तनहुँमा स्थानीय निर्वाचनका लागि २ हजार बढी जनशक्ति परिचालन
काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा दुई हजार ३७६ जनशक्ति परिचालन गरिने भएको छ।
जिल्ला निर्वाचन कार्यालयले १० वटै स्थानीय तहको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार ३७६ जनशक्ति परिचालन गर्न लागेको हो। मतदान केन्द्रमा जनशक्ति परिचालनका लागि कर्मचारीको विवरण सङ्कलनको काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए। जिल्लामा वैशाख २७ गतेभित्र मतदान अधिकृत, सहायक मतदान अधिकृत नियुक्त गरेर मतदानस्थलमा खटाइसक्ने तयारी गरिएको छ।
निर्वाचनका लागि तनहुँमा १३६ मतदानस्थल र २९७ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन हुनेछन्। त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिनेछन्। आँबुखैरेनी गाउँपालिकामा कूल १३६, ऋषिङ गाउँपालिकामा २००, घिरिङ गाउँपालिकामा १३६, देवघाट गाउँपालिकामा ११९, बन्दीपुर गाउँपालिकामा १६८, भानु नगरपालिकामा ३९२, भिमाद नगरपालिकामा २४८, म्याग्दे गाउँपालिकामा १६०, व्यास नगरपालिकामा ४४७ र शुक्लागण्डकी नगरपालिकामा १८९ जनशक्ति परिचालन गरिनेछ।
तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन्। गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन्। विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए। निर्वाचन कार्यालय तनहुँका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा २९७ मतदान केन्द्र कायम गरिएको छ।
करिब एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिएका छन्।