एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच क्युआर कोडसम्बन्धी सम्झौता
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, बचतका फाइदा तथा क्यू।आर। कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आबद्ध देशै भरिका ७ सयभन्दा बढी नाई सदस्यहरुको सहभागिता रहेको थियो ।
नेपाल राष्ट्रिय नाई संघमा आबद्ध नाईहरुलाई क्यूआर कोड सेवा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता समेत भएको छ ।
यस सम्झौता अन्तर्गत नेपाल राष्ट्रिय नाई संघमा आवद्ध भई क्यूआर कोड सेवा लिएका नाईलाई बैंकले उपलब्ध गराउने सेवा सुबिधामा उच्च प्राथमिकता दिने तथा शुल्कहरुमा आवश्यक छुट दिने जनाएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट नायव महा–प्रबन्धक मुकुन्द सुबेदी र नेपाल राष्ट्रिय नाई संघका तर्फबाट अध्यक्ष पल्टन ठाकुरले हस्ताक्षर गरेका छन् ।
नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)बैंकले ग्राहकहरु माझ थुप्रै खालका सेवा सुविधाहरु ल्याउँदै आएको छ । बैंकले ल्याएका विभिन्न खालका नयाँ र आकर्षक सेवा सुविधाका कारण ग्राहकहरुको आकर्षण बढ्दो छ ।