कर्णालीका ६ जना पत्रकार उम्मेद्वारका लागि सिफारिस

सुर्खेत । यहीँ वैशाख ३० गते हुने निर्वाचनको समयम नजिकिँदै आएको छ । कर्णालीमा वडा र पालिकामा पार्टीले आ–आफ्नो उम्मेदवारका लागि सिफारिस गर्ने काम पनि जारी रहेको छ ।

कर्णालीका केही जिल्लाहरूमा राजनीतिक दलहरूले गठबन्धन नगर्ने निर्णय समेत गरेका छन् भने केही जिल्लामा गठबन्धन बन्ने नबन्ने कुनै टुंगाे लाग्न सकेको छैन् ।

यसै क्रममा विभिन्न राजनीतिक दलबाट कर्णालीका पत्रकारहरू वडा तथा पालिकामा उम्मेदवारका लागि सिफारिस भएका छन् । हालसम्मको विवरणअनुसार कर्णालीका पाँच जिल्लाका ६ जना पत्रकारहरू स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारका लागि सिफारिस भएका हुन् ।

उम्मेदवारमा सिफारिस पत्रकारहरू नेपाली कांग्रेस, नेकपा माओवादी र एमालेबाट २/२ गरेर जम्मा ६ जना सिफारिस भएका छन् ।

यस्तै नेकपा एमालेबाट दैलेखको गुराँस गाउँपालिका–८ नम्बरको वडा अध्यक्ष पदका लागि पत्रकार दीपेन्द्र वली सिफारिस भएका छन् । उनी यसअघि सुर्खेतबाट प्रशारण हुने रेडियो जागरण एफएमका स्टेशन म्यानेजर हुन् भने प्रेस चौतारी नेपाल सुर्खेतका पूर्व उपाध्यक्ष हुन् ।

ओली कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीको प्रेस सल्लाहकारको भूमिका समेत निर्वाह गरेका थिए । वलीले अहिले पनि खबर बजार नामक अनलाइन सञ्चालन गरिरहेका छन् । उनी एमाले गुराँस गाउँ कमिटीका सचिव समेत हुन् ।

यस्तै, नेकपा एमालेबाट नै जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्षका लागि वीरबहादुर गिरी सिफारिस भएका छन् । गिरी प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिका पूर्व इन्चार्ज तथा चौतारी नेपालका उपाध्यक्ष समेत हुन् भने एमाले जिल्ला कमिटि सचिव समेत रहेका छन् ।

यस्तै, सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष पदको उम्मेदवारका लागि पत्रकार गणेशकञ्चन भारतीलाई सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्र सिम्ता कमिटीले भारतीलाई पालिका अध्यक्षका लागि सिफारिस गरेको हो । उनी नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्व अध्यक्ष र हाल महासंघ कर्णाली कार्यसमितिका कोषाध्यक्ष हुन ।

नेपाल पत्रकार महासंघ कर्णाली अध्यक्ष देविराम देवकोटा कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि सिरफारिस भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि सिफारिस भएका हुन् ।

पार्टीले पालिकाको अध्यक्षको उम्मेदवार बन्न सिफारिस गरेपछि देवकोटाले सामाजिक सञ्जाल फेसकबुकमा स्टाटस राखेर भनेका छन्, ‘पालिका अध्यक्षको उम्मेदवार बन्नु पर्ने भएकाले पत्रकार महासंघको विधान तथा आचारसिंहताअनुसार महासंघको कर्णाली प्रदेश अध्यक्ष पदबाट राजिनामा दिने निर्णयमा पुगेको छु ।’

यता, जाजरकोटमा स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पत्रकार जनक केसी भेरी नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट सिफारिस भएका छन् । केसी प्रेस युनियन पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष हुन् ।

यस्तै, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नवीन पौडेल पनि पालिकाको उम्मेदवारीका लागि सिफारिस भएका छन् । उनलाई शारदा नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसले सिफारिस गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *