एमालेले प्रदेश १ मा २८ पालिका प्रमुखको नाम टुङ्ग्यायो, ३४१ वडा सर्वसम्मत
विराटनगर । नेकपा एमालेले प्रदेश १ का २८ प्रमुख र २० उपप्रमुखको नाम सर्वसम्मतबाट टुगो लगाएको छ । नेकपा एमाले प्रदेश १ कार्यालयका अनुसार यी पालिकाहरूको नाम सर्वसम्मत केन्द्रमा सिफारिस गरिएको छ ।
प्राप्त तथ्यांक अनुसार ताप्लेजुङको ९ वटा पालिकाको नाम टुंगो लागेको छ । मैवाखोला गाउँपालिकाको अध्यक्ष बाहेक सबै पालिकामा सर्वसम्मत भएको छ । मैवाखोलाको उपाध्यक्षमा कौशिला कत्लुङ सर्वसम्मत भएकी छन् । आठराई त्रिबेणी गाउँपालिकाको अध्यक्षमा दीपेन्द्र पोमो र उपाध्यक्षमा शान्ता आङबोहाङ, फक्तालुङ गाउँपालिकाको अध्यक्षमा सरोज एभेङ र उपाध्यक्षमा शान्ति लिम्बु (पौडेल), मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा दिवास लुङ्सिङबा र उपाध्यक्षमा मिना केदेम छन् ।
पाथिभरायाङ्बरक गाउँपालिकाको अध्यक्षमा केशरकुमार सुब्बा र उपाध्यक्षमा रणमाया गुरुङ, सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा मानबहादुर राई र उपाध्यक्षमा भूमिका गौतम, सरिजङ्गा गाउँपालिकाको अध्यक्षमा सन्तोष चाम्लिङ र उपाध्यक्षमा तुलुसा बस्नते र फुङ्लिङ नगरपालिकाको प्रमुख उपप्रमुख सर्वसम्मत भएको छ ।
फुङलिङ नगरपालिकाको मेयरमा छत्रपति प्याकुरेल र उपप्रमुखमा भिमादेबी ओझाको नाम सर्वसम्मत आएको प्रदेश कमिटीले जनाएको छ । त्यस्तै, पाँचथरमा एउटा पालिकामा अध्यक्ष मात्र सर्वसम्मत भएको छ । फालेलुङ गाउँपालिकाको अध्यक्षमा जयप्रकाश केरुङ सर्वसम्मत भएका हुन् ।
त्यस्तै, इलामको देउमाई नगरपालिकाको मेयरमा सूर्य पोखरेल र उपमेयरमा पविमायाँ राई सर्वसम्मत भएका छन् । यो जिल्लाको अन्य पालिकामा भने सर्वसम्मतको प्रयास भइरहेको छ । झापाको अर्जुनधारा नगरपालिकाको मेयरमा बलदेव तामाङ मात्र सर्वसम्मत भएका छन् ।
सोलुखुम्बुको लिखु पिके गाउँपालिका, महाकुलुङ गाउँपालिका र नेचासल्यान गाउँपालिकामा सर्बंसम्मत उम्मेदवार छानिएको एमालेले जनाएको छ । लिखुको अध्यक्षमा पोस्टकुमार कार्की र उपाध्यक्षमा सुष्मा लामा शेर्पा, महाकुलुङको अध्यक्षमा भक्त राई र उपाध्यक्षमा सुवधनी कुलुङ तथा नेचाको अध्यक्ष डुफकुमार बाँस्तोला सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन् ।
ओखलढुंगाको मानोभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा रुपलाल तामाङ सर्वसम्मत भएका छन् । मोरङको जहदा गाउँपालिकामा जयनरथ गिरी (कृष्ण), उपाध्यक्षमा अनिता सोरेन, धनपालथान गाउँपालिकामा मुसहरु मण्डल र रंगेली नगरपालिकाको मेयरमा दिलीप अग्रवाल सर्वसम्मत उम्मेदवार भएका छन् । उता भोजपुर नगरपालिकाको मेयरमा भरत तामाङ र निर्मला शेर्पा, षडानन्द नगरपालिकामा सुरेन्द्र उदास र मेरिका राई, हतुवागढी गाउँपालिकाको अध्यक्षमा प्रेमकुमार राई सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्ष चयन हुन सकेको छैन ।
त्यस्तै, पौवादुङ्गा गाउँपालिकाको अध्यक्षमा किरण राई र उपाध्यक्षमा जोत्सना राई, टेम्पेमयुँ गाउँपालिकामा ध्रुव राई र रमादेवी राई सर्वसम्मत भएका छन् । आमचोक गाउँपालिकाको अध्यक्षमा वसन्त राई र अरुण गाउँपालिकाको अध्यक्षमा नारायण घिमिरे र कविता राईलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको एमालेले जनाएको छ ।
संखुवासभाको मादी नगरपालिकाको मेयरमा जीवन लिङथेप र उपमेयरमा सुनिता दाहाल, पाँचखपन नगरपालिकाको मेयरमा हिन्दुकुमार राई, भोटखोला गाउँपालिकाको अध्यक्षमा नाम नटुङ्गीएपनि उपाध्यक्षमा साहना लामा सर्वसम्मत भएकी छिन् । त्यस्तै चिचिला गाउँपालिकाको अध्यक्षमा रामबहादुर गुरुङ सर्वसम्मत उम्मेदवार भएका छन् ।
३४१ वडा टुङ्गियो
प्रदेश १ को १ हजार १ सय ५७ वडाहरू मध्ये ३४१ वडा सर्वसम्मत भएको नेकपा एमालेले जनाएको छ । ताप्लेजुङमा ६१ वडा मध्ये ३० वडा, पाँचथरमा ६० वडामा २५ , इलाममा ८१ वडामा ३० वडा र झापामा १३१ वडा मध्ये २१ वडा सर्वसम्मत भएको छ । त्यस्तै खोटाङको ७९ वडामा २५, सोलुखुम्बुमा ५२ वडामा १३, ओखलढुंगामा ७५ वडा मध्ये ४२ तथा उदयपुरमा ७५ वडा मध्ये २९ वटा वडा सर्वसम्मत भएको प्रदेश कमिटीले जनाएको छ ।
यता मोरङमा १५९ वडा मध्ये ५८ वडा, भोजपुरमा ८१ वडा मध्ये ३३, तेह्रथुममा ४३ वडा मध्ये ३५ वडा सर्वसम्मत भएको छ । सुनसरीको १२३ वडा, संखुवासभाको ७६ र धनकुटाका ६० वटा वडा मध्ये कुनैपनि वडाको नाम प्राप्त नभएको प्रदेश कमिटीले जनाएको छ ।
नेकपा एमाले प्रदेश १ को महानगर र उपमहानगरपालिकाको नाम भोलीसम्ममा केन्द्रमा सिफारिस गर्ने तयारी एमाले प्रदेश १ कमिटीको छ । प्रदेश कमिटीका सचिव चिन्तन पाठकका अनुसार पर्सीसम्ममा सबै पालिकाको उम्मेदवार सर्वसम्मत टुङ्गो लगाउने प्रयास भइरहेको छ । स्थानीय तहबाट आएको नामहरूमा प्रदेश कमिटीले थपघट गरेर केन्द्रमा सिफारिस गरेर अन्तिम रूप दिने सचिव पाठकले बताए ।