘गीत गन्गुनाउँथेँ, त्याे पनि बिर्सेँ । समग्रमा हाँस्नै बिर्सेँ । हामीलाई लेखक मात्रै हुने छुट नहुँदाे रहेछ ।’ उपन्यासका लागि समय निकाल्न गाह्राे परेकाे अनुभव साट्दै उनले थपिन्, ‘मैले प्राय: रातकाे समयमा मात्रै लेखेकी हुँ । छाेराछाेरीहरूले बाेलाउँदा पनि उल्टाे बाेल्ने भएकी थिएँ । बल्ल आजकाे दिन आयाे; यही दिनकाे पर्खाइमा थिएँ ।’
राईले एउटै भाेगाइ वा एउटैकाे भाेगाइले आख्यान पूर्ण नबन्ने बताइन्, भनिन्— ‘मैले साथीहरूलाई सुनाएँ, भनेँ । त्यसक्रममा धेरै भाेगाइ पनि सुनेँ र मैले कतिपय कथाहरू यसरी पनि लेखेँ ।’ आफूले उपन्यासमा धेरै साहित्यिक शब्दहरू नबुनेकाे राई बताउँछिन् । सबैका लागि पढन् पनि सहज हाेस् भनेर पनि आफूले सरल भाषाशैली र काैशलमा उपन्यास लेखेकाे सुनाउँदै उनले भनिन्, ‘पढेर जस्ताे लाग्छ त्यसै प्रतिक्रिया दिनुहाेला, यही अपेक्षा गर्छु ।’
०००
उपन्यास सार्वजनिकपछि वक्ताहरूले समग्रमा गुरू यथार्थपरक र पठनीय उपन्यास रहेकाे बताए । उपन्यासबारे बाेल्दै साहित्यकार हरिप्रसाद सिलवालले गुरू नेपाली साहित्यिक क्षेत्रमा बेग्लै स्थान हासिल गर्नसक्ने उपन्यास रहेकाे औंल्याए । ‘याे उपन्यासले नेपाली साहित्य जगत्मा सिर्फ सङ्ख्या थप्ने काममात्रै गर्दैन,’ साहित्यकार सिलवालले भने, ‘यसले बेग्लै स्थान बनाउँछ । याे क्षमता गुरूले राख्दछ ।’
यस्तै समालाेचक ज्ञानु अधिकारीले गुरू पढ्दा पाठकले आफैँलाई भेटाउने बताइन् । उपन्यासलाई ‘गजब गुरू’ भनेकी अधिकारीले भनिन्, ‘बडाे गजबकाे छ याे गुरू ।यहाँ पाठकले पाइला-पाइलामा आफैँलाई भेटाउँछ । अर्काे त याे उपन्यासकाे बलियाे भाग भनेकाे याे पुरुष मनाेविज्ञानबाट लेखिएकाे छ तर, लेखकचाहिँ महिला हुनुहुन्छ । प्रस्तुति गजबकाे छ । पुरुष मनाेविज्ञानबाट लेख्नचाहिँ उहाँले मज्जाले लेख्नुभएकाे छ ।’
उपन्यासमा ५२ वटा उपकथाहरू रहेकाे स्मरण गराउँदै समालाेचक अधिकारीले थपिन्, ‘यी ५२ वटा उपकथाहरू आफैँमा स्वतन्त्र छन् । यी सबैकाे गठजाेडलाई हेर्ने हाे भने माला आकार लिन्छ । उपन्यासले बालमनाेविज्ञानेदिख जीवनदर्शनसम्म समेटेकाे छ, याे उपन्यासकाे राम्राे पक्ष हाे ।’ उनले उपन्यासमा ‘माइली दिदी’ पात्र कता हराइन् भन्दै लेखकलाई प्रश्नसमेत गरिन् ।
साहित्यकार नारद हाताम्छाली राईले उपन्यास समग्रमा राम्राे बनेकाे बताए । तर, साहित्य क्षेत्रलाई सरकारले खास रूपमा ध्यानमा नराखेकाे राईकाे गुनासाे थियाे । ‘साहित्य एउटा विलक्षण कला हाे,’ राईले भने, ‘यसमा क्रियाशील हुन्छन् कतिपय साहित्यकारहरू र राम्रै कृतिहरू ल्याउँछन् । तर, यसलाई राज्यले एक हिसाबले बेवास्ता गरेजस्ताे देखिन्छ । यसलाई राज्यले पनि ध्यान दिनुपर्छ ।’
यस्तै अर्का वक्ता राष्ट्रिय सभा सदस्य जयन्ती राईले बाल्यकालकी कविता राईलाई सम्झिँदै गुरूमाथि शङ्का गर्न नमिल्ने बताइन् । ‘हुने विरुवाकाे चिल्लाे पात भनेझैँ थिइन् कविता,’ राईले भनिन्, ‘उहाँले सानैमा साह्रै मिठाे कविताहरू लेख्नुहुन्थ्याे/सुनाउनुहुन्थ्याे । कविता, गीतमा मात्रै हाेइन, उहाँकाे वक्तृत्वकलामा पनि उस्तै राम्राे थियाे । यसले नै अहिलेकाे याे उपन्यासमाे मापन गर्छ भन्ने लाग्छ ।’ङ्कक