ताप्लेजुङमा गठबन्धनबीच पदीय भागबण्डामा तालमेल
काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सत्ता साझेदार दलहरुले पदीय भागबण्डाको टुङ्गो लगाएका छन्।
स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने सत्तारुढ दलबीचको निर्णयअनुसार यहाँस्थित सत्ता साझेदार दलहरूले विभिन्न चरणमा छलफल गरेर बुधबार भागबण्डाको टुङ्गो लगाएका हुन्। एक नगरपालिकासहित यहाँका ९ स्थानीय तहमध्ये ७ स्थानीय तहको नेतृत्व कांग्रेसले लिने र २ वटामा भने माओवादी केन्द्रले नेतृत्व लिने भएको छ।
फुङलिङ नगरपालिकासहित पाथीभरा, याङ्वरक, सिरीजङ्घा, सिदिङ्वा, आठराई त्रिवेणी, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको नेतृत्व कांग्रेसको भागमा परेको छ भने मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रको भागमा परेको छ। मेरिङ्देन, मैवाखोला र फक्ताङ्लुङ गाउँपालिका बाहेक सबै ठाउँमा कांग्रेसले नै उपप्रमुखको पद लिने भएको छ।
सत्ता साझेदार दल नेकपा एकीकृत (समादवादी)ले भने मेरिङ्देन गाउँपालिकाको उपप्रमुखसहित सात वटा वडाको नेतृत्व पाएको बताइएको छ भने कांग्रेसले ३९, माओवादी केन्द्रले १५ वटा वडाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भएको छ। स्थानीय अवस्था र आवस्यकताअनुसार तालमेल गरी भागबण्डाको टुङ्गो लगाइएको दलहरुले बताएका छन्। भागबण्डा भएसँगै आ–आफ्ना उम्मेदवारको टुङ्गो लगाउन दल आन्तरिक कसरतमा जुटेका छन्। यता (नेकपा एमाले)ले समेत पाँचवटा स्थानीय तहका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लगाएको छ।
फक्ताङलुङ ७ बाहेक सबै वडाका अध्यक्ष पदका उम्मेदवारकोसमेत टुङ्गो लागिसकेको बताइएको छ।