नेपालमा पहिलाे स्थानीय निर्वाचन : यस्ताे छ इतिहास
काठमाडाैँ । नेपालमा सर्वप्रथम २००४ सालमा पहिलाेपटक स्थानीय तहकाे निर्वाचन सम्पन्न भएकाे थियाे । याे निर्वाचन नेपालकाे राजनीतिक इतिहासकाे पहिलाे निर्वाचन समेत थियाे । तत्पश्चाल हालसम्म अनेकाैँ म्युनिसिपालिटी, नगरपालिका, गाउँ तथा नगर पञ्चायत, गाविस तथा नगरपालिका, जिल्ला सभा तथा जिल्ला विकाससमिति र स्थानीय तह निर्वाचनहरू सम्पन्न भए ।
विसं २००४ मा भएकाे पहिलाे निर्वाचन काठमाडौँ म्युनिसिपालिटीकाे निर्वाचन थियाे ।कालक्रमिक रूपमा स्थानीय तहलाई नगरपालिका, गाउँ पञ्चायत, नगर पञ्चायत, गाउँ विकास समिति, नगरपालिका, जिल्ला पञ्चायत, जिल्ला विकास समिति आदि नामले चिनिँदै आएकोमा नेपालको संविधान जारी भएपछि गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिकाे नामबाट स्थानीय तह संरचित छ । नेपालमा हालसम्म सम्पन्न भएका स्थानीय स्तरका सबै निर्वाचनहरूकाे सूची निम्नानुसार रहेकाे छः
नेपालको इतिहासमा पहिलो निर्वाचन कहिले भएको थियो ?
नेपालमा निर्वाचन प्रक्रियाको सुरुआत स्थानीय निकायको निर्वाचनबाटै भएको पाइन्छ । विसं२००४ जेठ ३ मा मुलुकभर निर्वाचित नगरपालिका खडा गर्ने र त्यसमा मतदानबाट प्रतिनिधि छान्ने घोषणा भएबमोजिम विसं २००४ साल जेठ २९ गते सम्पन्न भएको काठमाडौँ म्युनिसिपालिटीको निर्वाचन नै नेपालको इतिहासमा पहिलो निर्वाचन मानिन्छ ।
यसमा काठमाडौंका सहरी क्षेत्रका जनताले आफ्नो प्रतिनिधि आफैँ छान्नका लागि मताधिकारको प्रयोग गरेका थिए । यस निर्वाचनमा महिलाले पनि भोट हाल्न पाउनुपर्छ भनी श्री ३ पद्म शमशेरसमक्ष माग राखे तापनि २१ वर्ष उमेर पूरा गरेका पुरुषको नाममात्र समावेश भएको मतदाता नामावली तयार गरी सोही आधारमा निर्वाचन सम्पन्न गरिएको थियो ।
नेपालको पहिलो निर्वाचित निकाय काठमाडौँ म्युनिसिपालिटीको गठनसम्बन्धी व्यवस्था कस्तो थियो ?
काठमाडौँ म्युनिसिपालिटीलाई पूर्वमा धोबी खोला, पश्चिममा विष्णुमती, उत्तरमा महारजगञ्ज र दक्षिणमा बागमती रहेको चार किल्लाभित्र २१ वटा वडा कायम गरिएको थियो ।
प्रत्येक वडाबाट एक एक जना गरी निर्वाचित २१ जना सदस्य र सरकारले मनोनीत गर्ने १० जना सदस्य गरी जम्मा ३१ जना सदस्य रहने नगरपालिका बोर्डको व्यवस्था थियो । मनोनित सदस्यहरू मध्येबाट सभापति र निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति छनोट गर्ने व्यवस्था भएअनुसार गेहेन्द्र शमशेर थापा सभापति र शङ्करदेव पन्त उपसभापति छानिएका थिए ।
नेपालमा महिलाले कहिलेदेखि आफ्नो मताधिकार प्रयोग गर्न पाएका थिए ?
विसं २००७ सालपछि स्थानीय निकायलाई जनप्रतिनिधिमूलक तथा जनमुखी बनाउन नगरपालिका कानून तर्जुमा गरियो । यसबाट काठमाडौँ म्युनिसिपालिटीलाई साविकको २१ वटा वडाको पुनर्संरचना गरी १८ वटा वडा कायम गरियो ।
साथै काठमाडौँ म्युनिसिपालिटीको नाम काठमाडौँ नगरपालिका कायम गरियो । सोहीबमोजिम काठमाडौँ नगरपालिकामा विसं २०१० भदौ १७ गते निर्वाचन सम्पन्न गरियो । यस निर्वाचनमा २१ वर्ष उमेर पूरा गरेका महिला तथा पुरुषको नाम मतदाता नामावलीमा समावेश गरिएको थियो ।
यसरी विसं २०१० भदौ १७ गते सम्पन्न भएको काठमाडौँ नगरपालिकाको निर्वाचनबाट नेपालको निर्वाचन इतिहासमा महिलाले उम्मेदवार बन्ने र मताधिकार प्रयोग गर्ने अवसर प्राप्त गरेका हुन् ।
नेपालको प्रथम निर्वाचित महिला जनप्रतिनिधि को हुन् ?
नेपालको प्रथम निर्वाचित महिला जनप्रतिनिधि साधनादेवी प्रधान हुन् । उनी विसं२०१० साल भदौ १७ गते सम्पन्न काठमाडौँ नगरपालिकाको निर्वाचनमा वडा नं.८ बाट उम्मेदवार भई निर्वाचित भएकी थिइन् । उक्त निर्वाचनमा वडा नं.८ मा कूल ४ हजार १ सय १३ अर्थात् ५३ प्रतिशत मत खसेको थियो । जसमध्ये २ हजार ४ सय ५५ अर्थात् खसेको मतको ५९ दशमलव ६८ प्रतिशत मत प्राप्त गरी साधनादेवी प्रधान निर्वाचित भएकी थिइन् । स्राेतः निर्वाचन आयाेग