लेटाङ घटना : महिला प्रहरीको मृत्यु गोली प्रहारबाट

विराटनगर । मोरङको लेटाङको हिंसात्मक आक्रमणमा परेर ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली प्रहारबाट भएको खुलेको छ । चैत ६ को उक्त घटनामा उत्तेजित भीडले घाँटीमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा जनाएको थियो ।

तर उनको मृत्यु गोली लागेर भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । मृतकको पोस्टमार्टम रिपोट अनुसार हत्या महिला प्रहरीमाथि धारिलो हतियार नभएर गोली प्रहार भएको पुष्टि भएको हो । प्रहरीले घटनामा धारिलो हतियार प्रयोग भएको बताउँदै आएकोमा पोस्टमार्टमको रिपोर्टपछि गोली हानेर हत्या भएको पुष्टि भएको सरकारी वकिलको कार्यालयमा बुझाइएको फायलमा उल्लेख छ ।

याे पनि : लेटाङ झडपमा गम्भीर घाइते महिला प्रहरीको मृत्यु भएको अस्पतालद्वारा पुष्टि

पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट वाई फाइयर आम इन्जुरी’ भनेर उल्लेख गरिएको छ । प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार महिला प्रहरीको शरीरबाट गोली निकालिएको छ । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको हतियारबाट निस्किएको गोलीसँग म्याच हुन नसेकेको भनिएको छ ।

घटनामा प्रहरीको तीन वटा हतियारबाट हवाई फायर भएको भनिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार मृतक महिला प्रहरीको घाँटीबाट छिरेको गोली पेटसम्म पुगेको पोस्टमार्टमबाट पुष्टि भएको छ । गोली आधुनिक हतियारमै प्रयोग हुने भएको बताइएको छ । घटनामा संलग्न भएको दाबीसहित ६३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।

याे  पनि : टिलपिल आँखा र भावशून्य मुद्रामा सहकर्मीलाई श्रद्धाञ्जली दिए प्रहरीले (तस्बिरहरू)

यही चैत ६लेटाङ-५ खेरुवाका शिक्षक मनोज पौडेलले कक्षा ६ मा पढ्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि विद्यालयमा बैठक भएको थियो । शिक्षकहरूले पौडेललाई प्रहरी बोलाएर बुझाउन लागेका थिए, यही क्रममा स्थानीयसहितको भीड विद्यालय परिसरमा पस्यो र तोडफोडसँगै हिंसात्मक प्रदर्शनमा उत्रियो । स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि भीडले आक्रमण गर्दा २६ वर्षीया प्रहरी जवान श्रेष्ठको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *