कुटपिटबाट महिलाकाे हत्या गरेकाे अभियाेगमा झाँक्रीसहित ७ जना पक्राउ

कञ्चनपुर । बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउँदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउँदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–७ हल्दुखालका धर्मानन्द भट्ट, वडा नं १ बाराकुण्डाका नारायणदत्त भट्ट, मुसेपानीकी कमला साउँदविरुद्ध जाहेरी परेको छ । भट्टद्वय र साउँद झारफुकको काम गर्छन् ।

यसैगरी स्थानीय कुवेरसिंह साउँद, गौरी साउँद, कमला साउँद, जानकी घडाल र चक्र साउँदविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी परेको छ । जाहेरी दर्ता भएसँगै घटनाको प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ ।

मृतकको शव महाकाली अस्पतालमा राखिएको छ । मृतकका आफन्तले शव बुझेका छैनन् । घटनाको सत्यतथ्य जाँच गरी दोषीलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ ।

चैत २८ गते टाउको दुख्ने समस्या देखिएपछि रञ्चुला छिमेकी कमलाको घरमा पुगेकी थिइन् । त्यहाँ झारफुक गर्ने धर्मानन्द र नारायणदत्तले रञ्चुलालाई थारूको भूत लागेको बताएका थिए । दिनभर मन्त्र जप्नुपर्ने भन्दै त्यही राखेका र वैशाख १ गते भूत धपाउने भन्दै कुटपिट गर्दा रञ्जुलाको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *