खोइ सिकाइका डिजिटल प्लेटफर्म ?

अरू धेरै कुरा जस्तै सिकाइ स्थल पनि फेरिँदै छन् । खासगरी इन्टरनेट र ‘ग्याजेट’का कारण सिकाइका डिजिटल प्लेटफर्म थपिइरहेका छन् । बालबालिकालाई मोबाइल र ग्याजेटबाट टाढा राख्न नसकिने अवस्था आएको भन्दै अभिभावकहरू चिन्तित छन् । यस्तोमा इन्टरनेट र ग्याजेटलाई सिकाइका डिजिटल प्लेटफर्मका रूपमा विकास गर्नुपर्ने कुरा पनि बेलाबेला उठ्ने गरेकैाे छ ।

कोरोनाका कारण विद्यालय बन्द भएका बेला अनलाइन र डिजिटल प्ल्याटफर्महरू सिकाइका लागि झनै महत्त्वपूर्ण साबित भए । तर अवस्था सामान्य हुनासाथ फेरि सिकाइका डिजिटल ल्याटफर्महरूबारे कुरा हुनै छोड्यो ।

लकडाउनकै बेलामा ललितपुरको भैसेपाटीकी कल्पना ढुंगानाले नेपाली भाषाका सिकाइ सामाग्री युट्युबमा निकै खोजिन् तर गुणस्तरीय सिकाइ सामाग्री खासै फेला पार्न सकिनन् । ‘केही त भेटिन्छन् तर तिनीहरूमा धेरै नै गल्ती हुने रहेछ । भाषा र व्याकरणको त कुरै नगरौँ, उच्चारण पनि शुद्ध छैन । अर्कातिर, गुणस्तर पनि अरू विदेशी भाषाका सामग्रीको तुलनामा कमजोर रहेछ ।’

५ वर्षीय छोरीले हिन्दी भाषाका सामाग्री धेरै हेरेपछि आफूले नेपाली भाषाका सिकाइ सामग्री खोज्दा अनुभव यस्तो रहेको उनले बताइन् ।

काठमाडौँकी सूर्यलक्ष्मी घजूको चिन्ता पनि कल्पनासँग मिल्दोजुल्दो छ । उनका दुई छोराछोरी घरमा प्राय मोबाइल र ट्याबसँगै हुन्छन् तर युट्युब लगायतमा नेपाल भाषाका लोककथा, गीत कविता र अन्य सिकाइ सामाग्री एकदमै कम मात्र पाएको उनले बताइन् । ‘बच्चा जतिबेलै हिन्दी कार्टुन र अनलाइन गेमको मात्र कुरा गर्छन् । अनलाइनमा मातृ भाषामा सिकाउने कुरा खासै केही नै पाइँदैन ।’ अंग्रेजी र हिन्दी आफैँ पनि नजान्ने भएकाले छोराछोरीले के-के सिकिरहेका छन् भन्ने आफूलाई खासै पत्तो नहुने उनले बताइन् ।

हात हातमा मोबाइल र घरघरमा इन्टरनेटको सुविधा भएपछि सिक्ने सिकाउने कुरामा धेरै नै सहज त भएको छ तर नेपाली भाषाका सिकाइ सामाग्री एकदमै कम भएको गुनासो गर्नेहरू बढ्दै छन् । लोककथा, लोरी, मौलिक अन्य कुराहरूबारको जानकारी समेटिएका सामाग्री एकदमै कम मात्र पाइन्छ । मातृभाषामा यस्ता सामाग्रीको त झनै अभाव छ ।

विद्यालयमा पनि अंग्रेजीमा मात्र जोड दिने चलनले गर्दा पनि नेपाली वा मातृभाषामा भन्दा अन्य भाषामा बालबालिकाको चासो र रुचि बढ्ने गरेको कतिपयको अनुभव छ । ‘मेरी ह्याड अ लिटल ल्याम्ब’ देखि ‘टुइङ्कल, टुइङ्कल लिटल स्टार’ सम्म मुखाग्रे बनाउने बालबालिकालाई ‘ताराबाजी लै लै’, ‘कुखुरी काँ’ वा अन्य मातृभाषाका बालगीत, लोक कथा छायामा पर्दै गएको अभिभावक गायत्री तिमिल्सिना बताउँछन् ।

