प्राकृतिक सम्पदालाई विश्व सम्पदा सूचीमा समेट्न आग्रह
काठमाडौँ । विश्व सम्पदा दिवसको अवसरमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले गण्डकी प्रदेशका प्राकृतिक सम्पदाहरूलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आग्रह गरेको छ।
नाट्टा गण्डकीले प्रदेशमा रहेका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक पुरातात्विक महत्व बोकेका स्थल पहिचान र संरक्षणका लागि सरोकारवालाबीच छलफल गर्दै युनेस्कोको लिष्टमा भएका सम्पदालाई सूचीकृत गर्दै थप सम्पदाको खोजीका लागि आग्रह गरेको हो। कार्यक्रममा पुरातत्व विभाग सम्पदा संरक्षण शाखाका प्रमुख रमेशराज पौडेलले गण्डकी प्रदेशमा कैयौँ प्राकृतिक सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा रहेकाले ती सबैको पहिचान र संरक्षणको आवश्यकता औँल्याएका छन्। उनले सम्पदा कुनै पनि देशको विशेष सम्पत्ति भएकाले यसको संरक्षण र सम्वर्द्धनमा सरकारसँगै नागरिकको पनि उत्तिकै चासो र अग्रसरता आवश्यक हुनेमा जोड दिएका छन्। शाखा प्रमुख पौडेलका अनुसार हालसम्म विश्वसम्पदा सूचीमा आठवटा सांस्कृतिक र दुईवटा प्राकृतिक गरी १० वटा सम्पदा सूचीकृत छन्।
त्यसैगरी, युनेस्कोले नेपालमा १५ वटा सांस्कृतिक सम्पदालाई ‘टेन्टेटिभ लिष्ट’मा राखेको छ। त्यसमा गण्डकी प्रदेशअन्तर्गत मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला, गोरखास्थित मध्यकालीन दरबार क्षेत्र र लोमान्थाङ वालसिटी रहेका छन्। यसका अतिरिक्त गण्डकी प्रदेशका लमजुङ, तनहुँ, पर्वत, बागलुङलगायतका जिल्लामा ऐतिहासिक धार्मिक, सांस्कृतिक महत्वका स्थल रहेका र ती क्षेत्र उत्खनन र संरक्षणको प्रयास भइरहेको प्रमुख पौडेलले जानकारी दिए। उनले भने, “सम्पदाका रूपमा अभिलेख गर्न पुराना संरचना नमासिएको र उस्तै स्वरुप झल्कने हुनुपर्दछ तर सम्पदाको महत्व बुझ्न नसक्दा मासिने, अतिक्रमण हुने, स्वरूप परिवर्तन हुने क्रम बढ्दै जाँदा सम्पदाको अस्तित्व हराउन पुगेको छ।”
प्राध्यापक डा. नारायणप्रसाद अधिकारीले कालीगण्डकी नदीको सभ्यताको महत्व दर्शाउँदै सम्पदाको रूपमा सूचीकृत गर्नुपर्नेमा जोड दिए। कालीगण्डकी सभ्यता आस्था र भावनाको धरोहरसँगै यहाँ पाइने शालिग्राम, जीवाशेषका प्रमाणले पनि जीवको सृष्टि यहीँबाट भएको हो भन्ने पुष्टि हुने भएकाले यो सम्पदाको सूचीकृत गर्नुपर्ने उनको भनाइ छ।
दिन प्रतिदिन शालिग्रामको चोरी निकासी हुँदै गएको जनाउँदै समयमै यसको अध्ययन अनुसन्धानसहित सूचीकृततर्फ ध्यान दिन उनको आग्रहसमेत गरेका छन्।