‘अवसर दिनुपर्यो महिलाले आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन सक्छन्’
काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा यतिबेला पालिकाको प्रमुख र उपप्रमुखको बहस र चर्चा निकै हुने गरेको छ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पाका सबै पालिकामा चुनावी माहोल बढेको छ। यसभन्दा अघिको निर्वाचनमा पालिका उपप्रमुख पदमा मात्रै सीमित रहेका यहाँका महिला अब प्रमुखको जिम्मेवारी सम्हाल्ने होडबाजीमा छन्। आरक्षण कोटामा मात्रै सीमित रहेका महिला अब पुरुष सरह नै प्रमुख भएर पालिका हाक्ने हिम्मतका साथ प्रमुखको दाबेदारमा आ–आफ्नै पार्टीभित्र टिकटको लागि रस्साकस्सीमा छन्।
रामपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट यहाँ दुई महिला दाबेदार छन्। वर्तमान नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य र रामपुर नगरपालिका वडा नं ७ का वडा सचिव गीता पौडेलले यस पटकको निर्वाचनमा प्रमुख पदको जिम्मेवारी दिनुपर्ने भन्दै दाबी गरेकी छन्। नगरपालिकामा पाँच वर्ष उपप्रमुख भएर काम गर्दै गर्दा प्रमुखको पद पाएमा जिम्मेवारी निभाउन सकिने र पार्टीले टिकट दिएमा एक कार्यकाल अब नगर प्रमुख भएर काम गर्ने इच्छा रहेको नगर उपप्रमुख आचार्य बताउँछिन्।
रामपुर नगरीमा महिलाको नेतृत्वमा समग्र विकासलाई पूर्णता दिनु जरुरी रहेको बताउँछिन्, अर्का प्रमुख पदका दाबेदार पौडेल। एक दश बढी रामपुर नगरपालिकामा कर्मचारी भएर काम गर्दा प्रशासनिक काममा धेरै अनुभव बटुलेकी पौडेल अब जनताको प्रतिनिधि भएर नगर प्रमुख हाँक्ने इच्छा रहेको बताउँछिन्। “मेरो नगर प्रमुख पदमा परेको उम्मेदवारीले समग्र रामपुरवासीका महिला उत्साहित हुनुहुन्छ, सबैको साथ सहयोग सकारात्मक छ, ऐन नियम र कानुनको व्यवस्था गरी नगरपालिकाको पञ्चवर्षीय गुरुयोजना तयारी गरी दीर्घकालीन विकास निर्माणलाई प्राथमिकता दिनेछु, नगरपालिकामा अनुशासन तथा सुशासनको व्यवस्थापन गर्नेछु”, उनले भनिन्।
शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा रामपुरको धेरै लगानी बाहिरिएको छ। देशको आवश्यकताबमोजिम हरेक विषयको उच्च शिक्षा अध्ययन गराउन सक्ने शैक्षिक व्यवस्थापन, क्यान्सरजस्ता घातक रोगलाई निराकरण गर्न सक्ने स्वास्थ्य संस्था तथा अस्पतालको व्यवस्थापन लगायतका कुरामा जोड दिएर काम गर्नसक्ने हिम्मत रहेको पौडेलको भनाइ छ। रामपुर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट दुई महिला, छ पुरुष सहित आठजना नगर प्रमुखको रूपमा दाबेदार छन्। नेकपा एमालेबाट भने यहाँ नगर प्रमुखमा महिला आकाङ्क्षी छैनन्।
तानसेन नगरपालिकामा नेकपा (एमाले ) को तर्फबाट दश पुरुषसँग उपप्रमुख लक्ष्मी पाठक प्रमुख पदको दाबेदार हुन्। उनको प्रमुख पदमा परेको उम्मेदवारीले महिलामा ऊर्जा मिलेको छ। “पाँच वर्षको उपप्रमुख भएर काम गर्दा धेरै कुरा सिकियो, अवसर पाएमा म नगर प्रमुखले गर्ने सबै काम गर्न सक्षम छु, तर पार्टीले टिकट दिने हो कि होइन”, उनले भनिन्। बगनासकाली गाउँपालिकामा भने उपाध्यक्ष सरस्वती चिदीलाई नेकपा एमालेले सर्वसहमतरूपमा पालिका अध्यक्ष सिफारिस गरेको छ।
क्षमतावान् भए पनि महिला भएकै कारण नेतृत्व तहबाट पछाडि परिरहेका महिलालाई पालिकाको अध्यक्षमा गरिएको सिफारिसले अन्यत्र पालिकाका उपाध्यक्ष, उपप्रमुखहरूले महिला अध्यक्ष तथा प्रमुख पदकको दाबी गर्न थालेका छन्। “मसँग अध्यक्ष पदमा दाबेदार कोही हुनुभएन, सर्वसहमत रूपमा मलाई पार्टीले सिफारिस गर्यो, यहाँको केही वडामा नेकपा एमालले महिलालाई नै वडाध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको छ, अवसर दिनुपर्यो महिलाले आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन सक्छन्”, उनले भनिन्।
उपाध्यक्ष चिदीले पाँच वर्षको अवधिमा पालिकाका सबै वडामा समन्वय समिति, पालिकास्तरीय महिला सञ्जाल, महिला सशक्तीकरणका लागि विभिन्न तालिम सञ्चालन गरेर महिलाको आयस्तर वृद्धि गर्ने खालका कार्यक्रम गरेको बताएकी छन्। यहाँको पालिकाका एमालेले अध्यक्षमा चिदी र उपाध्यक्षमा हरिप्रसाद पाठकलाई उम्मेदवारको रूपमा सिफारिस गरेको छ।
पालिकाको अध्यक्ष भएर काम गर्ने मन छ तर पार्टीले नेतृत्वमा अवसर नदिने भएकाले जानेर आफूले अध्यक्षमा यस पटकको निर्वाचनमा उम्मेदवारी नदिएको बताउँछिन् माथागढी गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराई। महिलाले अवसर पाएमा स्थानीय सरकार मात्रै होइन देशै चलाउन सक्ने सक्षमता छ तर पार्टीभित्रबाटै पछाडि हट्नुपरेको उपाध्यक्ष भट्टराईको भनाइ छ। उनले भनिन्, “जहाँ महिलाको नेतृत्व छ त्यहाँ स्वच्छ रुपमा विकासका कामहरू भएका छन्, भ्रष्टाचार छैन, महिला नेतृत्वमा कमजोर छैनन्, यदी पार्टीले अध्यक्षको नेतृत्वको लागि टिकट दिन्छ भने पालिका चलाउन सक्ने महिलासँग हिम्मत र आँट छ तर महिला भएकै कारण भरसक क्षमता भएरपनि नेतृत्वबाट पछाडि परिरहेका छन्।”
पाँचवर्ष पालिकाको उपाध्यक्ष भएर काम गरेका महिलाले अब पालिकाका प्रमुख भएर काम गर्नसक्ने क्षमताको विकास उनीहरूमा भएको छ। अहिले पालिकामा पाँचवर्षको अवधिमा विभिन्न संरचना तयार, नियम कानुन, सिस्टम बसेकाले पनि अब आउने नेतृत्वलाई काममा कठिनाइ हुँदैन।