डिजिटल प्लेटफर्मको पहुँच र प्रभाव बढ्दै जाँदा त्यहाँ आफ्नै ‘कन्टेन्ट’को अभाव किन छ त भन्नेबारे खासै बहस भएको पाइँदैन । पत्रकार लक्ष्मी बस्नेत एकातिर यस्ता सामाग्रीको अभाव भएको र अर्कातिर भएका सामाग्री पनि बालबालिकामैत्री, लैंगिकमैत्री, समानता झल्काउने खालका नभएको गुनासो बस्नेतको छ । यस्ता सामाग्रीले लैंगिक विभेदलाई प्रश्रय दिने गरेको उनी बताउँछिन् । ‘एउटा बालबालिका लक्षित भिडियो युट्युबमा अपलोड गर्दा हाकिमको भूमिकामा पुरुष र तल्लो तहको कर्मचारीको भूमिकामा महिला देखाइएको हुन्छ । अनि फेरी डाक्टरको भूमिकामा प्राय पुरुष नै राखिएको हुन्छ । यस्ता कुराहरूले बालबालिकामा पार्ने प्रभाव पक्कै विभेदकारी नै हुन्छ’, बस्नेतले भनिन् । यसबारे अभिभावक सचेत रहनुपर्ने र वाल सिकाइका विषय पर्याप्त हुनुपर्नेमा उनको जोड छ ।’ त्यसो त रेडियो, टेलिभिजन जस्ता सञ्चारमाध्यममा समेत वाल सिकाइका उपयुक्त विषय नभएको उनले महसुस गरेकी छन् ।

सिकाइ र भाषामा विशेष दल्लख राख्ने पत्रकार तथा लेखक केदार शर्माको विचारमा यो हाम्रो आफ्नै ‘गफ लगाएर खाने बानी’को उपज हो । उनी भन्छन्,‘हामी धेरैलाई नेपाली विकिपिडिया छ भन्ने कुरा नै थाहा छैन । हामी आफूलाई मन परेको खाना, ठाउँ र हामीलाई मन परेको व्यक्तित्वको बारेमा थोरै समय दिएर लेख्ने त्यसलाई विकिपिडियामा राख्ने समेत गर्दैनौ भने अरूले युट्युबजस्ता सामाग्री बनाउन खर्च र मेहनत लाग्ने कुरामा सामाग्री पाइएन भन्ने आधार नै नहुने उनी बताउँछन् ।’

सरकारी निकाय पाठ्यक्रम विकास केन्द्रले भने सरकारले नेपाली पाठ्यक्रमलाई पर्याप्त हुने सिकाइ सामग्री एनसीईडी भर्चुअल युट्युब च्यानलमा राखेको दाबी गर्छ । केही समय अघिको कुराकानीमा केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले भनेका थिए– सबैको आँखा झिलिक्क परेको विदेशी कार्टुनमा जान्छ । हामीले त्यही गर्नुपर्छ भन्ने छैन । जे चाहिन्छ त्यो उपलब्ध गराएका छौँ । सरकारले गरेन भन्नेमा मात्र जोड दिनेहरू धेरै भए ।’ एनसीईडी भर्चुअलमा पाठ्यपुस्तकसँग सम्बन्धित सामग्री मात्र राखिएको र त्यति नै पर्याप्त भएको उनको दाबी छ ।

बालबालिका भने कमिलाले क बोकेको, खरायोले ख लिएर दौड्दै गरेको जस्ता रमाइला र पढ्न झर्को होइन रहरलाग्दा भिडियो हेर्दै पढ्नेतिर आकर्षित भएको देखिन्छ । तर त्यसअनुसारका सामग्रीको अभाव हुँदा उनीहरू विदेशी भाषाका सामाग्रीतर्फ आकर्षित हुनु अस्वाभाविक पनि होइन । युट्युबमा केही कम्पनीले खागसरि बालबालिकालाई लक्षित गरी सिकाइका सामाग्रीहरू निर्माण गरेर राख्ने गरेका छन् । पुकुलुकु, नानी एण्ड बाबु, किड्स प्लानेट नेपाली, नेपाली फेरी टेल्स, नेपाली किड्स राइम्स एण्ड स्टोरीलगायत नामका युट्युब च्यानलले राम्रा नेपाली सिकाइका सामाग्रीहरू राखेका छन् ।

