सिलोक !
काठमाडौँ । संस्कार संस्कृतिको मूल पक्ष हो अनि संस्कृति सभ्यताको मियो । अझ भनौँ, संस्कृति नै सभ्यताको मूल परिचय पनि हो । तर, पछिल्लो पुस्ता नेपाली सनातनी संस्कार, संस्कृति अनि सभ्यताहरूसँग बेखबरजस्तो देखिन्छ, टाढिएकोजस्तो देखिन्छ ।
एक हिसाबले भन्ने हो भने पछिल्लो पुस्ता संस्कार, संस्कृति र रीतिरिवाजसँग जोडिएर आउने विविध चाडपर्व तथा चालचलनसँग पनि टाढाकाे दूरीमा छ । उसो त पछिल्लो पुस्ता नै पङ्गु त होइन, तर समयक्रमको विकास त्यसरी भइरहेको छ र यसलाई स्वीकार्नुपर्छ ।
जसै— स्वाभाविक रूपमा यसको असर नेपाली सनातनी चाललचनमा पर्ने नै भयो । जबकि, नयाँ पुस्ताका सदस्यहरू पश्चिमा शैलीको हिमायती बनिसकेका छन् । एउटा कोणबाट सोच्दा त्यो पनि ठिकै होला । तर, उल्लिखित सन्दर्भमा भने यो त्यत्ति शोभनीय नदेखिएला ।
सिलोकको विशेषता नै मौलिक परम्परा भएकाले यो बौद्धिक अनि कटुसत्य हुन्छन् ।
यहाँ प्रसङ्ग जोड्न खोजिएको हो, नेपाली पुरानो एक लाेकभाका— सिलोकको । सिलोक यस्तो एउटा रैथाने भाका हो, जुन विभिन्न चाडवाड, मेलापात तथा संस्कार संस्कृतिविशेषले मनाइने पर्वहरूमा गाइन्छ । खासगरी पहाडी समुदायमा प्रचलनमा रहेको सिलोकको मूल शब्द संस्कृतको श्लोकबाट निकालिएको मान्यता रहेको छ । सिलोक लोकसाहित्यको ‘गेय’ शैलीमा रहेको बताइन्छ । प्रायःजसो पूर्वी, पहाडी समुदायका विभिन्न कार्यक्रमहरूमा गाइने सिलोकको लोकसाहित्यमा बेग्लै स्थान रहेको छ ।
पूर्वी समुदायमा हेर्ने हो भने सिलोक खासगरी विवाह तथा व्रतबन्धहरूमा गाइन्छ । तर, यो सिर्फ विवाहविशेष मात्रै नभइकन यसले सिङ्गो सामाजिक विकृति र विसंगतिलाई पनि खोतल्ने पूर्खाहरू बताउँछन् । पूर्खाहरू त यसलाई समाजको एक मार्गनिर्देशककै रूपमा लिन्छन् । सोलुखुम्बुका एक ६५ वर्षीया पूर्खा भीमबहादुर राई भन्छन्, ‘यो त अहिले पो हरायो त । अहिले त साउण्ड सिस्टममा नाँच्ने गाउने चलन आइसक्यो । कहाँबाट टिक्नु यहाँ सिलोक । पहिले त जहाँ पनि यही गाइन्थ्यो । हामी नै पनि कति गाउँथ्यौँ । मैले जान्दाखेरि यही गीतमार्फत नै सबै हुन्थ्यो । दुःख बिसाउने, खुसी प्रकट गर्ने, समाजको नराम्रा कामहरूको भण्डाफोर गर्ने सबै सबै । यसलाई समाजको एउटा मार्गनिर्देशक नै भन्थे । हामी पनि यही मान्छाैँ ।’
०००
विवाहमा गाइने सिलोकमा बर र बधु पक्षबीच सवालजवाफ गरेको भेटिन्छ । जन्ती पक्ष र बेहुली पक्षबीच हुने सिलोक प्रायः घरबेटीबाट शुरू हुने हुन्छ । एक हिसाबले भन्ने हो भने यो प्रक्रिया भनेको एकअर्कालाई प्रश्नोत्तर गर्ने विधि पनि हो ।
विवाहमा जन्ती पर्सिने बेलादेखि नै शुरू भएको सिलोक जन्तीहरूलाई खाना खुवाउँदासम्म निरन्तर चलिरहेको हुन्छ । यस्ता सिलोक गाउनेहरूलाई ‘सिलोके’ भनिन्छ भने प्रायःजसो सिलोकेहरू वृद्ध उमेरका हुन्छन् । कारण यो पनि हो कि— सिलोकेहरूलाई समाजमा रहिआएको विभिन्न चालचलनदेखि विकृतिहरूबारे थाहा हुनुपर्छ ।
सिलोकेहरूले गाउने क्रममा विभिन्न उखान–टुक्का, कविता अनि कहीँकतै भेगीय घटना तथा दुर्घटनासमेतलाई स्थान दिन्छन् । जसले सिलोकलाई यथार्थपरक बनाओस् ।
बेहुली अन्माउने बेलासम्म गाइने यी सिलोकहरू कहिलेकाहीँ भने दुई/तीन दिनसम्म नै गाउने गरिएको पाइएको छ । सिलोकको विभिन्न शैलीमध्ये ‘प्रश्नोत्तर शैली’ पूर्वतिर बढी प्रचलित छ भने पश्चिमतिर ‘अन्ताक्षरी शैली’ प्रचलित छ ।
डा. ध्रुवप्रसाद भट्टराई सिलोककै आलेखमा (विसं २०७६ फागुन १० गतेको अक्षर अंकमा) लेख्छन्, ‘सिलोक पश्चिमबाट पूर्वतिर सर्दै आएको हो । पूर्वको आसामसम्म नै सिलोकेहरू पाइन्छन् ।’ नेपालको पूर्वी जिल्लाहरूका केही स्थानहरूमा छिटफुट रूपमा सिलोक गाइए पनि अहिले भने यो धेरै मात्रामा लोप हुँदै गएको छ । डा. भट्टराई थप्छन्, ‘सिलोकको विशेषता नै मौलिक परम्परा भएकाले यो बौद्धिक अनि कटुसत्य हुन्छन् । यसका सर्जकहरू अझै पनि अज्ञात छन् ।’
यो संस्कृतिप्रेमी र संस्कृति पढ्ने/पढाउने दुवै थरीका मानिसहरूका चासोको विषय बन्न आवश्यक छ । यसका कैयौं स्वरुपहरू वेदका श्लोकहरूसँग मिल्न जाने हुँदा यसको उत्पति वैदिककालमै भएको विश्वास छ ।
सिलोकेहरूले सामाजिक विषयवस्तु प्रस्तुत गर्ने हुनाले सिलोकभित्र लोक, समाज या मानिसको सोचाइ, कार्य, संस्कृति, दया, माया, प्रेम, विछोड, प्राकृतिक मानवीय चरित्र साथै धार्मिक दृष्टिकोणसमेत अटाएको हुन्छ । सिलोकहरू विभिन्न प्रकार हुने गरेको बताउँदै डा. भट्टराई लेख्छन्, ‘गणितीय (जसमा विभिन्न गणितीय समस्या वा सामाधान), ठट्यौली (जहाँ रमाइलो छ्डकेहरू समावेश हुन्छन्), अर्ती, उपदेश अनि अश्लीलमा (यौनका कुराहरू समेत समावेश) भएको पाइन्छ ।
यत्ति मात्रै नभएर सिलोकेहरूले सोही ठाउँका सामाजिक विकृति, विसंगतिहरूलाई समेत सिलोकमार्फत उठान गर्छन् र समाजलाई कसरी अग्रसरता दिन सकिन्छ भन्नेबारे समेत आफ्नो राय प्रस्तुत गर्छन् ।
अतः सिलोक एक सांस्कृतिक पक्षबाट मात्रै नहेरी सामाजिक पक्षबाट पनि हेरिनुपर्छ । जसले समाजमा रहिआएको समस्याहरूलाई सम्बन्धित ठाउँमा नपुर्याएपनि सम्बन्धित ठाउँमा पुर्याउने मान्छेसम्म भने पुर्याउन सक्दछ । जसकारण यसको जगेर्ना तथा संरक्षण जरुरत छ ।