कञ्चनपुरमा धामीझाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा धामीझाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका–७ मुसेपानीमा धामीझाँक्रीको कुटपिटबाट एक ४३ वर्षिया रन्चुला साउँदको मृत्यु भएको हो ।
धामीझाँक्रीको काम गर्दै आएकी स्थानीय कमला साउदको घरमा महिलाको मृत्यु भएको प्रहरीले जनार्को छ । स्थानीयका अनुसार भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने धर्मानन्द भट्ट र भीमदत्त–१ बाराकुण्डा बस्ने नारायणदत्त भट्टको कुटाईबाट महिलाको मृत्यु भएको हो ।
महिलामाथि कुटपिट गरेको आरोपमा कञ्चनपुर प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार महिलाको शरीरमा छाला निस्के जस्तो देखिन्छ भने घटनास्थलमा फलामका रडहरू भेटिएका छन् ।
प्रहरीले जनाए अनुसार ती महिला केही दिन बिरामी रहेकी महिलालाई उपचार गराउनुपर्नेमा धामीझाक्री कहाँ लगेका रहेछन् ।
घटनास्थलबाट महिलाको शव उठाउने समयमा स्थानीयले ढुंगा प्रहार गर्दा वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक प्रकाश भण्डारीलाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।
स्थानीयले घटनामा संलग्नहरूलाई कारबाही हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने माग गरेका छन् ।