दार्चुलाका छाङ्गरु र तिङ्कर मतदानकेन्द्रको हेलिकप्टरबाट निरीक्षण
काठमाडौँ । दार्चुलाको सबैभन्दा विकटको मतदान केन्द्र रहेको व्यासमा मतदानस्थल निरीक्षण गरिएको छ।
जिल्ला सुरक्षा समितिले हेलिकप्टर प्रयोग गरी आज छाङ्गरु र तिङ्कर मतदानस्थलका साथै नेपाली सेनाको निर्माणाधिन क्याम्प निरीक्षण गरेको हो। निरीक्षणका क्रममा व्यास गाउँपालिका वडा नं १ छाङ्गरु र तिङ्करमा मतदान केन्द्रको अवस्था, मतपेटिका ढुवानी, कर्मचारी ढुवानीलगायतको विषयमा जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। छाङ्गरुमा हेलिकप्टर अवतरण गरेर मतदानस्थल निरीक्षण गरिएको उनको भनाइ छ।
उनको नेतृत्वमा दार्चुलास्थित सुरक्षा निकायका प्रमुख हेलिकप्टरमार्फत छाङ्गरु पुगेका हुन्। मतदानस्थलको निरीक्षणसँगै तिङ्करमा प्रहरीचौकी र सशस्त्र प्रहरीको बीओपी स्थापनालगायत विषयमा पनि जानकारी लिइएको छ। नेपालबाटै स्थलगत छाङ्गरु र तिङ्कर जान नसकिने भएकाले हेलिकप्टरमार्फत् निर्वाचन सामग्री पठाउने र भण्डारणलगायत सुरक्षा अवस्थाबारे जानकारी लिइएको गरिएको प्रजिअ उपाध्यायले बताए।
नेपालतिरबाट हिँडेर जानसमेत पैदल गोरेटो बाटो छैन। अप्ठ्यारो गरी जाने हो भने पाँच–छ दिन छाङ्गरु र तिङ्कर पुग्न समय लाग्छ। वडा नं १ मा दुई वटा मतदान केन्द्र छन्। छाङ्गरुको कैलाशपति आधारभूत विद्यालयमा ३७५ र तिङ्करस्थित मोति महिला सङ्घ आधारभूत विद्यालयमा २३१ मतदाता छन्। यहाँका स्थानीय निकायमा वैशाख १३, १४ र १५ गते कर्मचारी सदरमुकाम खलङ्गा, छाङ्गरु र तिङ्कर उक्लिने तयारीमा छन्।
व्यासी सौका समुदायको दोहोरो बस्ती भएका कारण कहिले खलङ्गा र कहिले छाङ्गरु वा तिङ्करमा मतदान हुने गर्दछ। उनीहरूको बसाइँ सर्नुअघि त्यहाँको मतदानस्थल, कर्मचारी पठाउन निरीक्षण गरिएको हो।