धनगढीको मेयर र उपमेयरका लागि नेकपा एसले गर्याे ३ जनालाई सिफारिस
धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवारका लागि नेकपा एस (एकीकृत समाजवादी)ले दुई जनाको नाम सिफारिस गरेको छ ।
पार्टीको नगर कमिटीले मेयरको उम्मेदवारमा मदनराज रेग्मी र लोकेन्द्र बानियाँको नाम सिफारिस गरेको छ । रेग्मी धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन भने बानियाँ प्रदेश कमिटी सदस्य हुन् ।
यस्तै, उपमहानगरपालिकाको उपमेयरमा रोजी बस्नेतलाई सर्वसम्मत् उम्मेदवार छनोट गरेको छ । उपमेयर बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन् ।
उम्मेदवार सिफासिरस गर्नुका साथै नगर कमिटीले १९ वटा वडा रहेको धनगढी उपमहानगरका सबै वडामा समाजवादीले उम्मेदवारी घोषणा गरी चुनावमा होमिने निर्णयसमेत गरेको अध्यक्ष रेग्मीले जानकारी दिए । वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा जिल्ला किमटीले टुंग्याउने उनले बताए ।
सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने विषयमा छलफल जारी रहेपनि दलहरूले आन्तरिक रूपमा उम्मेदवार छनोट गर्ने कार्यलाई पनि निरन्तरता दिइरहेका छन् ।
नेकपा माओवादी केन्द्रले पनि दुईअघि मात्रै शान्ति अधिकारीलाई सर्वसम्मत रूपमा उपमहानगरपालिकाको मेयरका लागि सिफारिस गरिसकेको छ । कांग्रेसले भने अहिलेसम्म उम्मेदवार सिफारिस गरिसकेको छैन ।