कर्णालीको पर्यटन प्रबर्द्धनका लागि जापानमा ‘रारा गोल्डकप’

वैशाख १८ गते जापानको टोकियोमा प्रतियोगिता हुने

सुर्खेत । खेलकुदका माध्यमबाट कर्णालीको पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कर्णालीका प्रवासी युवाहरूले जापानमा प्रथम ‘रारा गोल्डकप’ फुटसल प्रतियोगिता आयोजना गर्ने भएका छन् ।

कर्णालीमा जन्मथलो भई जापानलाई कर्म थलो बनाएका कर्णालीका युवाहरूको सामूहिक प्रयासमा प्रतियोगिता सञ्चालन हुने भएको हो । स्थापनाकालदेखि नै सामाजिक कार्यमा संलग्न हुँदै आएको युवाहरूको संगठन कर्णाली प्रदेश समाज जापानले प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

भौगोलिक दृष्टिकोणले विकट मानिने कर्णाली अन्य प्रदेशभन्दा विकासमा पछि परेको छ । कर्णालीका दूरदराजका नागरिक अझै पनि रोग, भोक र अशिक्षासँग लडिरहेका छन् । कर्णाली पर्यटनका हिसाबले ठूलाे सम्भावना बोकेको प्रदेश हो । यहाँ उत्पादन हुने जडीबुटीले अझै बजार पाउन सकेका छैनन् ।

पर्यटकीय हिसाबले स्वर्गकी अस्पसराको उपमाले चिनिने मुगुको रारा तालदेखि शे–फोक्सुण्डो तालसमेत कर्णालीमै छन् । तर, प्रचार प्रसारको अभावले यस्ता महत्त्वपूर्ण स्थान ओझेलमा छन् । हिन्दु धर्मालम्बीहरूको पवित्र तीर्थस्थल मानसरोवरको प्रवेशद्वार पनि कर्णाली हो ।

बर्सेनि हजारौँ भारतीय तथा स्वदेशी धर्मावलम्बी मानसरोवरको दर्शका लागि कर्णाली आउने गर्दछन् । तर, कर्णालीमा गतिलो यातायातको पहुँच नहुँदा आवतजावतमा सास्ती भोग्नु पर्ने अवस्था छ । गतिलो स्थल मार्ग नहुँदा महँगो हवाई भाडा तिर्न बाध्य हुनु पर्ने स्थिति छ । पञ्चकोशीको रूपमा लिइने दैलेखमा पेट्रोलियम पदार्थको खानीसमेत रहेको छ ।

यस्तै, सुर्खेतको बुलबुले ताल, काँक्रेविहार, जाजरकोटको जाजरकोट दरबार, जुम्लाको चन्दननाथ, कालिकोटको पाँचलझरनालगायतका क्षेत्रहरू पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिने क्षेत्र हुन् तर यिनको यथोचित प्रचार प्रसारको अभावले छायामा परेका छन् ।

पर्यटनका दृष्टिकोणले कर्णालीमा रहेका यी क्षेत्रलाई देश तथा विदेशमा प्रचार गरी पर्यटन गन्तव्यको रूपमा कर्णालीलाई अगाडि ल्याउन सकिएको खण्डमा कर्णालीको मुहार फेर्ने मार्गचित्र बन्ने निश्चित छ ।

प्राकृतिक सम्पदाको यथोचित प्रचार–प्रसार गरी समग्र कर्णालीको पर्यटन प्रवर्द्धन गर्ने मूलभूत उद्देश्यका साथ प्रतियोगिताको आयोजना हुन लागेको समाजका अध्यक्ष कृष्ण शाहीले जानकारी दिए । शाहीले भने, ‘भौगोलिक हिसाबले ठूलाे र विकट रहेको कर्णाली प्राकृतिक सम्पदाले भरिपूर्ण छ, तर प्रचार प्रसारको अभावले अझै पनि विकासमा पछाडि परेको छ । कर्णालीलाई खेलकुदका माध्यमबाट विश्वमाझ चिनाउने उद्देश्यले नै प्रतियोगिताको आयोजना गरेका हौँ ।’

कर्णालीलाई चिनाउने गरी गर्न लागिएको खेलले कर्णालीलाई विश्वमाझ लैजाने भन्दै आफूहरूको सानो प्रयासलाई सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै आफ्नो स्थानबाट कर्णालीको प्रचारका लागि सक्दो सहयोगको अपेक्षा राखेको अध्यक्ष शाहीले बताए ।

प्रतियोगिताले कर्णालीको पर्यटन क्षेत्रको विकास र प्रचार–प्रसारमा मद्दत पुग्ने शाहीको विश्वास छ । प्रतियोगिता टोकियो हाचिओजिस्थित फुटसल मैदानमा आगामी मे १ अर्थात् २०८९ वैशाख १८ गते आइतबारदेखि प्रथम ‘रारा गोल्ड कप फुटसल प्रतियोगिता’ हुने आयोजकले जनाएको छ ।

प्रतियाेगितामा प्रथम स्थान हासिल गर्ने टिमले जापनीज ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ हात पार्ने छ । प्रतियोगिताको दोस्रो स्थान हासिल गर्ने टिमले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छ ।

यस्तै, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टिमलाई ट्रफि तथा मेडलले सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *