अर्थतन्त्र सुधार्न भ्रष्ट गठबन्धनको सरकार डष्टबिनमा फाल्नुपर्छ : ओली
विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र कमजोर हुनुलाई अघिल्लो सरकारलाई दोषी देख्नु मानसिक सन्तुलन बिग्रिएकाले बोल्ने कुरा भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले यदी अघिल्लो सरकारले अर्थतन्त्र कमजोेर पारेको भन्छ भने त्यस्तो व्यक्ति मानसिक उपचार तर्फ लाग्नु पर्ने बताएका हुन् ।
‘अहिलेको अर्थतन्त्र ९ महिनामा ध्वस्त पारिएको छ’, उनले भने, ‘यदि कसैले अर्थतन्त्र अघिल्लो सरकारले बिगारेको भनेर यति हदसम्म बोल्छ भने त्यस्ता व्यक्ति मानसिक उपचार तर्फ लाग्नु पर्छ ।’ आर्थिक अवस्था बिग्रँदै जानुको कारण भनेको अहिलेको सरकारको कमीकमजोरीबाट भएको उनको तर्क छ । पहिलाको स्थिति के थियो भन्ने कुरालाई विचारै नगरी पहिलाको सरकारले अर्थतन्त्र बिगार्यो भनेर कसैले भनेको छ भने त्यो मानसिक सन्तुलनसँग जोड्नु पर्ने बताए ।
अहिलेको बिग्रँदै गरेको अर्थतन्त्र जोगाउनको लागि गठबन्धनको भ्रष्ट सरकारलाई डष्टबिनमा नफाल्दासम्म अवस्था थप बिग्रँदै जाने बताए । ‘अहिलेको अर्थतन्त्र सुधार गर्ने हो भने गठबन्धनको भ्रष्ट सरकारलाई डष्टबिनमा फाल्नु पर्छ’, उनले भने, ‘एमाले लोकतन्त्रका लागि संविधान अनुसार देश चल्नु पर्छ भन्ने चाहन्छ ।’
नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपासँग तालमेल हुनसक्ने बताएका छन् । देशभक्त लोकतान्त्रीक शक्ति विकासका नायक नेकपा एमाले एकातिर र त्यस विरोधी परमादेशीहरू एकातिर भएको अवस्थामा स्थानीय तह अनुसार तालमेल गरेर चुनावी मैदानमा जान सक्ने बताए । उनले राप्रपासँग र अरू देशभक्त लोकतान्त्रिक शक्तिसँग चुनावी तालमेल गर्न सकिने बताए । त्यस्तै उनले चुनावमा नेकपा माओवादी विप्लव समूहलाई पनि सँगै लग्नुपर्ने बताएका छन् ।