आफ्नै सक्रियतामा यस्ता सामाग्री उत्पादन गर्नेहरूलाई सलाम गर्नुपर्ने बताउँछन् पत्रकार तथा लेखक शर्मा । बालबालिकालाई आवश्यक पर्याप्त सामग्री आउँथे होला तर यसबाट खर्च भए पनि आम्दानी हुने कुराबारे मानिसलाई थाहा नभएर पनि पर्याप्त सामग्री नआएको हुनसक्ने उनको अनुमान छ ।

यसबारेमा शर्मा भन्छन्– ‘सरकारी निकायलाई यस्ता कामतिर ध्यानै छैन । यदि यस्ता काम सरकारलाई दिने हो भने आफ्नै दलका कार्यकर्तालाई राख्छन् । अयोग्य मान्छे छनोट गर्छन् । बजेट विनियोजन हुन्छ तर काम शून्य । त्यसैले निजी क्षेत्र वा व्यक्तिले नै यो काम गरेको राम्रो हो । बरू कन्टेन्ट लेख्ने प्रतियोगिता गर्ने, सयौँथरी अवार्ड र पुरस्कारको व्यवस्था हुँदा राम्रो कन्टेन्ट लेख्नेलाई प्रोत्साहन गर्ने पुरस्कृत गर्ने व्यवस्था गर्नुपर्छ । आफ्नोमा राम्रो विषयवस्तु नहुने हो भने विदेशीको हेरेर सिक्छन् भनेर दुख मान्ने कुरै आउँदैन । जुन माध्यमबाट भएपनि सिक्नु त पर्छ नै । अहिलेसम्म आफ्नै सामग्री पर्याप्त नभए पनि बालबालिकाले पढे, लेखे अब केही वर्ष पनि यस्तै रहे पनि पढ्छन् होला नि । त्यही पनि बाबुआमा नेपाली भएपछि आफ्ना छोराछोरीलाई आफ्नै भाषामा केही राम्रो सिकाउलान् ।’

तर उत्पादित सामाग्री शुद्ध, तथ्यपरक चाहिँ हुनुपर्ने शर्मा बताउँछन् । यो कुरामा खासै ध्यान नदिने गरिएकोबारे गुनासो गर्दै उनले भने ‘यहाँ त शुद्धताको कुरा ग-यो भने खुब जान्ने भएको भन्छन् ।’

हामीसँग सिकाइका प्रशस्त सामग्री रहेपनि तिनलाई व्यवस्थित तरिकाले आफ्नै युट्युब च्यानल बनाएर राख्न के ले रोकेको होला भनेर सोच्दा आफूलाई पनि अचम्म लाग्ने शिक्षाविद् प्राध्यापक विद्यानाथ कोइराला बताउँछन् । अरू विदेशीले बनाएका कन्टेन्ट हेर्नु गलत नभएको भन्दै गर्न सक्ने काम पनि नगर्नु चाही लज्जास्पद भएको कोइरालाले टिप्पणी गरे ।

लामो समय विज्ञापनका क्षेत्रमा बिताएका सन्तोष पौडेल डिजिटल लर्निङको क्षेत्रमा पनि केही गरौँ न त भन्ने सोच बनाएर सन् २०१७ मा ‘पुकुलुकु’ युट्युब च्यानल खोलेका थिए । बालबालिकाको सिकाइका सामाग्री राख्नका लागि बच्चालाई नै प्रतिनिधित्व गर्ने शब्द पुकुलुकु राखेर च्यानल खोलेको र केही सामाग्री तयार गरेर राखेको उनले बताए ।

सन्तोषले भने, ‘पुकुलुकुलाई मोज छ । एक त धेरै प्रतिस्पर्धा नै छैन दोस्रो राम्रो आम्दानी भएको छ । यो हाम्रो दीर्घकालीन योजना हो । अध्ययन गर्दा सबै गीतसङ्गीत, चलचित्र, भिडियोको आयु हुने रहेछ । केही समय मात्र नयाँ हुने रहेछ । तर बच्चाको सिकाइको सामाग्री त सधैँ ताजा र नयाँ नै हुने रहेछ ।’ पुकुलुकुले १५ जनालाई रोजगारी दिएको छ अब एनिमेसनमा पनि काम गर्ने योजना बनाइरहेको उनले बताए ।

बालबालिकालाई सिकाइका लागि उपयोगी हुने सामाग्री उत्पादनमा ध्यान दिन सके यसले एकातिर सिकाइलाई प्रभावकारी बनाउने छ भने अर्कातिर बालबालिकाले खाली विदेशी सामाग्री मात्र हेरे भनेर तनाव लिने अभिभावकलाई पनि राहत मिल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *