बागलुङमा बाली संरक्षण गर्न रूख फँडानी अभियान
काठमाडौँ । बागलुङको काठेखोला गाउँपालिकाको वडा नं ५ मा अन्नबाली र फलफूलखेती विस्तार गर्न रूख काट्ने अभियान सुरु गरिएको छ।
गाउँपालिकाले डेढ वर्षअघि गरेको निर्णयानुसार खेतीपातीलाई असर पर्ने रुख कटान गर्न थालिएको हो। सुन्तला लगायतका बालीमा असरपर्ने १० मिटर वरिपरिका रूख काट्न थालिएको वडा नं ५ का अध्यक्ष शिवप्रसाद कँडेलले बताए। रूख काटेपछि अन्नबालीको उत्पादन बढाउन सकिने स्थानीयवासी टीकाराम सापकोटाले बताए। उनको बारीमा उम्रिएका अनुत्पादक रूख काटेर अहिले धान, गहुँ र मकै लगाउने गरिएको छ। यहाँका किसानले बारीमा अदुवा र बेसार जातको खेतीसमेत गरेका छन्।
“काठ बन्ने ठूला प्रकारका रुख काटेका छैनौँ”, वडाध्यक्ष कँडेलले भने, “अन्नबाली र फलफूलबाट बढी फाइदा लिन सकिने स्थानका रुख मात्रै काटेका हौँ ।” यसरी रूख काट्दा बस्तीमा बाँदरको समस्या पनि कम हुने किसानले बताएका छन्। जिल्लाका अन्य पालिकामा पनि फलफूल र तरकारीसमेत लगाउने बारीमा रूख काट्ने अभियान चलेपछि गाउँ रमाइला देखिन थालेका छन्। बागलुङ–६ को सिम गाउँमा पनि यस्तै अभियान चलेको छ। पहिला सदरमुकामबाट जङ्गल मात्रै देखिने यो गाउँका रूख काटेपछि उघारो देखिन्छ। सिमका किसानले पनि रुख काटेपछि बारीमा व्यावसायिक रूपमा तरकारीखेती लगाउन थालेका छन्।
मध्यपहाडी लोकमार्गको छेवैमा रहेकाले बिहुँमा भने यातायातमा पनि सहज अवस्था आएको छ। घुम्तीमा विपरीत दिशाबाट आएका सवारीसमेत नदेखिने समस्या अहिले हट्न थालेको हो। वडा नं ५ को रिजालचोकदेखि घोडाबाँधेहुँदै भ्यूटावर जाने सडक खण्डमा पनि केही रूख काट्नुपर्ने अवस्था परेको स्थानीयवासीले बताएका छन्। रूख फँडानीका लागि टोल–टोलमा समिति गठन गरिएको वडा नं ५ को मिलन चोकका प्रेम श्रीषले जानकारी दिए। रूख कटानका लागि यहाँका किसानले मेसिन नै खरिद गरेर ल्याएका छन्।
यसअघि, वडा नं ६ मा अनुत्पादक रूख काटेर सुन्तलाका बिरुवा हुर्काउने चलन सुरु भएको थियो। सो फँडानीबाट किसानले बढी फाइदा लिन थालेपछि वडा नं ५ को माथिल्लो बिहुँमा पनि अभियानकै रूपमा रूख फँडानी गर्न थालिएको हो।