वीरेन्द्रनगर बन्यो कर्णालीकै पहिलो कोभिड-१९ पूर्ण खोपयुक्त नगरपालिका

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकालाई कोरोना विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । लक्षित जनसङ्ख्याभन्दा बढीलाई कोरोना विरुद्धको पूर्ण खोप लगाएपछि वीरेन्द्रनगर कर्णाली कै पहिलो खोपयुक्त स्थानीय तह बनेको हो ।

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पूर्ण खोप वीरेन्द्रनगरका शतप्रतिशत नागरिकले लगाएका छन् । ९९ हजार नौ सय पाँच जनालाई कोभिड विरुद्धको पूर्ण खोप दिने लक्ष्य राखेको नगरपालिकाले चैत २३ गतेसम्म एक लाख १८ हजार नौ सय ४६ जनालाई पूर्ण खोप दिएको छ । जुन नगरपालिकाको लक्ष्य शतप्रतिशत रहेकोमा लक्ष्यभन्दा थप १९ प्रतिशतले बढीले खोप लगाएका छन् ।

१६ वटा वडा रहेको वीरेन्द्रनगरमा सबै वडामा अनिवार्य खोप कार्यक्रम सञ्चालन भएको नगरपालिकाले जनाएको छ । प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगर रहेकाले वीरेन्द्रनगरमा जनघनत्व धेरै छ । राजधानी भएकै कारण पनि बाह्य जिल्लाका नागरिकको बसोबास पनि धेरै छ । खोप अभियानमा यी नागरिक समेत समेटिएको वीरेन्द्रनगर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भूपेन्द्रदेव गिरीले जानकारी दिए ।

कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो लहरका बेला सङ्क्रमित हुने सङ्ख्याको आधारमा वीरेन्द्रनगरलाई रेडजोनमा राखिएको थियो । कोरोनाको तीनै लहरका कारण वीरेन्द्रनगर नगरपालिकाभित्र करिब साढे पाँच हजार नागरिक कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणबाट सङ्क्रमित बनेका थिए । हाल वीरेन्द्रनगरमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ ।

पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ नगरका २९ हजार घरधुरीमा स्वयंसेविका तथा स्वास्थ्यकर्मी परिचालन गरेर खोप अभियान सञ्चालन गरिएको निरीक्षक गिरीले बताए । ‘लक्षित जनसङ्ख्यालाई खोप लगाइसकेपछि पनि हामीले नगरका १६ वटै वडाका प्रत्येक नागरिक घरदैलोमा स्वास्थ्य स्वयंसेविका परिचालन गरी खोप लगाउन बाँकी रहेका नागरिकको तथ्याङ्क लियौँ र उहाँहरूलाई तोकिएको स्वास्थ्य संस्थामा बोलाएर खोप लगायौँ,’ गिरीले भने ।, ‘त्यसपछि पनि पुनः स्वास्थ्यकर्मी नै पठाएर खोप पाए/नपाएको यकिन तथ्याङ्क सङ्कलन गरेका थियौँ । तथ्याङ्कले सबै नागरिकले खोप पाएको देखाएपछि पूर्ण खोपयुक्त नगर घोषणा गर्न सफल भएका हौँ ।’

नगरभित्रका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट अहिले पनि खोप अभियान नियमित चलिरहेको गिरीले उल्लेख गरे । वीरेन्द्रनगरलाई पहिलो पटक कोभिडको पूर्ण खोपयुक्त नगर घोषणाको दिनलाई कर्णालीका लागि ऐतिहासिक दिन भएको सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बताए ।

‘आगामी दिनहरूमा कर्णालीका बाँकी ७८ वटै पालिका नागरिकहरूलाई कोरोना खोपको पहुँचमा पुर्‍याई पूर्ण खोपयुक्त पालिका घोषणामा खोप अभियानलाई प्रभावकारी रूपमा व्यापक बनाउन निर्देशन दिइसकेका छौँ,’ मन्त्री बुढाक्षेत्रीले भने । मन्त्रालयले पूर्ण खोपयुक्त पालिका बनाउन आवश्यक खोप तथा जनशक्ति उपलब्ध गराइ सकेको उनले जानकारी दिए । नागरिकप्रति राज्यको दायित्व पूरा गर्नमा पालिकाहरू कटिबद्ध हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ । खोपयुक्त नगर घोषणाका लागि नगरका शत प्रतिशत नागरिकले खोप लगाएको हुनुपर्ने मापदण्डअनुसार लक्षित समुदायका नागरिकलाई खोप उपलब्ध गराएर खोपयुक्त नगरपालिका घोषणा गर्न सफल भएको नगर प्रमुख देवकुमार सुवेदीले बताए ।

तोकिएको लक्ष्यभन्दा १९ प्रतिशत बढी नागरिकलाई खोप लगाइएको सुवेदीले जानकारी दिए । ‘खोपयुक्त नगर घोषणा गर्‍याैँ भन्दैमा खोप अभियान स्थगित नै गरिएको भने हैन,’ नगर प्रमुख सुवेदीले भने, ‘घोषणाका लागि आवश्यक मापदण्ड पूरा गरेकाले नगरलाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । खोप लगाउन छुटेका नागरिकहरूलाई खोप लगाउने अभियान भने निरन्तर जारी नै रहन्छ । खोप लिन छुटेका नागरिकले नजिकको पायक पर्ने स्वास्थ्य संस्थामा गएर कोरोनाको खोप लगाउन उनको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *