गुठी मासिँदा संस्कृति, परम्परा र जात्रा मासिन्छ
काठमाडौँ । उपत्यका मन्दिर नै मन्दिरको शहर हो, यहाँ जात्रैजात्रा देख्न पाइन्छ । यसैले काठमाडौँ उपत्यकावासीको मौलिकता र परिचयलाई जोगाएर राखेको छ । अहिले पनि उपत्यकामा २ ओटा जात्रा चलिरहेका छन् । सेतो मच्छिन्द्रनाथको जात्रा र बिस्काः जात्रा ।
उपत्यकालाई धार्मिक र सांस्कृतिक महत्त्वको शहर भनेर विश्व माझ चिनाउने हाम्रो जात्रा र पर्वहरू अब भने संकटमा पर्न थालेको बताउँछन् संस्कृतिविद्हरू । संस्कृतिविद् प्राडा. पुरुषोत्तम लोचन श्रेष्ठ भन्छन्, ‘हाम्रो जात्रा तथा पर्वहरू सम्पूर्ण मानव जाती, पशुपक्षी, जीवात्मा मात्र नभएर स्वयं भगवान्को पनि कल्याण होस् भनेर मनाउने गरिन्छ । जात्रासधैँ प्रकृतिसँग सम्बन्धित हुन्छ ।’
यस्ता चाडपर्व र जात्राहरू धर्म विशेष, जाती विशेषका मानिसहरूले पुर्खौँदेखि चलाउँदै आएका छन् । पुस्तान्तरण हुँदै आए पनि विभिन्न कारण र बाधाहरूले गर्दा लिच्छवीकलादेखि काठमाडौँ उपत्यकामा मनाउँदै आएको धेरै पर्व र जात्राहरू हराइसकेकोमा उनको चिन्ता छ ।
उनकाअनुसार यसले गर्दा संकट उत्पन्न हुन्छ । मानव अस्तित्व संकटमा पर्छ । ‘हाम्रा चाडपर्वहरू, जात्राहरू ऋतुमय छन्, प्रकृति परक छन् । जात्रा प्रकृति र संस्कृतिको संगम हो । हाम्रो पर्व र जात्राहरू कुन मौसम, कुन समय र कुन क्षेत्रमा मनाउँदा उपयुक्त हुन्छ भनेर पहिले नै खोजी गरी मनाउने गरेको पाइन्छ,’ श्रेष्ठ थप्छन्, ‘ऋतु अनुसारको फलफूल, अन्नबाली, खाद्यान्नलाई ध्यानमा राखेर जात्रा तथा पर्वहरू मनाइन्छ । कुनै जात्रा वर्षा यामको रोपाइँ सुरु हुनु पहिले नै मनाउने गरिन्छ भने कुनै रोपाई सकिएपछि मात्र मनाउने गरिन्छ । प्राकृतिक स्रोतको पूजा, पानी पर्ने, खडेरी पर्ने प्राकृतिक घटनाहरूसँग हाम्रा जात्राहरू जोडिन्छ । यसले विज्ञानलाई पनि समेट्छ ।’
हाम्रो पर्व र जात्राहरू हराउँदै गएको उनको बुझाई छ, ‘लिच्छवी कालमा मनाउँदै आएको मण्डपी यात्रा, युद्ध विजयोत्सव भनेर मनाइने जात्रा अहिले हराइसकेको छ । यसले हामी आफ्नो परिचय नै गुमाउँदै छौ है भन्ने संकेत गर्छ,’ श्रेष्ठ भन्छन्, ‘बुद्धको नाम लिने बित्तिकै नेपाल चिनिन्छ । सगरमाथाको नाम लिने बित्तिकै नेपाल चिनिन्छ । पाँचतले मन्दिर एउटा मात्रै होइन उपत्यकामा मात्रै तीन वटा छ तर पाँचतले मन्दिर भन्ने बित्तिकै भक्तपुर नै चिनिन्छ । त्यसैले कुनै पनि स्थान, देश र नागरिकको पहिचानलाई धरापमा पार्ने कार्य हुनु हुँदैन ।’
यो तेरो यो मेरो भन्ने भावना रहेको संस्कृतिविद् श्रेष्ठ बताउँछन् । ‘नबुझेर कसैले भनेको भरमा उक्सिएर यो बौद्धको, यो हिन्दुको, यो मुस्लिमको, यो क्रिश्चियनको पर्व, चाड भन्ने जस्ता साम्प्रदायिक कुराहरू उठ्न थाल्यो । यसले हाम्रो पर्व र जात्राहरू हराउने सम्भावना बढाएको छ । जस्तैः दशैँ हिन्दले मात्रै मनाउने भन्नु नै गलत कुरा हो । एउटा राष्ट्र रक्षाका लागि मनाउने पर्व परम्पराको रूपमा बस्न गएको हो,’ उनी प्रश्न गर्दै भन्छन्’ ‘त्यसलाई के हिन्दु, के बौद्ध, के मुस्लिम ? सबैले सद्भावले मनाउन सकिन्छ । देशमा सबै धर्म मान्ने मानिस बस्ने भएकाले देश बचाउनु सबैको दायित्व हो । कुरै नबुझी बोल्दा अर्थको अनर्थ लाग्न जान्छ ।’
राजनीतिक दल, नेताहरूले नै नबुझेर इतिहासको गर्भमा गइसकेको कुरालाई पनि उठाउने र द्वन्द्व खडा गर्ने काम गरेको उनको आरोप छ । ‘यदि त्यसको महत्त्व बुझेको भए ती कुरा इतिहास नबनेर वर्तमान नै हुन्थ्यो । तर इतिहास भनेको पनि विगत र वर्तमानको संवाद हो, हिजोको कुराले आज र आजको कुराले भोलि हुन्छ । इतिहास र संस्कृति पनि त्यही नै हो यसलाई हामीले नबुझेर गलत व्याख्या, विश्लेषण ग¥यौँ भने त्यसको परिणाम ज्यादै नराम्रो हुन्छ’ संस्कृतविद् श्रेष्ठले भने ।
उनकाअनुसार जात्रा र चाडपर्वहरू शरीर हुन् भने गुठी त्यसको आत्मा हो । ‘जात्रा र पर्वहरू कालान्तर सम्म चलिरहोस् भन्नका लागि गुठी संस्था निर्माण गरिएको हुन्छ । विगतमा विभिन्न विधि विधानहरू, जात्राहरू राखेर देशलाई समृद्ध बनाउने, धनी बनाउने काम गुठी मार्फत हाम्रा पुर्खाले गरी राखेका थिए । किनभने गुठी जग्गा नै त्यसको आय स्रोत हो । गुठीबाट उठ्ने रकमले नै जात्रा र पर्वहरू चल्थे । अहिले त्यो गुठी जग्गा नै मासिँदै गएको छ । त्यसैले हाम्रो जात्राहरू पनि बढो कष्टसँग चलिरहेका छन्,’ उनले अगाडि भने, ‘गुठी जति मासिँदै गएँ हाम्रो जात्रा पनि हराउँदै जान्छन् । पहिले काठमाडौँ उपत्यकामा गुठी धेरै थियो । खाली जग्गा थिए । बोट बिरुवा थियो । काठमाडौँबाट विभिन्न मनोरम दृश्य देखिन्थ्यो । अहिलेको अव्यवस्थित सहरीकरणले यी सबै कुरा नाश भयो । फल त हाम्रो पर्व हराए जात्रा हराए । जमिन छ भने कृषि छ, कृषि छ भने किसान पनि छ, संस्कृति पनि छ । यदि जमिन नै छैन भने संस्कृति, पर्व, जात्रा केही पनि छैन । यसरी नै जग्गा मासिने, गुठी मासिने हो भने बिस्का:, मच्छिद्रनाथ, गाई जात्रा केही पनि चल्दैन ।’