हेटौँडा उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि आज हेटौँडा उपमहानगरपालिका–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो। जिल्लाको दशवटै स्थानीय तहमा कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकृत नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिसकेको समेत उक्त कार्यालयले उल्लेख गरेको छ।
हरेक जिल्लामा एक मुख्य निर्वाचन अधिकृत हुने व्यवस्था मिलाइएको छ। कार्यालय स्थापना गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय, अन्य कुनै सरकारी कार्यालय र सरकारी स्वामित्वमा रहेको कार्यालयको भवन प्रयोग गर्न भनिएको छ। निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी) सहित नौ कर्मचारी रहनेछन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ कर्मचारी रहने जनाइएको छ।