कर्णालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ । कर्णालीका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतले निर्वाचन कार्यतालिकाअनुसार आज जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र अन्य स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको छ। वीरेन्द्रनगरमा पनि आजदेखि जल तथा मौसम विज्ञान कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्र आचार्य र वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले कार्यालयको शुभारम्भ गरेका हुन्। मुख्य निर्वाचन अधिकृत आचार्यले मतपत्र वितरण, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षणलगायतको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुने जानकारी दिएका छन्।
उम्मेदवारको मनोनयन दर्तालगायतका कार्य भने सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछन्।