के गर्दैछन् निर्वाचन अधिकृतहरू ?
विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता वैशाख ११ र १२ गते हुँदैछ । आजसम्म पनि निर्वाचन अधिकृतका कार्यालयहरू सञ्चालनमा आएका छैनन् । गत चैत ३० गते नै निर्वाचन अधिकृत खटाउने काम गरेको निर्वाचन आयोगले वैशाख ८ गतेदेखि निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना हुँदैछन् ।
आन्तरिक गृहकार्यको कामहरू गरिरहेका स्थानीय तह निर्वाचन अधिकृतहरूले भाेलि सबै पालिकामा कार्यालय स्थापना गर्ने कार्यलाई अन्तिम चरणमा पुर्याएका छन् । विराटनगर महानगरपालिकाका निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृत भरत लम्सालले छोटो अबधिमा धेरै काम गर्नु पर्ने भएकोले अत्यन्त कामको चाप बढेको बताए ।
८ गते निर्वाचन अधिकृतको कार्यालय संचाललनमा ल्याएर ११ र १२ गते दुई दिन मनोनयन दर्ता गर्नु पर्ने अवस्था रहेको उनले जानकारी दिए । मनोनय दर्ताभन्दा पहिला पनि यो बिचमा गर्नु पर्ने धेरै काम रहेकोले निक्कै धपेडी हुने मुख्य निर्वाचन अधिकृत लम्सालले मकालुखबरलाई बताए ।
‘भाेलि सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुनेछ’, उनले भने, ‘मोरङ जिल्लामा रहेका एउटा पालिका बाहेक सबै निर्वाचन अधिकृतका कार्यालयहरू सरकारी कार्यालयबाट नै सञ्चालनमा ल्याएर व्यवस्थापन गर्ने तयारी छ ।’ उनका अनुसार रतुवामाई नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय भाडाको घरबाट सञ्चालनमा ल्याउनु पर्ने अवस्था आएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा रहेको रेडक्रसको भवनमा राख्नेगरि तयारी भएको उनले जानकारी दिए ।
जनशक्तिमा सकस
मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित निर्वाचन अधिकृतका कार्यालयहरू सञ्चालनमा आउनै लाग्दा कर्मचारीको विषय गम्भीर रूपमा उठेको छ । यो बर्ष निर्वाचन अधिकृतका कार्यालयहरूमा कम जनशक्ति रहेको भन्दै निर्वाचन अधिकृतहरूले असन्तुष्टि जनाउँदै आएका छन् । निर्वाचन अधिकृतको कार्यालयहरूमा ४ जना कर्मचारीले काम गर्नु पर्ने अवस्था छ ।
अरु दिन जसोतसो चलाएपनि मनोनयन दर्ताको दिन निक्कै सकस हुने देखिएको छ, लम्सालले भने, ३९ दल रहेको मोरङमा एउटै दलको ५ जनाको दरले आउने हो भने पनि १९५ जना एउटै वडाको हुने देखिन्छ, १९ वडालाई व्यवस्थापन गर्नु हाम्रो लागि चुनौती हो ।’ धेरै दल र धेरै वडा भएको ठाउँमा उम्मेदवारहरू धेरै हुने भएकोले दलहरूसँग समय मिलाउने बारेमा छलफल गर्ने र समय निर्धारण गर्ने तयारी निर्वाचन अधिकृतहरूको छ ।
१० वटा वडासम्म रहेका स्थानीय तहमा निर्वाचन आयोगले निर्वाचन अधिकृत १, सहायक निर्वाचन अधिकृत १, नासु वा खरिदार सरहको कर्मचारी १, कम्युटर अपरेटर १ र लेखापाल १ जनाको दरबन्दी दिएको छ । १० भन्दा माथि वडा भएको अवस्थामा प्रति ३ वडा बरावर १ जनाको दरले कर्मचारी थपिने भनिएको छ । कार्यालय सहयोगी, पिएसओ र एकजना चालक पनि निर्वाचन अधिकृतले पाउनेछन् ।
कार्यालयमा काम गर्ने कर्मचारी जम्मा ४ जना मात्र हुने भएकोले मनोनयनका दिन, फाईल संकलन, रुजु र दर्ता गर्न सकस हुने निर्वाचन अधिकृतहरू बताउँछन् । प्रक्रिया पुरा भएर नआएका उम्मेदवारको निबेदन रद्द हुन सक्ने अवस्था रहेकोले दलहरू निक्कै गम्भीर हुनु पर्ने उनीहरूको भनाई छ । मनोनयन दर्ताको फर्म भर्दा देखि नै ध्यान दिनु पर्ने भएकोले दलहरूसँग छलफलको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत लम्सालले बताए ।
अहिलेसम्म कार्यालय स्थापनाको लागि आन्तरिक व्यवस्थापनको काम भइरहेको छ । आवश्यक पर्ने कार्यालय व्यवस्थापनको काम स्थानीय तहसँगको समन्वयमा गर्ने भनिएकोले स्थानीय तहले नेट, कम्युटर लगायतका फर्निचरको व्यवस्थापन गर्ने काम भइरहेको लम्साले बताए । ‘छोटो समय र सीमित स्राेत साधनका कारण निक्कै धपेडी छ’, मुख्य निर्वाचन अधिकृत लम्सालले मकालुखबरसँग भने, ‘भाेलिदेखि नै निर्वाचन कार्यालयले आवश्यक पर्ने निर्वाचन सामाग्री उपलब्ध गराउने छ ।’